|

म यौनिक तथा लैङ्‌गिक अल्पसंख्यक समुदायको एक सदस्य हुँ। यसमा मलाई गर्व छ।

लैङ्‌गिक अल्पसंख्यक, समाज र कानून प्रकृतिले आफूले सृष्‍टि गरेको चराचर जगतका हरेक प्राणीमा बौद्धिकता, सुन्दरता, चेतना र क्षमता लगायतका हरेक खुबीहरूले भरिपूर्ण बनाइदिएको छ।

कतिपय मानिसहरूले त्यही खुबीको पहिचान गरेर संसारमा ठूलो मान, प्रतिष्ठा र ख्याति कमाएका छन्। संसार जित्ने कोसिस गरिरहेका छन्। कतिपयले आफूलाई चिन्न नसक्दा र आफूभित्र रहेको क्षमता पहिचान गर्न नसक्दा भीडको एक अंश बनेर हराएका छन्।

कम व्यक्तिले प्राप्त गर्ने अत्यन्तै दुर्लभ गुण प्रकृतिले मलाई पनि ठूलो उपहारको रूपमा दिएको छ। यो मेरा लागि प्राकृतिक र दैविक वरदान हो भन्ने मेरो बुझाइ हो।

यही क्षमता यही रूप, यही गुण र फरक स्वभाव एवम्‌ खुबीले नै मलाई लाखौँमा एक बनायो। यही नै मेरो पहिचान र परिचयको कारक बन्यो। राज्यले मलाई तेस्रोलिङ्‌गी भनेर छुट्टै स्थान पनि दिएको छ।

म अत्यन्तै गौरवान्वित छु। मेरो पहिचान मेरो लागि कोहिनुर हीराझैँ अनमोल र चम्किलो छ। यो मेरो आजसम्म पाएको ज्ञानको उपज हो।

यो ब्रह्माण्ड एउटा विशाल बगैंचा हो। बगैंचा सुन्दर तबमात्र हुन्छ जब यहाँ थरीथरीका रङ्गीचङ्गी फूलहरू एकआपसमा हाँसीखुसी झुलि-झुली फुल्दछन्‌। सुवास छर्दछन्‌।

त्यही फूलहरूमध्ये म पनि यो जगतको एउटा सुन्दर फूल हुँ। म महिला पुरुषभन्दा फरक स्वभाव, पहिचान, रूप र गुण भएको एक मानव हुँ। मलाई कसै-कसैले तेस्रोलिङ्‌गी, यौनिक तथा लैङ्‌गिक अल्पसंख्यक, किन्नर र अर्धनारी भन्नुहुन्छ भने कसैले क्रोधित भएर छक्का, हिजडा...।

म जन्मदा एक पुरुष बालकको रूपमा थिएँ। हुर्कँदै बढ्दै जाँदा म मा महिलाको स्वभाव विकास हुन थाल्यो। म मेरो आत्माभित्र सधैँभर सुन्दर महिलाको आकृति धड्किएको महसुस गर्न थालेँ।

आफूलाई सुन्दर महिला बनाउने निरन्तर कोसिस गर्न थालेँ। बाल्यकालमा मेरो बाल मस्तिष्कमा जुन किसिमको रहर र चाहनाहरूको जग बस्यो-त्यसैलाई नै मैले विकास र निर्माणमा परिणत गरेँ। सुन्दर महिला बन्ने आकांक्षालाई पुरा गरेँ।

मेरो लागि यो कायापलट केही हदसम्म कष्टकर पनि रह्यो। कायापलट पछिको यो निर्मोचन, कुरिज अति महत्त्वपूर्ण पनि बन्यो। स्वभाविकै हो-हरेकलाई आफ्नो जीवन सुन्दर र प्रिय लाग्छ। मलाई पनि आफ्नो जीवन र आफूले बुनेका रहरहरू उत्तिकै प्रिय लाग्छ, जस्तो तपाईंलाई लाग्नेगर्छ।

मलाई कुनै न कुनै हिसाबले व्यक्तिको नजरहरूमा दुर्व्यवहारमा परेको महसुस हुन्छ। व्यक्तिको प्रत्येक व्यवहारमा, उसको नजर, निमेषमा मैले दुर्व्यवहार र विभेद राम्रोसँग नियालेको छु।

हरेक पाइला-पाइलामा हाम्रो हुर्मत लिने गरिन्छ। चलचित्रका पर्दामा हामीलाई केबल मनोरञ्‍जनको पात्र बनाइन्छ। यो म जस्ताका लागि पीडाको विषय हो। यो सानो उदाहरण मात्र हो।

म यो कुराको राम्रोसँग अवगत गराउन चाहन्छु कि म निरक्षर मानिसभन्दा ज्यादा पढेलेखेका, बुज्रुक, एउटा राम्रो पृष्ठभूमि र प्रभुत्व भएको उच्च ओहदामा रहेर काम गर्ने व्यक्ति वा परिवारहरूबाट ज्यादा दुर्व्यवहार, हिंसा र उत्पीडनमा परेको हुन्छु। म मात्र होइन-फरक लैङ्‌गिक अल्पसंख्यकको लागि यो ठूलो बिडम्वना हो।

उनीहरू मेरा लागि केवल बौद्धिक दरिद्रको सूचिमा छन्। म समाजका सबै व्यक्तिहरूलाई दोषग्राही बनाउन विल्कुलै चाहन्नँ। हाम्रो समाजमा सकारात्मक सोच भएका अनि धार्मिक आस्था भएका व्यक्तिहरू पनि हुनुहुन्छ। उहाँहरूले हामीलाई निकै प्रोत्साहित पनि गर्नुहुन्छ। हामीलाई अर्धनारिश्वरको रूपमा मान्नुहुन्छ।

नेपालको संविधान २०७२ले एउटा कुरालाई निकै ठोसपूर्ण तरिकाले व्याख्या गरेको छ। त्यसमा भनिएको छ कि कुनैपनि जात, धर्म, वर्ण वा लिंगको आधारमा नेपाली जनतालाई अन्याय गरिनेछैन।

यहाँ विभेद रहित समाजको परिकल्पना गरिएको छ। जसले कानूनको, नीति नियमको उल्लंघन गर्दछ-त्यो कानूनको नजरमा दण्डनीय हुन्छ। तर, नेपालमा कानून र संविधानले उल्लेख गरेअनुसार कहाँ भएको छ र?

यहाँ कानूनका पहरेदारहरूले नै कानून मिचेका छन्। मर्यादा उलंघन गरेका छन्। अल्पसंख्यक समुदायले सधैँभरी आफूलाई असुरक्षित महसुस गरिरहेको हुन्छ। यस्तो अवस्थामा हामीले राज्यको तर्फबाट एउटैमात्र कुराको चाहना राखेका हुन्छौँ-त्यो हो सुरक्षा र सम्मानजनक सहभागिता।

अपशोच! हामीले त्यो पाइरहेका छैनौँ, एउटा महिला वा पुरुषमाथि भएको घटनाको विषय जस्तो होइन, कुनै तेस्रोलिङ्‌गीले आफूमाथि कुनै किसिमको हिंसा वा अपराध भयो भने त्यसलाई उसले खुलेर बोल्न सक्ने हिम्मत राख्नसक्दैन।

हिम्मत राख्यो र उजुरी गर्न प्रहरी कार्यालयमा पुगियो भनेपनि प्रहरीले हाम्रो पीडालाई गम्भीरतापूर्वक लिदैन। उजुरी समेत दर्ता गर्दिदैन। आरोप लागेको व्यक्तिलाई समेत उपस्थित गराएर छलफल गराइदिँदैन। हाम्रो लागि उजुरीको दर्ता गर्नु, घटनाको अनुसन्धान र तहकिकात गर्नु, अभियोजन गराउनु र न्याय निरुपणको कुरा त दिवास्वप्न जस्तै हो।

अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राखिनुपर्ने हो, तर राज्य, प्रहरी प्रशासन लगायत न्यायालयले समेत हामीमाथि लापरबाही र गैरजिम्मेवारपूर्ण कामहरू गरेको देखिएको छ।

कुनैपनि व्यक्तिले आफूमाथि भएको कुनै किसिमको घटनाहरूको सम्बन्धमा लिखित उजुरी गर्न पाउनुपर्छ। राज्यले हरेक नागरिकलाई आफूमाथि भएको हरेक घटनाको सम्बन्धमा लिखित उजुरी गर्ने अधिकार प्रदान गरेको छ। राज्यले आफ्ना नागरिकलाई प्रदान गरेको हरेक अधिकारको सम्मान पनि हुनुपर्छ, घटनाको सम्बन्ध उजुरी गर्नु नागरिकको अधिकार हो। अल्पसंख्यक समुदायको उजुरी पनि प्रहरीले लिनुपर्छ।

घटनाको प्रकृतिअनुसार कानूनी प्रक्रियामा पनि जानुपर्छ। म विगत पाँच वर्षदेखि यही कुरा बुझिरहेको छु कि त्यस्तो कुनै कमै प्रहरी होलान्, जसले हामीजस्ता यौनिक तथा लैङ्‌गिक अल्पसंख्यक समुदायको शान्तिसुरक्षा र हितको लागि काम गरेको होउन्‌।

​सकभर अल्पसंख्यक समुदायको उजुरी नै प्रहरी लिन चाहँदैनन्। प्रहरीहरू हाम्रो अवस्थाप्रति संवेदनशील भएको घटना न्यून छ। अनुसन्धानमा निकै लापरबाही गर्छन्। अदालत प्रवेश गर्ने हदम्याद गुजारिदिन्छन्‌। उजुरीकर्तालाई नै गर्जनतर्जनका साथ गालीगलौज गरी तिक्तता पोख्ने गर्छन्। हामीलाई कोप भागी बनाउँछन्‌। हामीमाथि मनोविकार पोख्छन्। दुर्वचनले घोच्छन्‌। केसलाई रफादफा गराउने कोसिस गर्छन्।

कतैकतै त पारितोषिकको प्रलोभनमा समेत पर्ने गरेको देखिएको छ। बडो मुस्किलले हाम्रो मुद्दाहरू न्यायालयमा पुग्छ। तर, न्याय पाउने मौका त्यहाँ पनि निकै न्यून हुँदोरहेछ।

​यी कुराहरू लेखेर मैले राज्य र नेपाल प्रहरीमाथिको छविलाई कुरुप बनाउन खोजेको होइन्। मैले केवल हाम्रा आवाज पनि सुनुवाइ होस् भनेर आग्रह गरेकी हुँ। यो भन्दै गर्दा गह्रौँ मन गरेर भन्नैपर्छ-हाम्रो समुदायप्रतिप्रहरी प्रशासन निकै गैरजिम्मेवार र लापरवाह थियो/छ।

लैङ्‌गिक अल्पसंख्यकका कारण भोगेका समस्या र पाएका पीडाबीच पनि व्यक्तिगत जीवनमा निकै खुसी र सन्तुष्ट छु। म आफ्नो जीवनलाई लिएर निकै उत्साहित पनि छु। म निकै रहर बुन्ने मान्छे हुँ। ती रहरहरूलाई सार्थक तुल्याउन संघर्ष गर्न सक्ने क्षमता पनि मसँग छ। संघर्षरत छु पनि।

मेरो मतलब रहरहरू मेरा निम्ति प्राण हुन्‌। आत्माभित्र रहरहरू जीवित रहुञ्जेल म पनि मर्दिन भन्नेमा मेरो आत्मविश्वास बोल्दछ। मेरो आत्मा, तन, मन, जीवनशैली जति सुन्दर र पवित्र छ। यो समाज मलाई उति नै कुरूप, कुलक्षण, अभिशाप वा दैवदुर्विपाकको रूपमा लिन्छ।

मेरो फरक रूपरङ्‌ग, गुण, स्वभाव र रुचि यो समाजलाई अपाच्य छ। यही कारण समाजमा म कोपभागी जस्तै बनेको छु। कतिपय ठाउँमा म हास्यव्यंगको पात्र पनि बन्छु। कहिलेकाहीँ दया, माया र करुणाको पात्र बन्छु। मैले प्रेम, सम्मान, इज्जत, हौसला, प्रोत्साहन अत्यन्तै न्यून मात्रामा पाएको छु।

तर, दुबोलाई जति नै ढुङ्गाले दबाएपनि उसले हुर्कन छोड्दैन। यो कसैका लागि घमण्डको स्वर लाग्छ भने लागिरहोस्। तपाईं सोच्न स्वतन्त्र हुनुहुन्छ।

तर, हाम्रो एउटै आवाज के हो भने हामी जस्ता लैङ्‌गिक अल्पसंख्यक व्यक्ति समाजको हिस्सा बन्न चाहन्छौँ। अरू व्यक्ति जस्तै समावेशी सहभागिता चाहन्छौँ। हामी जस्ता व्यक्ति जिउँदो लाश हुन चाहँदैनौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.