|

हेटौंडा  :  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टीभित्रैका व्यक्तिहरुले आफ्नो घरलाई आगो लगाएर खरानी बनाई अर्काको घरमा आगो ताप्न खोजिरहेको बताए।

‘आफ्नो घरलाई आगो लगाएर खरानी बनाउने अनि अर्काको घरमा आगो ताप्न जाने प्रवृति देखेर पुष्पलालको आत्माले पनि के भन्ला? ’पौडेलले भने।

उनले शिखरमा पुगिसकेको कम्युनिष्ट आन्दोलनलाई पार्टीभित्रैबाट तल झार्ने काम भइरहेको भन्दै कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन आग्रह गरे। पुष्पलालको विचार र सिद्वान्तलाई आत्मसात गर्दै फेरि कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ।

यस्तैगरी, बागमती प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री सरेश नेपालले कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउन पार्टीभित्रैबाट प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताए।

विचार र संघर्षको द्वन्द हुनसक्ने भए पनि अहिले पार्टिको सिद्वान्तविपरीत कम्युनिष्ट पार्टि नै सिध्याउने काम भइरहेको मन्त्री नेपालले बताए। पार्टिको नेतृत्व र जनताको बहुदलीय जनवाद सिध्याउन षड्यन्त्र भइरहेको भन्दै यसलाई गम्भीर रूपमा लिएर पार्टिको सुद्धीकरण गर्नुपर्नेमा उनले जोड दिए।

‘केपी ओलीले विचार र सिद्वान्तको नेतृत्व गरेर पार्टीको एकतामा जोड दिनुभयो। तर पार्टीको नेतृत्व सिध्याउनको लागि अहिले जुन षड्यन्त्र भइरहेको छ, त्यो कम्युनिष्ट पार्टीको सिद्वान्त विपरित हो। यसलाई गम्भीर रुपमा लिनुपर्छ’ नेपालले भने।

 ४३ औँ स्मृति दिवसको अवसरमा हेटौंडा–५ स्थित पुष्पलाल पार्कमा पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले शालिकको अनावरण गरेका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.