हेटौंडा : नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस अवसरमा बिहीबार बिहान हेटौंडामा कार्यक्रम भयो।
एमालेको वडा तहका कार्यकर्तादेखि केन्द्रीय स्तरका नेतासम्म उपस्थित भएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र राप्रपाका नेताहरू पनि सहभागी थिए।
नेकपा (एमाले) मकवानपुरले एकाबिहानै आयोजना गरेको कार्यक्रममा मकवानपुरका विभिन्न गाउँपालिकाबाट पनि नेता/कार्यकर्ता आएका थिए। तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षका नेता/कार्यकर्ता भने कोही देखिएनन्।
वर्तमान समयमा नेकपा (एमाले) भित्र देखिएको विवादले पार्टी र देशको लागि योगदान दिएका व्यक्तिहरू पनि कोपभाजनमा परेका छन्। पार्टी स्थापना गरेका र योगदान दिएका व्यक्तिहरूकै नाम लिँदै राजनीति गरेका नेताहरू अहिले उनीहरूमाथि नै राजनीति गरिरहेका छन्।
उसो त केही समयअघि परेको मदन–आश्रितको स्मृति दिवसमा पनि ओली पक्षको मात्रै सहभागिता रह्यो भने नेपाल–खनाल पक्ष कतै देखिएनन्। आफूलाई कम्युनिष्ट बताउँदै राजनीति गर्नेहरू केही स्वार्थ र द्वन्द्वले कम्युनिष्ट आन्दोलनमा योगदान दिनेहरूलाई नै भुलिरहेका छन्।
पार्टीमा विवाद नआउँदासम्म दुवै पक्षका लागि महत्वपूर्ण बनेकाहरू अहिले ओझेलमा पर्न थालेका हुन्। एकले आयोजना गरेको कार्यक्रममा अर्को उपस्थित नहुँदा एमालेको वर्तमान विवाद र असन्तुष्टिले कम्युनिष्ट आन्दोलनमा योगदान दिएकाहरू कम्युनिष्ट पार्टीका हुन् या पार्टीभित्रको एक पक्षको भन्ने प्रश्न खडा हुन थालेको हो।
एमालेमा विवाद सिर्जना भइसकेपछि ओलीले एकलौटी रूपमा एमाले मकवानपुरको अध्यक्ष एकलाल श्रेष्ठलाई बनाएका थिए। नेकपा एक हुँदादेखि जिल्लाको नेतृत्व सम्हालिरहेकी मुनु सिग्देलले श्रेष्ठलाई अध्यक्ष मान्नबाट इन्कार गर्दै आइरहेकी छिन्।
त्यसैले पनि श्रेष्ठको अध्यक्षतामा एमालेले गरेको कार्यक्रममा नेपाल–खनाल पक्ष अनुपस्थित हुँदै आएको छ। बिहीबार आयोजित कार्यक्रममा पनि श्रेष्ठको नै अध्यक्षता रहेकोले आफू अनुपस्थित रहेको सिग्देलले बताइन्। ‘अहिले म काठमाडौं आएको छु, तर हेटौंडा भएको भएपनि म एकलाल अध्यक्ष भएको कार्यक्रममा कहाँ जान्छु त?’ उनले भनिन्।
सिग्देलले कार्यक्रमको लागि आफूलाई निमन्त्रणा पनि नआएको र आएकै भएपनि ओली पक्षको अध्यक्षले आयोजना गरेको कार्यक्रममा नजाने बताइन्।
यता कार्यक्रमको अध्यक्षता गरेका एकलालले भने व्यक्तिगत रूपमा कसैलाई नबोलाइएको बताए। उनले फेसबुकमार्फत सार्वजनिक रूपमा निमन्त्रणा दिइएको भन्दै स्वइच्छाले सबै सहभागी भएको बताए।
‘हामीले कसैलाई पनि पक्षपात गरेर बोलाएका छैनौँ। सार्वजनिक रूपमा फेसबुकबाट निमन्त्रण दिएका हौँ। आउन मन लाग्ने आए मन नलाग्ने आएनन्,’ श्रेष्ठले भने।
कार्यक्रम पुष्पलालको, चर्चा माधवको !
पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएपनि कार्यक्रममा उनको भन्दा बढी अहिले भइरहेको विवादको चर्चा भयो।
विवाद अर्थात् ओली-माधव नेपाल पक्षको द्वन्द्व! कसैले ठ्याक्कै माधव नेपालको नाम उच्चारण नगरेपनि घुमाउरो पारामा पार्टीलाई सिध्याउन लागिपरेको भन्दै उनको चर्को आलोचना भयो।
कार्यक्रममा बोल्ने जिल्ला तहका नेतादेखि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समेत पार्टीभित्रै बसेर पार्टी विपरीत काम गरेको भन्दै आक्रोश पोखे। मुख्यमन्त्री पौडेलले कम्युनिष्ट पार्टीमा आफ्नै घरभित्र आगो लगाएर अरूको घरमा आगो ताप्ने काम भइरहेको भन्दै फेरि कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
उनले शिखरमा पुगिसकेको पार्टीलाई तल झार्न पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको आरोप समेत लगाउन भ्याए। यी सबै आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललक्षित थियो।
त्यसैगरी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका एमालेका नेता सरेश नेपालले कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउन पार्टीभित्रैबाट प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताए। पार्टीको नेतृत्व र जनताको बहुदलीय जनवाद सिध्याउन षड्यन्त्र भइरहेको भन्दै यसलाई गम्भीर रूपमा लिएर पार्टी सुदृढीकरण गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा बोल्ने पूर्व संविधान सदस्यसमेत रहेका एमालेका नेता अनन्त पौडेल र रघुनाथ खुलालले पनि पार्टीभित्रै बसेर पार्टी विपरीत काम भइरहेको भन्दै आलोचना गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।