बाल संगठनको जग्गा कब्जा

|

काठमाडौं : नक्सालस्थित बालमन्दिर गेट कम्पाउन्डमा राणाकालीन पर्खाल छ। सो ऐतिहासिक पर्खालको रङरोगन खुइलिसकेको छ भने कुनै ठाउँमा चर्किएका छन्।

काठमाडौं महानगरपालिका विकास गर्दा कुनै पनि ऐतिहासिक सम्पदा नमास्ने दाबी गर्छ। यी शब्द नै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठबाट विभिन्न सार्वजनिक कार्यक्रममा निस्किन्छ।

तर, महानगरपालिकाले नै विकासको नाममा ऐतिहासिक सम्पदाहरू धमाधम मास्ने गरेको छ। महानगरपालिका वडा-१ र ५ ले ती पुरातात्विक पर्खाल भत्काएर निजी राई स्कुलका लागि पक्की बाटो बनाउन लागेको हो।

सोही पर्खालभित्र रहेको बाल मन्दिर अर्थात नेपाल बाल संगठनको जग्गा समेत केही जानकारी नगरी कब्जा गरिएको छ। संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले केही जानकारी नगराइ वडा र वृहस्पति विद्या सदन स्कुलले राई स्कूलका लागि दोहोरो सवारीसाधन चल्ने गरी पक्की बाटो बनाउन लागेको बताइन्‌।

उनले भनिन्‌, ‘यो पर्खाल राणाकालीन हो, तर ती पर्खाल पनि वडाले भत्कायो, बालबालिकाहरूको सम्पत्ति समेत कब्जा गरेर राई स्कुलका लागि सडक कालोपत्रे गर्न लागियो।’

उनका अनुसार संगठनको करिब एक रोपनी भन्दा बढी जग्गा मिचिएको छ। ‘बाटो खोल्दा बराबरी जग्गा प्रयोग गर्नुपर्छ, तर निजी व्यक्तिले जग्गा नदिने भएकाले उनीहरूको पर्खाल भत्काइएन,’ उनले भनिन्‌, ‘संगठनको पर्खाल सहितको १० फिट जग्गा कब्जा गरेर नयाँ पर्खाल लगाइयो।’

बाल संगठन कार्यालयको पछाडिबाट सवारीसाधन चल्ने ठूलो बाटो हुँदाहुँदै जबरजस्ती बीचबाट बाटो खोलिएको उनको भनाइ छ।

संरक्षण गर्नुपर्नेमा एक करोड बराबरको सम्पत्ति अतिक्रमण

अध्यक्ष न्यौपानेका अनुसार २०२१ सालमा स्थापित संगठनको जग्गा क्षेत्रफल १०५ रोपनी थियो। तर, कहिले बाटो बनाउने त कहिले नयाँ पर्खाल लगाउने नाममा धेरै जग्गा कब्जा भइसकेको छ।

संगठनको नाममा हाल ५० रोपनी मात्रै जग्गा छ। ‘म यहाँ आउनुभन्दा अघि नै विद्या सदन स्कुलले लिजमा जग्गा पाएको रहेछ,’ न्यौपाने भन्छिन्, ‘जग्गा संरक्षण गर्ने र सडक बनाउनै परे अस्थायी सडक बनाउने गरी सम्झौता भएको रहेछ, तर सम्झौता विपरीत बाटो बनाउन लागेको छ, यो काम जसरी भएपनि रोकिनुपर्छ।’ 

उनले यो जग्गा देशभरको एक करोड बालबालिकाहरूको सम्पत्ति रहेको भन्दै यसैगरी अतिक्रमण हुँदै गएमा पछि बालबालिका राख्ने ठाउँ समेत नहुने बताइन। सडक कालोपत्रे रोक्न खोज्दा वडा-५ का अध्यक्ष रमेश डंगोलले धम्क्याएको समेत उनले गुनासो गरिन।

‘महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ ऐतिहासिक सम्पदा बचाउने भन्छिन्, तर महानगर नै मास्न लागि पर्छ, यो क्षेत्र वडा-१ मा पर्छ, तर वडा-५ का अध्यक्षले भने मेरो क्षेत्र पर्छ, जसरी पनि सडक कालोपत्रे गर्छु भन्दै मलाई धम्क्याएको छ, यस्तो पनि जनप्रतिनिधि हुन्छ?,’ उनले आक्रोश पोखिन्‌।

वडा-वडाबीच नै जुहारी

वडा-१ का अध्यक्ष भरतलाल श्रेष्ठ आफूले सडक ढलान गर्न कुनै अनुमति नदिएको दाबी गरे। भने, ‘बाल मन्दिर क्षेत्र मेरो क्षेत्रमा पर्छ, मैले सडक ढलान गर्ने अनुमति दिएको छैन।’

यता वडा-५ का अध्यक्ष डंगोल भने आफ्नो क्षेत्र पर्ने भन्दै जसरी भएपनि सडक ढलान गर्ने जिकिर गर्छन्‌। ‘पर्खाल मात्रै वडा-१ क्षेत्रमा पर्छ, यताको क्षेत्र मेरो हो, तीन वर्षअघि नै सडक ढलान गर्ने भनी बाटो विस्तार गरिएको हो, १ को अध्यक्षले भनेर हुँदैन, सडक कालोपत्रे गर्छौँ,’ उनले भने।

हिलाम्मे भएका कारण सडक कालोपत्रे गर्न लागिएको उनको तर्क छ।

यसो भन्छ विद्यासदन स्कुल

विद्यासदन स्कुलका प्रशासन प्रमुख विनोद बडालले सम्झौतालाई कुल्चेर केही काम नगरेको बताउँछन्।

उनी भन्छन्‌, ‘जग्गा संगठन हो, पहिला संगठनको अध्यक्ष रिता सिंह हुँदा नै दोहोरो सवारीसाधन चल्ने गरी सडक बनाउने सम्झौता भएको थियो, इञ्‍जिनियर ल्याएर पर्खाल पनि भत्काइएको थियो, त्यही अनुसार अहिले कालोपत्रे गर्न लागिएको हो।’

विवाद गर्नुभन्दा पनि सबै सहमतिमा जानुपर्ने उनको तर्क छ। ‘विवाद गरेर काम राेक्नु हुन्न भन्ने मलाई लाग्छ, संगठनको बढी जग्गा काटिएको छ, अर्को घर धनीको जग्गा पनि काट्नुपर्छ भन्ने माग आयो भने दुवैको जग्गा काटेर सडक कालोपत्रे गर्न सकिन्छ,’ उनले थपे।

उनका अनुसार पर्खाल भत्काएर करिब ५०० मिटर ट्रयाक खाेलिएकाे छ। 

‘सडक ढलान रोक्छौँ’

महानगरपालिका वडा-१ का अध्यक्ष श्रेष्ठले ऐतिहासिक पर्खाल मासेर सडक ढलान गर्न नदिने बताएका छन्।

सडक कालोपत्रे गर्ने कुनै जानकारी नभएको भन्दै उनले थपे, ‘त्यहाँ ऐतिहासिक पर्खाल छ, सडक कालोपत्रे भयो भने बाँकी त्यो पर्खाल फेरि भत्किनसक्छ, जसले ढलान गर्न लागेको हो-म बुझेर रोक्छु, कुनै हालतमा कालोपत्रे हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.