|

जुम्ला : कोरोना भाइरसका कारण सबैभन्दा बढी असर शिक्षा क्षेत्र परेको छ। सबै शैक्षिक क्षेत्र बन्द हुँदा बालबालिकाहरू पढाइबाट बञ्चित भएका हुन्‌।

​शैक्षिक क्षेत्र बन्द भएपनि पुस्तक समयमै विद्यार्थीको हातहातमा पुगे घरमै बसेर पढ्न सक्ने थिए। तर, समयमै किताब नपाउँदा विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुन्‌।

शैक्षिक संस्था बन्द भएको लामो समयसम्म ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक समेत किन्न पाएका छैनन्‌।

​जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा जिल्लामा अब बालबालिकालाई कम्तिमा पुस्तक हातमा पुर्‍याउने निर्णय गरेको प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए।

उनका अनुसार सरोकारवाला निकायहरूबाट गुनासो आएपछि अब निषेधाज्ञा कम हुँदै गइरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक देखिएको छ। उनले भने, 'बैठकले बन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक पुर्‍याउने निर्णय गरेको हो।'

कोरोनाले विद्यालय वन्द भएपछि शैक्षिक क्षेत्र धरापमा परेको छ। कोरोना भाइरसले विद्यालय जाने वातावरण त भएन, तर, घरमै पनि पुस्तक पुर्‍याउनुपर्ने सुझावपछि कोभिड संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

जुम्लामा फागुनदेखि शुरू हुने शैक्षिकसत्र साउन लागि सक्दा पनि विद्यार्थीको हातमा किताब पुग्न नसकेपछि पुस्तकमा लगानी गर्न पनि व्यापारीहरूलाई समस्या भएको छ।

जिल्लाको जिपी स्टेशनरी एण्ड सप्लायर्सले यस वर्ष २५ लाखका पुस्तक भित्र्याएको बताएको छ। पुस्तक भने बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रबन्धक गणेश रोकायाले बताए। उनका अनुसार लकडाउन अवधिभित्रै ल्याएका पुस्तक नै बिक्री हुन बाँकी छन्। तर, जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरू छुटेकोमा उनले चिन्ता व्यक्त गरे। 

जुम्ला जिल्लाभर वर्षेनी एक करोड ५० लाख रुपैयाँका पुस्तक आवश्यक भएपनि कोरोनाका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन्। तर, घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्नेमा उनले जोड दिए।

त्यस्तै, सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको १८ लाखको पुस्तक बिक्री नभएर थुप्रिएको छ। स्टेशनरीका प्रबन्धक सुमन खड्काले दुई लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब आपूर्ति भएका बताए। उनले भने, 'कोरोनाले बिक्री नहुने डरले लगानी गर्न कठिन भएको बताए।' 

जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तकको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ। शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिइसकिएको छ। अब विद्यालयले चाँडै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउनुपर्ने उनले बताए।

उनले केही विद्यालयले त किताब समेत किनेर लिइसकेका छन्। गाउँका विद्यार्थीहरूले न टेलिभिजन कक्षामा सहभागी हुने अवसर पाएका छन्‌, न त अनलाइन कक्षा लिन पाएका छन्।

जुम्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.