|

अर्घाखाँची : करिब ३५ वर्षदेखि किमडाडाको जंगलको खाली ठाउँमा त्रिपालमुनि बस्दै आएका सन्धिखर्क २ का बादी समुदाय अहिले खुसीले दंग छन्। लामो समयदेखि जंगलमा बसोबास गर्दै आएका ११ घर बादी समुदाय र दुई घरपरिवार अन्य दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आवासको लागि घर निर्माण गरिदिएपछि खुसी भएका हुन्।

जन्मेदेखि नै पानी छल्ने घरमा नबसी आधाभन्दा धेरै उमेर गएको र कहिल्यै राम्रो पानी ओत्ने घरमा बस्न नपाइए पनि अहिले बल्ल राम्रो घर बनेको देख्दा मन धेरै खुसी भएको सन्धिखर्क २ का ४५ बर्षिय राजकुमार बादीले सुनाए। उनले भने, 'सन्धिखर्क २ किमडाडाको जंगलको खालीचौरमा त्रिपालको छानोमुनि के हिउँद, के बर्खा सधैँ भरी गुजारा गर्दै आइयो,तर अहिले प्रदेश सरकारले हामी गरिवहरूका लागि घर बनाइदिएर धर्मै गरेको छ।' 

जनतन दिनभरी खोलामा गिट्टी कुटेर आएको पैसाले छोरा छोरीलाई पाल्दै आए पनि बास बस्न घरमा जाँदा रातमा पानी पर्दा त्रिपालको छानोमा पानी चुहिएर बस्नै नहुने समस्या भोग्‍नुपर्ने उनको दुखेसो थियो। तर, अहिले सरकारले घर बनाइदिएपछि सुरक्षित आवासमा बस्‍न पाएको र जीवनमा आशा पलाएको उनले बताए।

उनी मात्र होईन , भर्खरै श्रीमान गुमाएकी एकल महिला ५५ वर्षीया चन्द्रादेवी बादीको पीडा पनि उस्तै छ। उनी भन्छिन्, 'धेरै कष्ट गरेर छोराछोरी हुर्काएँ। बस्नलाई बास थिएन, गाँस कसरी जुटाउने भन्ने पिरलोले सताइरहन्छ।'  तर, अहिले गाँस जसोतसो गरेर जुटाए पनि खाना खाँदा पानी नचुहिने घरमा बसेर खान पाउँदा एक युग नै परिवर्तन भए जस्तो मनमा खुसी लागेको छ।'

अर्का २८ वर्षीय नारायण बादी र २३ वर्षीय सुरज बादीले अघिल्लो सरकारले बस्नलाई सुरक्षित बासको व्यवस्था गरेकोमा आफूहरू धेरै खुसी भएको बताए। 'जंगलमा त्रिपालमुनि बसेर हाम्रा पुर्खा तथा बुबा आमाको जीवन गयो। तर , अहिले हामी राम्रो पानी नचुहिने सुरक्षित घरमा बस्न पाएका छौं, यही नै खुसी लागेको छ'  उनले भने।

सरकारले हाम्रो पीडा सुनेकोमा खुसी छौँ

लामो समयदेखि जंगलको बास हुँदा पानी आउँदा छोराछोरीलाई कसरी बचाउने होला भन्ने पिरलो मनभरी हुन्थ्यो। तर, सरकारले हाम्रो दु:ख पीडालाई बुझेर बस्नका लागि राम्रो सुरक्षित आवास निर्माण गरिदिएपछि बस्नलाई समस्या नभएको निर्माण समितिका अध्यक्ष एवं बादी समुदायका अगुवा बधु बादीले बताए।

उनले भने, '१३ घर परिवारमा बिस जना  साना साना बालबालिका छन्,अरू तिस जना ठुला महिला पुरूष छौं तर सुरक्षित बाँस नहुँदा बालबालिकाहरू सधैँ बिरामी हुने, सुत्न नपाउँने,पहिरोले बगाउँछ कि भन्ने डर हुन्थ्यो। तर , अहिले १३ वटा घर राम्रो बनाएका छौं बस्नलाई सजिलो भएको छ।'

४३ लाखमा व्‍यवस्थापन

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत रू ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख  ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको हो।  दलितभन्दा पनि असाध्यै दलित बादी समुदायको समस्या पीडा देख्दा निकै मन छोयो, त्यसपछि यो योजना प्रदेशबाट पास गराएर अहिले आवास निर्माण भएको अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बताए।

उनले भने, 'मुख्यमन्त्री ग्रामीण  विकाश तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत प्रदेश सरकारले उनीहरूलाई आवासको व्यवस्थापन  गरेको हो।  अहिले १३ घरपरिवारलाई सामूहिक लालपुर्जा दिएका छौं, निकट भविष्‍यमा छुट्टाछुट्टै उनीहरूको नाममा कित्ता काट गरी जग्गाधनीलाई लालपुर्जा दिनेछौँ।'

 अब नवनिर्मित बस्तीमा बिजुली र खानेपानीको व्यवस्था गर्न सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.