बिहान आँखा खुल्नासाथ ओछ्यानमा छामछाम छुमछुम गरेर मोबाइल खोज्नु र हात पर्नासाथ फेसबुकका भित्तामा आँखा डुलाउनु मेरो नित्यकर्म अन्तर्गतको पहिलो काम हो।
आजको नित्यकर्म आरम्भमा फेसबुकका भित्तामा टाँसिएको शुभकामनामा मेरा आँखा ठोक्किए। लोकसेवा आयोगले खै कुन समूहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेछ।
नाम निकाल्ने बहादुरलाई त्यसैको बधाई र शुभकामनाको ओइरोले फेसबुक भरिएको रहेछ। यसो सोच्न थालेँ-पहिले पहिले मान्छेहरू खन्ने, जोत्ने, रोपाइँ गर्ने, मेलापात र गाउँघरका कामकाजका पर्म लगाउँथे, आजकाल सामाजिक सञ्जालमा शुभकामना र बधाईका पर्म लगाउँछन्।
क्याम्पस पढ्दाताका एउटा साथीले भन्थ्यो, 'अरूका नमस्ते खान के गर्नुपर्छ थाहा छ? पहिले अरूलाई नमस्ते गर्नुपर्छ।'
शुभकामना पनि मेरो साथीले अरूका नमस्ते खान गरेको नमस्ते जस्तै रहेछ। खासमा कतिपय शुभकामनाहरू अरूको भलाइका लागि दिएको जस्तो देखिएपनि ती नितान्त आफ्नो लागि हुन् भन्ने मेरो ठम्याइ छ।
सामाजिक सञ्जालमा दिइने शुभकामनामा प्रयोग भएका करीब ८० प्रतिशत प्रशंसाका शब्दहरू मिथ्या हुने गर्दछन् भन्ने मेरो/तपाईंको बुझाइ छ। नपत्याए आफ्नै मनलाई सोध्नुस्।
'पाए/भेटेसम्म ठूलाबडासँग फोटो खिचिहाल्ने, केही विशेष अवसर आयो भने त्यही फोटो फेसबुकमा टाँसेर अरू पाँच सात जनालाई पनि ट्याग गरेर अनेक तानाबाना बुनेर शुभकामना र बधाई ठेलिहाल्ने, सँगै बसेको फोटो नभेटे उसकै मात्रले भए नि काम चलाउने। हजुरले गजुर लगाउँछ केटा!'
घरमा उपद्रो मच्चाउने छोरोलाई तँ गोरु, कुलङ्गार, हल्लुँड, नालायक, तँलाई बाँधेर घाँस हाल्न नपुगेको, तँजस्तो कपुत जन्मनुभन्दा नजन्मेकै वेश हुन्थ्यो भनेर गाली गर्ने बाबुसमेत केही मेसोले त्यही छोरोलाई सामाजिक सञ्जालमा शुभकामना दिनुपर्दा यस्ता शब्द प्रयोग गर्छ कि त्यो पढ्दा लाग्छ-संसारमा केवल एकमात्र सुपुत्र उसकै छोरो मात्र हो, बाँकी सब पृथ्वीका भार हुन्। घाँस खान दुःख हुन्छ भन्ने थाहा पाएर मान्छे भएका हुन्।
शुभकामना आफू माथि पुग्ने सिँढी पनि रहेछ। प्रसंगवश: मनमा कुरा खेल्दै जाँदा एउटा पोहोर साल यस्तै बेला एक हितैषीसँग भएको वार्तालाप याद आयो।
साथीसँग चिया गफ चल्दै थियो, जागिरका गफ शुरू भए। उसले भन्यो, 'बुढो हुन लागिसकिस्, न बिहे गर्छस्- जागिर खान्छस्, यो पाराले त भएन यार!'
'जिन्दगी नै सोचेझैँ जिन्दगी रैनछ भनेजस्तो भएको छ यार!', मैले भनेँ।
साथी : उपकुलपति र सेवा आयोगका पदाधिकारी नियुक्त भए, अब तुरुन्तै विश्वविद्यालयमा नै खुल्छ होला, हल्का तयारी शुरू गर्न थाल् न।
म : विश्वविद्यालयमा पावरको चलखेल मात्र हुन्छ, मलाई के दिन्थे जागिर? दुःखको भारी मात्र।
साथी : पावर त बनाउने हो नि!
म : कसरी बनाउनु हौ! ढंग हुनुपरेन?
साथी : हरेक कुराको तरिका हुन्छ बुझिस्, एउटा तरिका सिकाइदिइहाल्छु ल सुन्।
पाए/भेटेसम्म ठूलाबडासँग फोटो खिचिहाल्ने, केही विशेष अवसर आयो भने त्यही फोटो फेसबुकमा टाँसेर अरू पाँच सात जनालाई पनि ट्याग गरेर अनेक तानाबाना बुनेर शुभकामना र बधाई ठेलिहाल्ने, सँगै बसेको फोटो नभेटे उसकै मात्रले भए नि काम चलाउने। हजुरले गजुर लगाउँछ केटा!
म : हैट! चिन्नु न जान्नुको मान्छेलाई के शुभकामना दिनु?
साथी : तँलाई पो थाहा छ ती तेरा कोही होइनन् भन्ने। अरूलाई के थाहा? देख्नेहरूले त यो फलानाको मान्छे रैछ भन्ने ठानिहाल्छन् नि! अझ कसैले नाम, थर र क्षेत्र एउटै भएको र माथिल्लो पोष्टमा पुगेको जोसुकैको नाम लिएर फलानालाई चिन्छस्? भन्यो भने त्यो त मेरो फलानो नाता पर्ने हो नि भन्दिहाल्ने, अझ फलानो त यस्तो हो नि भनेर दुई चार गफ पनि पेल्दिने, त्यति भएपछि त तँ पनि पावरफुल हुन थालिहाल्छस् नि! तेरो शुभकामना र बधाई तैँले शुभकामना र बधाई दिएको मान्छेले पढोस्न/पढोस्, तर तेरो परीक्षा लिनेमध्ये कुनै एक जनाले अवश्य पढ्नसक्छ। तेरा शुभकामना कतै न कतै तेरै लागि काम लाग्छन् केटा।
म बढो सोचमा परेँ, गजबको कला पो सिकायो साथीले। मान्छेहरू किन ठूलाबढालाई गोरु बेचेको भए नि साइनो लगाउँछन् भन्ने कुरा। शुभकामनाका गौण रहस्यमा म छर्लङ्ग भएँ। सामाजिक सञ्जालमा साथी, आफन्त, इष्टमित्रले दिने र खासै सम्बन्धको डोरीले नबाँधिएको मान्छेले दिने शुभकामना तथा बधाईमा आकाश जमिनको अन्तर हुने रहेछ।
सामाजिक सञ्जालका शुभकामना र बधाईका रहस्यमा घोत्लिँदै गर्दा मेरो मस्तिष्कमा झल्याँस्स खरदार काकाले दैलो उघारे। मैले बच्चैदेखि चिनेका खरदार काका शुभकामना र बधाईको मामलामा फेसबुक चलाउन सिके देखिकै अब्बल मान्छे हुन्।
राजा, राष्ट्रपति, मन्त्री, नेता, मन्त्रीका धुपौरे, निजामति, सेना, प्रहरी लगायत उनीभन्दा उपल्लो तहका उनले चिनेका (भलै उनलाई नचिनेका र उनको नामै नसुनेका किन नहुन्) कुनै पनि कर्मचारी उनको शुभकामना पाउनबाट बञ्चित हुनुपरेको थिएन। घरै छेउको वडा कार्यालयमा लामो समय कार्यरत रहेका काकाको एक्कासी दुर्गम तिर सरुवा निस्क्यो।
काका जानेबेलामा बाटोमा जम्काभेट भएपछि मैले सोधिहालेँ, 'अब लेकतिरको बसाईँ कति समय हुन्छ त काका?'
'कम्तिमा २ वर्ष बस्नुपर्ने नियम हुन्छ बाबु!' भन्दै काका बाटो लागे।
वास्तविक जीवनमा ठूलाबढाका घरदैलो ढक्ढक्याउन पुग्ने कोसेलीका पोकाले जस्तै सामाजिक सञ्जालमा आउने अनेक प्रशंसा र जयगानका भकारी भरिएका शुभकामना र बधाईका पोकाले पनि दाताको जीवनमा गजबका बहार ल्याउने रहेछन्
काका दुर्गम सरुवा भएर पनि फेसबुकमा बधाईको लयलाई भने कायम नै राखेका थिए। मैले पढेको काकाको अन्तिम बधाई उपसचिवबाट सहसचिवमा बढुवा भई मानव संसाधनमा सरुवा भएका हाकिमलाई थियो। इमानदार, कर्मठ, जनताको सेवामा सधैँ तत्पर रहने, निष्ठाका पर्याय यस्तै यस्तै अनेक फुर्का जोडेर उपसचिवबाट सहसचिवमा पदोन्नति भई मानव संसाधन विभागमा सरुवा भएकोमा बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना टाँसेका थिए खरदार काकाले।
२ महिनापछि काका दुर्गम जाने बेलामा भेट भएकै ठाउँमा भेटिए। मनमनै 'बुढाले कति छिटो बिदा पाएछन्' भनेर सोच्दै 'कति दिनको छुट्टिमा आउनुभो काका?' भनेर सोधेको म त 'फेरि यतै गाउँपालिकामा रमाना लिएर आएँ त बाबु!' भन्छन्।
म त दङ्ग परेँ। कुरो बुझ्दै जाँदा त काकाका शुभकामना र बधाईले राम्रै काम पो गर्दा रहेछन् ।
शुभकामना र बधाई पछि मेरा मनमा सामाजिक सञ्जालतिरै भेटेका धन्यवाद ज्ञापनहरूका झल्को आउन थाले। शुभकामना र बधाई त पछि काम लाग्ला भनेर सञ्चित गरिएका ढुकुटी भए। तर यीभन्दा अल्लि भिन्न रहस्य धन्यवाद ज्ञापनले पनि बोकेको हुँदोरहेछ।
शुभकामना र बधाईले भविष्यको मार्गचित्रण गर्छन् भने धन्यवाद ज्ञापनले पूर्वकार्यको समीक्षा गर्दछन्। कुनै व्यक्तिले केही सफलता हात पारेपछि सञ्जालमा व्यक्त गर्ने धन्यवाद ज्ञापनले नै उसको सफलताका श्रेयाधिकारी स्पष्ट गरिदिने रहेछ।
उदाहरण पनि पेश गरिहालौँ-फेसबुकमा परिचित मेरो एउटा साथीले शिक्षा सेवातर्फको अधिकृतमा नाम निस्केपछि फेसबुकमा लेखेर कृतज्ञता ज्ञापन गर्यो। विवरण यसप्रकार थियो-मेरो यस सफलताका सारथी मेरा मातापिता, घरपरिवार, गुरुहरू, साथीसंगी, इष्टमित्र र सम्पूर्ण शुभचिन्तकप्रति सदैव कृतज्ञ रहनेछु।
यसैगरी फेसबुकमा नै परिचित अर्को एउटा साथीले एउटा सरकारी टेलिभिजनको संवाददातामा नाम निकालेपछि फेसबुकमा व्यक्त गरेको कृतज्ञता ज्ञापन अल्लि फरक किसिमको थियो, त्यस धन्यवाद पत्रमा उसलाई त्यो पदको योग्य बनाउने माता, पिता, गुरु, साथीभाई कोहीपनि अटेका थिएनन्। त्यसमा त मन्त्री, सांसद, पत्रकारको अघोषित राजनीतिक संगठनका केन्द्रदेखि स्थानीयस्तर सम्मका पदाधिकारी, जागिर दिने संस्थाका एक हुल पदाधिकारीहरू लगायतका नाम अटेका थिए।
धन्यवाद ज्ञापन पढ्दा लाग्थ्यो-उक्त पद पाउने व्यक्ति त्यो पदको योग्य नै थिएन, उ त केवल राममन्दिर बाहिरको हनुमानको मुर्ति हो र धन्यवाद ज्ञापनमा नाम उल्लेख भएका सबै व्यक्ति आएर त्यही मुर्तिमा टिका लगाइदिएर गएका हुन्।
लोकसेवा आयोगले निकालेको लिखित परीक्षाको नतिजाले आज बिहानै मेरा लागि दिव्यज्ञान दिलाइदियो। वास्तविक जीवनमा ठूलाबढाका घरदैलो ढक्ढक्याउन पुग्ने कोसेलीका पोकाले जस्तै सामाजिक सञ्जालमा आउने अनेक प्रशंसा र जयगानका भकारी भरिएका शुभकामना र बधाईका पोकाले पनि दाताको जीवनमा गजबका बहार ल्याउने रहेछन् भन्ने निष्कर्षमा पुग्नै लाग्दा फेसबुकमा आएका बधाई र शुभकामनाका पोष्टहरू पनि ओराली लाग्न थाले।
म भने बिहान ढिलो उठ्यो भनेर ओच्छ्यानमा नै जिस्काउन आइपुगेको बकम्फुसे चिन्तनले पनि दार्शनिक नै बनाउने हो कि भन्ने डरले उठेर नित्यकर्ममा लागेँ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।