|

अर्घाखाँची : बैंकिङ कसुरसहित जघन्य अपराधमा संलग्‍न फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अपरेसन अभियानअन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त बिहीबार साँझ पक्राउ परेका हुन्।

उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएको थियो।

बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरीवाना तोकिएका फरार अभियुक्तहरु रुपन्देही बुटवल-८ बस्ने अशोक कुमार शर्मा, ५ दिन कैद र १४ लाख जरीवाना तोकिएका तिलोत्तमा– ५ रुपन्देहीका ४२ वर्षिय एकनारायण अर्याल र १० दिन कैद र ३६ लाख जरिवाना तोकिएका बुटवल १३ रुपन्देहीका ४६ वर्षीय शिव कुमार रणपाललाई पक्राउ परेको रूपन्देही जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई फरक-फरक स्थानबाट पक्राउ गरेको प्रवक्ता थापाले बताए।

तीनैजना विगतमा जग्गा कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। यस्तै, जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएपछि फरार रहेका बुटवल–४ का ५८ वर्षीय पूर्णबहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु १४ बाट र लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार प्रतिवादी बुटवल १३ का विशन राना पनि पक्राउ परेका छन्।

पाँचै जनालाई कैद भुक्तानका लागि अदालतमा बुझाइएको प्रहरी प्रवक्ता थापाले बताए। फरार अप्रेशन अभियानअन्तर्गत वैशाखयता २२ जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.