वन्यजन्तु र मानवबीच द्वन्द्व घटाउने यी हुन् उपाय

|

काठमाडौं : संरक्षित जीवजन्तुको अवैध शिकार गर्नु दण्डनीय अपराध हो। सोझै हेर्दा वनका जीवजन्तुहरू शत्रुझैं लागे पनि सूक्ष्म रूपमा हेर्ने हो भने यिनीहरू मानिसका मित्र हुन्।

हाम्रो पर्यावरण सन्तुलित राखिराख्न वनका जीवजन्तुले सहयोग पुर्‍याएका हुन्छन्। तर, वन्यजन्तु र मानिसबीच द्वन्द्व चलिरहेको छ। खेतीबाली नोक्सानी, घरबास भत्काउनेदेखि कहिलेकाँही जंगली जनावरको आक्रमणमा परेर मान्छेको ज्यानैसमेत जाने गर्छ। यसरी जनधनको क्षति गराउने वन्यजन्तुहरू सामान्य हिसाबले हेर्दा शत्रु लाग्नु स्वाभाविकै हो।

तर, वनमै रजगज गरेर बसेका वन्यजन्तु किन मान्छेका बस्ती पसे? भनेर कारण खोतल्ने हो भने, जसरी वन्यजन्तुले हाम्रो नोक्सान पुर्‍याएको देख्छौं,उसैगरी हामी मान्छेले पनि वन्यजन्तुलाई प्रत्यक्ष-अप्रत्यक्ष नोक्सान पुर्‍याइरहेका हुन्छौं।

वनजंगल र वन्यजन्तुमाथि मान्छेले अनावश्‍यक हस्तक्षेप बढाउनाले पनि मानिस र वन्यजन्तु बीचको द्वन्द्व बढेको छ।

पहिले-पहिले बाँदर नै नआउने ठाउँमा पनि हिजोआज खेतीबाली जोगाउनै मुस्किल हुन थालेको छ। कतिपय ठाउँहरूमा त घरभित्रको अन्न पनि बाँदरले चोरेर खान थालेको गुनासो सुनिन्छ। जंगली बँदेल देख्दै नदेखेका बस्तीहरूमा अहिले रातभर जागा बसेर बँदेल धपाउनुपर्छ।

त्यस्तै, बाह्रै महिना दुम्सीले खेतबारी चाहारेर आलु, पिँडालु, तरुल, सखरखण्ड, फर्सी आदि तरकारी र कन्दमुलको बिउ नै मासिने अवस्था आइसकेको छ।

कतै जंगली हात्तीद्वारा नोक्सानी काहीँ एकैरातमा भालुले खेती खाएर माडेर ठूलै क्षति गर्छ। चितुवा, बाघ, भालु, हात्ती, गैंडाजस्ता जंगली जनावरले मान्छे नै मारेका, घाइते बनाएका कैयौं दु:खत घटना छन्।

यस्तै समस्या र पीडाका समाचार बारम्बार आइरहँदा चाँहि वन्यजन्तु र मानिसको द्वन्द्व अझ बढेको, बस्तीमा झनै धेरै खती गरेको जस्तो लाग्छ तर सुनिएको सबै मान्न तयार छैनन् वन्यजन्तुका ज्ञाता प्राध्यापक करनबहादुर शाह

आहारा नपुगेर बस्ती पसेका हुन्

प्राध्यापक शाहसँग वन्यजन्तुका विषयमा दशकौंको अध्ययन, अध्यापन र अनुसन्धानको अनुभव छ। ‘जंगलको वातावरणीय संरचना र सन्तुलन बिग्रिएपछि वन्यजन्तुलाई बासस्थान र आहारा प्राप्तिमा अप्ठ्यारो पर्छ त्यसपछि उनीहरू मान्छेका बस्ती पस्न बाध्य हुन्छन्’ प्राध्यापक शाहले भनेझैं कतिपय गाउँठाउँमा पहिला-पहिला बाँदर देखिए पनि आक्कल झुक्कलबाहेक ती बाँदरहरू मान्छेका बस्तीमा पस्दैनथे।

खेतीबाली नोक्सानी गर्दैनथे, किनकि त्यो बेला जंगलकै कन्दमूल, फलफूल बाँदरले खाएर सक्दैनथे। तर, अचेल तीनै गाउँघरमा बाँदरले आतंक मच्चाएको स्थानीयको गुनासो छ। अचेल जंगलमा पहिलाजस्तो कन्दमुल र फलफूल पर्याप्त छैनन् अनी बाँदरहरू पेट भर्न बाध्य भएर बस्ती पसेका हुन कि भनेर लख काट्न सकिन्छ।

हिउँ चितुवा मारेकोमा पछुतो

यही मात्र कारण पर्याप्त होइन भन्ने मत छ प्राध्यापक शाहको। उनको एउटा फरक अनुभव छ ‘निक्कै वर्षअघि अनुसन्धानकै क्रममा मुगु जिल्लाको एउटा गाउँमा बस्दा त्याहाँको गाउँ नजिकका जंगलमा प्रशस्तै नाउर भए पनि तिनीहरूले बालीनाली खाएर दु:ख दिँदैनथे। खेतीका नजिक आउँदैनथे।’ तर केही वर्षअघि शाह फेरि त्यही गाउँमा पुग्दा नाउरले बालीनाली खाएर स्थानीयलाई धुरुधुरु रुवाएको रहेछ।

कारण स्थानीयलाई समेत थाहा छ। पहिला जंगलमा हिउँ चितुवा थिए। हिउँ चितुवाले नाउरको शिकार गरेर खान्थे। नाउरको संख्या निश्चित थियो धेरै बढ्दैन थियो, तीनको संख्या प्राकृतिक रुपमै व्‍यवस्थापन भइरहन्थ्यो। जंगलका छेउछाउसम्मै हिउँ चितुवा बस्दथे, हिउँ चितुवाको डरले नाउरहरू मानिसका बस्ती र खेतीवाली पस्दैनथे। तर, केही पछि गाउँलेहरूले हिउँ चितुवा मारिदिए अब हिउँ चितुवा मासियो, नाउरहरूको संख्या बढ्यो नाउरले अहिले बालीनाली बारीमै स्वाहा पार्छ।

‘हिउँ चितुवा मासेको र मासिएकोमा अहिले आएर स्थानीयले पछुतो मानेका रहेछन्’ भन्छन् प्राध्यापक शाह।

सरकारले यही समस्या कम होस् भनेर कतिपय राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण क्षेत्र नजिकका बस्तीमा जन्तु नपसोस् भनेर विद्युतीय तारबार लगाउनेजस्ता काम पनि गरेको छ। तर, कैयौं ठाउँमा स्थानीयले नै तारबार भत्काउने पोल आफ्ना घरमा लाने गरेर कार्यान्वयनमा सहयोग नगरिदिएको तितो सुनाउँछन् वन्यजन्तुका ज्ञाता शाह।

हाम्रा अग्रजले वन्यजन्तु धपाउन परम्परागत उपाय लगाउथे कतिपय गाउँमा त्यो परम्परा अझै छ’ प्रकृतिको पुजन गर्थे, जंगलका जनावरको आहारामा नोक्सानी गर्दैनथे। त्यसैले अहिले जस्तो समस्या पहिले कम भएको अनुमान गर्छन् शाह।

‘आफ्नो थैलीको मुख बन्द नगर्ने अनी साथीलाई चोर लाउने भनेजस्तो अचेल किसानले आफ्ना खेतीबाली र आफूले पालेका पशुधनको सुरक्षामा उस्तो बन्दिलो नगरेको’ गुनासो छ शाहसँग। उनलाई त वन्यजन्तुले मान्छेको बस्तीमा गरेको नोक्सानीभन्दा बढाईचढाई हल्ला हुने गरेको लाग्छ।

बाँदर, दुम्सी र बँदेलको क्षतिपूर्ति आउँदैन

संरक्षित जंगली जनावरले आक्रमण गरी मान्छे मारेमा सरकारले १० लाखसम्म क्षतिपूर्ति दिन्छ भने घाइतेको नि:शुल्क उपचारको व्‍यवस्था छ। वन्यजन्तुले हमला गरी घरपालुवा जनावरको नोक्सानी गर्दासमेत तोकेअनुसारको क्षतिपूर्ति मिल्छ। तर बाँदर, दुम्सी, बँदेल आदि वन्यजन्तुले गरेको बालीनाली नोक्सानीको क्षतिपूर्ति भराउने व्‍यवस्था भने सबै ठाउँमा छैन।

धेरैजसो राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण क्षेत्रले चाँहि आसपासका बस्तीमा वन्यजन्तुले पुर्‍याएको सबैखाले नोक्सानीको क्षतिपूर्ति दिने गर्छ। प्राध्यापक शाहका अनुसार अहिलेसम्म सर्पले टोकर मान्छेको ज्यान गएमा चाँहि सरकारले क्षतिपूर्ति दिँदैन।

बाँदर धपाउने उपाय फलदायी देखिएन

जंगली जनावरबाट खेतीबाली जोगाउन विभिन्न ठाउँमा अनेकौं उपाए अपनाएको भए पनि ती खासै प्रभावकारी भएनन्। एक वर्ष अघिदेखि केही स्थानीय पालिकाहरूले बाँदर धापाउन नेपालमै आविस्कार भएको चर्को आवाज दिएर पड्किने बन्दुकसमेत किनेर दिए तर त्यो पनि फलदायी देखिएन।

सुरु-सुरुमा उक्त बन्दुकको निकै माग थियो, सञ्‍चारमाध्यममा प्रचार-प्रसार पनि भयो। ठूलो आवाजले पड्किने हुनाले केही दिन त डरले बाँदर पनि भागे। आखिर चलाख बाँदरले सो बन्दुकको काइदा छिट्टै थाहा पाउने रहेछन्। सुरुका केही दिन डराएर भाग्ने बाँदर पछि डराउन, भाग्न छोडे।

प्राध्यापक शाह त्यसरी बन्दुक बाँड्नु नै गैरकानुनी ठान्छन्। ‘वन्यजन्तुलाई अत्याउनु कानुनअनुसार अपराध हो’ उनी भन्छन्, ‘बाँदरहरू लखेटेर अर्को गाउँ पुर्‍याउनु, विस्फोटक पदार्थ पड्काएर डर देखाउनु समस्याका स्थायी समाधान होइनन्।’

नोक्सानी बढेको मान्न तयार छैनन् शाह

मानिस र जंगली जानावरबीचको द्वन्द्व बढ्नु, जंगलका जीवजन्तु बस्ती पस्नुमा ‘जंगल घटेर हो अथवा वन्यजन्तुको संख्या बढेर’ भन्ने लाग्छ। तर, औसतमा वनजंगल खासै घटेको छैन। वन्यजन्तुको संख्या पनि पहिलेको तुलनामा बढेको छैन। बरु कतिपय वन्यजन्तुको संख्या घटेको तथ्यांकले देखाउँछ।

​ त्यसो भए पहिलाभन्दा वन्यजन्तुले गर्ने नोक्सानी किन बढ्यो त? प्राध्यापक शाह वन्यजन्तुले पहिलाभन्दा खेतीबाली र बस्तीमा नोक्सानी अहिले बढी गर्‍यो भनेर मान्न तयार छैनन्।

‘वन्यजन्तुले पहिला पनि नोक्सानी गर्थ्यो अहिले पनि गरेको छ। केही ठाउँमा अली बढी गरेको छ। पहिला सञ्‍चार माध्यम थिएनन् समाचार आउँदैनथे। अहिले सञ्‍चार व्‍यापक छ, समाचार आउँछन् अनि धेरै नोक्सानी गरेछ जस्तो लागेको हो। औसतमा वन्यजन्तुले खेतीपातीमा गर्ने नोक्सानी बढेको छैन’ उनले प्रष्ट पारे।

द्वन्द्व घटाउन वैज्ञानिक उपाय

वन्यजन्तुले पुर्‍याउने नोक्सानी र मान्छेसँगको द्वन्द्व घटाउन अब वैज्ञानिक उपाए अपनाउनुपर्ने मत छ शाहको। उनको विचारमा वनजंगल अझ बढाउने, वनका फलफूल कन्दमूल फैलाउँदै लैजाने, वन्यजन्तुको बासस्थानसँगै चरन क्षेत्रमा पनि मान्छेको प्रवेश र नोक्सानी रोक्ने, परम्परागत र आधुनिक विधि उपयोग गरी खेतीबाली र घरपालुवा पशुधनको छेकवार र सुरक्षा गर्ने, वन्यजन्तुको अवैध शिकारलाई सम्पूर्ण रूपमा रोक्ने, सबै किसानका खेती र पशुधनको बिमा अनिवार्य गराउने।

सबै प्रकारका वन्यजन्तुले मानिसका बस्ती, जिउ ज्यान र खेतीमा गर्ने नोक्सानी हेरीकन ठहर्‍याएको नोक्सानीमा सरकारले न्यूनतम क्षतिपूर्ति  देशैभरी दिने व्‍यवस्था गरिदिने जस्ता उपाय अवलम्बन गरेमा केही हदसम्म मान्छे र जंगली वनयजन्तुबीचको द्वन्द्व कम गर्न सकिन्छ।

त्यस्तै, वन्यजन्तुको अवैध शिकार गरी वन्यजन्तु मारेमा वा अंगभंग पारी घाइते बनाएमा, जंगलका जीवजन्तु नास्ने मास्ने बेच्ने गरेमा वन्यजन्तुसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही गर्ने र गराउने कानुन कार्यान्वयन हुनुपर्ने उनको मत छ।

वन्यजन्तुका ज्ञाता प्राध्यापक करनबहादुर शाहसँग ओम भण्डारीले गरेको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.