|

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। 

अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिए।

‘टिएमआइएस’ को प्रयोगबाट सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्ने बरालले बताए। उनले मोबाइलमा ‘नागरिक एप’ डाउनलोड गरेर त्यहाँ राखिएको ‘सवारी कर’ सेवाबाट यातायातसम्बन्धी सेवा लिन सकिने बताए।

बरालका अनुसार यो सेवा वेबपोर्टलबाट पनि लिन सकिनेछ। यातायातसम्बन्धी जुनसुकै नविकरण तथा भुक्तानी अनलाइनबाट गरेपछि त्यहाँ आउने ‘क्युआर कोड’ सहितको रसिदले ब्लुबुकको समेत काम गर्ने बरालको भनाई छ।

भुक्तानी पश्चात अनलाइनमा आउने ‘क्युआर कोड’ सहितको रसिद लाई आफ्नो सवारीमा टासेर वा मोबाइलमै बोकेर हिँडे ब्लुबुक बोक्ने झन्झट पनि नहुँने बरालले बताए।

‘अनलाइनबाट आफूले तिर्नुपर्ने रकम तिरिसकेपछि एउटा फाइल आउँछ। त्यसलाई डाउनलोड गने। त्यो ‘क्युआर कोड’ सहितको रसिद हो। त्यसलाई प्रिन्ट गरेर सवारीमा टास्ने वा मोबाइलमै बोकेर हिँडेमा पनि ब्लुबुक बोक्ने झन्झट गरिरहन पर्दैन।’ उनले भने।

बरालले उक्त ‘क्युआर कोड’ सहितको रसिदलाई ट्राफिक प्रहरीले आफ्नो मोबाइल एप्सबाट चेकजाँच गर्न सक्ने व्यवस्था मिलाइएको बताए।

त्यस्तैगरी अनलाइनबाट भुक्तानी गरिसकेपछि आफूलाई पायक पर्ने कार्यालय छनोट गरेर ई–टोकन सिस्टमबाट आफूलाई उपयुक्त हुने समय मिलाएर सेवा लिन जान सकिने पनि जनाइएको छ। बरालले यो प्रणालीले ब्लुबुक नवीकरण लगायतका यातायात सम्बन्धी काम गर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्ने र महामारीमा भीड कम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

बागमती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरुमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ। प्रदेशको भौतिक मन्त्रालयले शुक्रबार नै ती कार्यालयहरुसँग कार्य सम्पादन सम्झौतासमेत गरेको छ।

हाल यातायात सेवा व्यवस्था कार्यालय एकान्तकुना, गुर्जुधारा, हेटौंडा, सल्लाघारी, काठमाडौं र भरतपुरबाट यो सेवा सञ्चालन गरिएको छ भने कार्यसम्पादन सम्झौता पनि भइसकेको छ।

प्रदेश सरकारले डिजिटल प्रदेश बनाउने योजनासहित ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली, २०७८ जारी गरेर यो सेवा सञ्चालनमा ल्याएको बरालले जानकारी दिए।

बागमती प्रदेशमा देशभरमा भएका सवारीसाधनको ४७ प्रतिशत सवारी दर्ता भएको छ। मन्त्रालयका सचिव बरालका अनुसार प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेका छन्। सरकारले असार १५ गतेसम्म ९ अर्ब सवारी राजश्व संकलन गरेको भन्दै उनले यातायत कार्यालयमा हुने भीडले राजश्व संकलनमा प्रभाव पारेको बताए।

बरालले अनलाइन सेवा प्रणालीले गर्दा राजश्व संकलन वृद्वि हुने बताए। एक सेवाग्राहीको अनलइन प्रणालीबाट ब्लुबुक नविकरण गर्दै मुख्यमन्त्री पौडेलले यो सेवाको शुभारम्भ गरेका थिए।

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको आर्थिक स्रोतको मेरुदण्डको रुपमा यातायात क्षेत्र रहेको बताए। उनले यातायात क्षेत्र व्यवस्थित नहुँदा प्रदेशमा राजश्व संकलनमा कमी आएको भन्दै अनलाइन सेवा प्रणालीबाट राजश्व संकलनमा वृद्वि हुने विश्वास व्यक्त गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.