|

पर्वत : प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र कार्यालयका कर्मचारी, प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी र अन्य प्रहरी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र पत्रकारसहित जिल्ला प्रशासन कार्यालयको टोली बुधवार बजार अनुगमनमा निस्कियो।

कार्यालय परिसर बाहिर निस्किँदा बाटोमा हिँडिरहेका पैदल यात्रीसहित सवारीमा गुडिरहेका र पसलमा बसिरहेकाहरू पनि धमाधम प्रहरीको नजरमा परे। एकै दिनमा २०० जनालाई कारबाही गर्दै प्रहरीले प्रतिव्यक्ति १०० रुपैयाँका दरले सजाय तिरायो।

कोरोना प्रभाव केही कम भएको अनुभव भएपछि बिस्तारै बजार चलायमान हुँदै जाँदा नागरिकको लापरबाही बढेको गुनासो पुगेको र त्यसले पुन: निषेधाज्ञा जारी गर्ने अवस्था नल्याओस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको थियो।

सो क्रममा कतिपयले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्डहरू पालना नगरेको पाइएकोले उनीहरूलाई सचेत गराउँदै जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

‘बजार खुलेपछि सङ्क्रमणको अवस्था पनि बढ्नसक्ने जोखिम रहेकाले बजारको अवस्थाका बारेमा थाहा पाउन र सचेतना फैलाउनका लागि हामी बजार अनुगमनमा अचानक निस्किएका थियौँ। मास्क लगाउनु बलियो उपाय हो भन्दा भन्दै पनि बाटोमा हिँड्नेहरूदेखि पसलमा बसिरहेका व्यापारीहरूले पनि मास्क नलगाएको देखियो,’ उनले भनिन्‌, ‘पसल-पसलमा हामीहरू डुल्दा निषेधाज्ञाले गरी खानै पाइएन, सटर भाडा तिर्न सकिएन भन्नुहुन्छ। मास्क नलगाए फेरि निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्छ। व्यापारी र नागरिक सबै आफैले निषेधाज्ञा चाहेको जस्तो देखिने के!’

प्रजिअ खत्रीले भनेजस्तै अनुगमनका क्रममा कतिपय व्यापारी तथा आम नागरिक प्रहरीसँग नै झोक्किन्थे। मास्क नलगाएका कारण जरिवानाको चिट काट्न पुगेका प्रहरीसामु उनीहरू झुक्किएर नलगाएको, लगाइरहेको भए पनि भर्खरै खोलेको, एक्लै रहेका कारण नलगाएको, शरीरमा अक्सिजन नपुगेका कारण डाक्टरले मास्क नलगाउन भनेको, हिँड्दा हिँड्दै मास्क चुँडिएको आदि इत्यादि। जति नै बहाना गरेको भए पनि प्रहरीले भने कारबाही गरी नै रह्यो। जब कारबाहीको भागीदार हुनुपर्थ्यो, अनि रिसाउँथे मापदण्ड पालना नगरेकाहरू।

‘अब पुलिसले पानी खाँदा पनि मास्क नखोले हुन्छ। मसँगै पैसा नै छैन, कसरी सय रुपैयाँ दिने? किन दिने? दिनभर रुपैयाँ कमाई भएको छैन,’ बडागाउँकी एक व्यापारीले प्रहरीलाई यस्तै भन्दै कराइन्‌।

​मैत्री चोक नजिकै पनि एक जना पसले मास्क नलगाई पसलमा बसेको बेलामा प्रहरी पुग्दा सटर भाडा तिरिदिनुपर्ने जवाफ फर्काए। आफूले सबै कुरा जानेकोले आफूलाई सिकाउन नपर्ने बताएका उनले प्रहरीसँग मुखमुखै लाग्दा पनि मास्क लगाएका थिएनन्।

बजारमा लापरबाहीको क्रम बढेकाले प्रहरी र प्रशासनले अनुगमन गरेको त्यस क्रममा बुझेकै मान्छेले समेत मास्क नलगाई अरूसँग कुराकानी गरेको देख्दा दुःख लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी बताउँछन्। स्वास्थ्य सुरक्षा मापदण्डले नागरिकलाई नै सुरक्षित राख्न भए पनि नागरिकले भने प्रहरीले आफू बाँच्नका लागि त्यो काम गरिरहेको जस्तो गलत सोचाई राखेको उनको गुनासो छ।

‘यो बेलामा व्यापार छैन, कमाइ भएको नहोला, फाइन तिराउन मन त हामीलाई पनि छैन। उहाँहरूलाई कस्तो भएको छ भने मास्क प्रहरीका लागि हो, उनीहरू आएको बेलामा लगाए पुग्छ। मास्क लगाउनुहोस् भनेर सम्झाउँदा च्याट्ठिँदै आउनुहुन्छ,’ उनले भने, ‘हामीले बुधवार २०० जनालाई १०० रुपैयाँका दरले फाइन गरेका छौँ। यो सब उहाँहरूको बानी सुधार्नकै लागि हो। १० रुपैयाँको मास्क लगाएर बसे १०० रुपैयाँ फाइन तिर्नैपर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.