|

अर्घाखाँची : जिल्लाको सन्धिखर्क नगरपालिका-८ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि शोकको घडीमा सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गरिएको छ।

सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो। बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि  ५  दिनअघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।

नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण काम श्रावण १७ गतेसम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिनसम्म शोकपुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

उनी शिक्षक पेशाको अवकासपछि नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनी स्थानीय तहमा लोकप्रिय नेताको रूपमा परिचित थिए।

उता, वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको निधनले पार्टीमा ठूलो क्षति भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले शोकको घडीमा ३ दिनसम्म जिल्लाका ६१ ओटै वडाहरू तथा ६ वटा स्थानीय तहमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने, जिल्लास्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको  झन्डा आधा झुकाउने र १३ दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोकपुस्तिका राखि मृतक भुसाल प्रति शोक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ।

 हालसम्म जिल्लामा कोरोनाका कारण ७० जनाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए। कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र  छत्रदेव गाउँपालिकामा ३ जना गरी ७० जनाको ज्यान गएको हो।

हालसम्म जिल्ला भरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ। हालसम्म कोरोनामुक्त हुनेको संख्या २६ सय ३४ पुगेको छ। अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.