|

जनकपुरधाम : जलेश्वरस्थित महोत्तरी कारागारमा क्षमताभन्दा ३ गुणा बढी थुनुवा राखिँदा कैदीबन्दीहरूलाई समस्या परेको छ। यो धनुषा र महोत्तरीको संयुक्त कारागार हो।

खान, बस्न, सुत्न र शौच लगायतको समस्या हुने गरेको कैदीबन्दीहरूले गुनासो गरेका छन्। वि.सं. १९१३ मा निर्मित यो कारागार जीर्ण भइसकेको छ।

कारागार भवनको क्षमता १३५ रहेकोमा हाल ५६१ कैदी/थुनुवा रहेका छन् भने दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको छ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिला सहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरे अनुरूप सजाय काटिरहेका) छन्। यद्यपी; थुनुवा संख्या ३४० रहेको छ। तीमध्ये पाँच आश्रित बालबालिका सहित ३६ महिला र ३०४ जना पुरुष छन्।

कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्रका अनुसार न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने स्थिति रहेको बताए। थुनुवा संख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको, तर धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ।

जेलर मिश्रले गत जेठसम्म लगभग ६०० पुगेको संख्या पुगेको अहिले घटेर ५६१ मा झरेको बताए। उनले धनुषाबाट अहिले थुनुवा अन्यन्त्र पठाउन थालेकोले संख्या घटेको, तर अझै पनि क्षमताभन्दा बढी थुनुवाहरू रहेका जानकारी दिए।

यस कारागारमा ठीक समयमा फैसला नहुँदा पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूले गर्दा संख्या बढेको हो। जेलर मिश्रले भने, ‘मुद्दा दर्ता भएको दुई वर्षभित्र फैसला हुनुपर्नेमा त्यसो नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवा संख्या उल्लेख्य रहेको छ।’

यहाँ रहेका कैदी/थुनुवामध्ये धनुषाकै ६० प्रतिशत हाराहारी रहेका कारागार प्रशासनले जनाएको छ। जेलर मिश्रले कारागारमा कर्तव्य ज्यान, लागुपदार्थ दुर्व्यसन र ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा बढी आउने गरेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.