|

काठमाडौं : साहित्य सन्ध्याले विभिन्न विधाका पाँचजनालाई सम्मान गर्ने भएको छ। शनिबार बसेको कार्यसमिति बैठकले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा‚ डा. राजेन्द्रप्रसाद अधिकारी‚ डा. शेषराज आचार्य (दीक्षित)‚ दिलबहादुर कार्की र प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा सम्मानित गर्ने निर्णय गरिएको हो। पुरस्कार तथा सम्मान आगामी भदौ १२ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भर्चुअल कार्यक्रमबाट अर्पण गरिने उपाध्यक्ष पोखरेलले जानकारी दिए।

लामालाई १५ हजार रुपैयाँको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिने छ। लामाको तीनवटा कविता संग्रह प्रकाशित छन्। यस्तै‚ डा. अधिकारीलाई पाँच हजार राशिसहित साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिने जनाइएको छ। साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको गोष्ठीमा सहभागी भई वर्षभरिका गोष्ठीमध्ये सबैभन्दा बढी गोष्ठीमा सहभागी स्रष्टाहरूमध्ये एकजनालाई यो पुरस्कृत प्रदान गरिँदै आइएको छ।

यस्तै‚ डा. आचार्यलाई १० हजार राशिको साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान प्रदान गरिने निर्णय भएको छ। आयुर्वेद चिकित्सा र नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान गरेका उनको हिम–हिमा बिहा खण्डकाव्य, शब्द तरङ्गिणी, अतीतका स्मृतिहरू र सचित्र जडीबुटी संग्रहलगायत कृति प्रकाशित छन्।

दिलबहादुर कार्कीलाई १० हजार राशिको साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ। उनले काठमाडौंको गोकर्णमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको स्थापना गरी अपाङ्गता भएका, अनाथ बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य र लालनपालनमा आफूलाई समर्पित गर्दै आएका छन्।

नेपाली साहित्यका विविध विधामा कलम चलाउनुका साथै नियात्रा विधाका दशवटा कृति दिएका ढकाललाई साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मानले दिइने साहित्य सन्ध्याले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.