वैदेशिक रोजगारीमा वार्षिक १ अर्ब ठगी

|

काठमाडौं : सोमबार मध्याह्न १२ बजे वैदेशिक रोजगार विभागको गेटमा प्युठानका ३९ वर्षीय भेकबहादुर जिसी भेटिए।

ठगिएको उजूरी दर्ता गर्न जिसी हातमा फाइल बोकेर वैदेशिक रोजगार विभाग आएका हुन्। आफू ठगिएको उजूरी दिन उनी विभाग दोस्रोपटक आइपुगेका रहेछन्‌।

२०७२ सालमा जिसीले वैदेशिक रोजगारीमा गएर पैसा कमाउने सोच आफ्नो साथीलाई सुनाए। चिनेको एकजना साथीले जापानमा रोजगारीको राम्रो अवसर रहेको बताए।

पैसा कमाउन विदेश जाने तीव्र इच्छा बोकेका जिसी साथीको कुरा सुनेर हौसिए।

परिवारको आर्थिक अवस्था सामान्य भएका जिसीले जापान जाने योजना त बनाए, तर त्यता जान लाग्ने सबै पैसा तिर्नसक्ने अवस्था भने उनको थिएन। जापान उड्ने सपना पूरा गर्न उनले आफन्तसँग सापटी लिएर १३ लाख रुपैयाँ आफूसँगै स्कुल पढेको साथीलाई बुझाए।

वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारहरू म्यानपावर कम्पनी र एजेन्टबाट ठगिँदै आएका छन्। कोरोना महामारीमा पनि रोजगारीको खोजीमा रहेका कामदार म्यानपावर कम्पनी र एजेन्टबाट ठगिएको उजुरी लिएर धाउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

तर, पैसा बुझाएपनि न उनी विदेश उड्न पाए-न त आफूले तिरेको पैसा नै फिर्ता पाए। वैदेशिक रोजगारीमा ठगिएको सो पैसा उठाउन नसक्ने भएपछि उनले विभागमा उजुरी गरे। हाल सो उजुरी विभागमा छ। पीडकलाई कारबाही भएको छैन।

उनले घर परिवार र आफन्त सबैलाई रकम फसेको सुनाएका थिए। ऋण गरेको पैसा तिर्न दवाब आइरहेको थियो। फसेको पैसा उठाइदिन्छु भन्ने मान्छे भेट्दा त भगवान नै भेटेजस्तो भएको थियो। उनले भने, ‘पैसा फसेर घर न घाटको भएको थिएँ, उठाइदिन्छु भन्दा आँखा चिम्लिएर विश्वास गरेँ।’ 

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय हरि शरण नेपालले फसेको पैसा उठाइदिने र अर्को देश लैजाने आश्वासन दिए। पीडक नेपालले ‘म विप्लवको जिल्ला नेता हुँ, तपाईंको फसेको पैसा उठाइदिन्छु' भन्दै आश्वासन दिएका थिए। पैसा उठ्छ र फेरि विदेश जान पाइन्छ भन्ने आशाले विश्वास गरेको जिसीले बताए।

ग्रीस लागि कृषिसम्बन्धी काम लागाइदिने नेपालले सुनाए। मासिक १० हजार यूरो तलब पाइने बताए। फसेको पैसा उठाइदिने भन्दै विभन्न प्रलोभनमा पारे।

ग्रीस जान पाइने अपेक्षामा जिसीले नेपाललाई पटकपटक गरी ९ लाख रुपैयाँ बुझाए। फागुन २०७७ मा उनले पैसा बुझाएका थिए। तोकिएको समयमा विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेको भन्दै उनी दोस्रो व्यक्तिविरुद्ध पनि उजुरी गर्न विभागमा आएका हुन्।  

वैदेशिक रोजगार ऐन २०६४ को दफा १० विपरीत कार्य भएको हुँदा ऐनको दफा ४३ बमोजिम हरिशरण नेपालले आफूले तिरेको पैसा फिर्ता गरी उनलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही माग गर्दै उजुरी दिएका छन्।

वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारहरू म्यानपावर कम्पनी र एजेन्टबाट ठगिँदै आएका छन्। कोरोना महामारीमा पनि रोजगारीको खोजीमा रहेका कामदार म्यानपावर कम्पनी र एजेन्टबाट ठगिएको उजुरी लिएर धाउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

एक वर्षमै १ अर्ब ३५ करोड रुपैयाँ ठगी 

२०७७/७८ मा मात्र वैदेशिक रोजगारीका नाममा संस्थागत (म्यानपावर) र व्यक्तिगतबाट गरी १ अर्ब ३४ करोड ९० लाख रुपैयाँ ठगीको बिगो दाबीसहित उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार संस्थागत ९७ करोड ४९ लाख ७३ हजार र व्यक्तिगत ३४ करोड ५८ लाख ७८ हजार रुपैयाँ ठगिएको उजुरी परेको हो। 

अघिल्ला ६ वर्ष अवधिभित्र वैदेशिक रोजगारीको खोजीमा रहेका करिब ९ हजार कामदारबाट म्यानपावर कम्पनी र एजेन्टले ६ अर्ब रुपैयाँभन्दा धेरै रकम ठगेको पाइएको छ।

६ वर्षको अवधिमा करिब ९ हजार युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ६ अर्ब २९ करोड ९४ लाख ४७ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

सो अवधिमा विभागले पीडितहरूलाई करिब ३ अर्ब रुपैयाँ क्षतिपूर्ति भराउन सफल भएको छ। सो अवधिमा ४ हजार ३८६ वटा उजुरी फर्छ्याेट गरेको छ। 

कुन वर्षमा कति उजुरी दर्ता 

आर्थिक वर्ष २०७२/७३ मा २ हजार १७२ वटा उजुरी विभागमा दर्ता भएको थियो। जसमा ५२० वटा उजुरीमात्र फर्छ्योट भएको विभागले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३८३ वटा मुद्दा परेकोमा ८८७ वटा उजुरी फर्छ्योट भएका थिए। यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १२९ वटा उजुरी विभागमा परेको थियो।

जसमध्ये १ हजार २८ वटा मुद्दा फर्छ्योट गरेको विभागले जनाएको छ।

२०७५/७६ मा व्यक्तिगत र संस्थागत गरी २ हजार ३९ वटा उजुरी रोजगार पीडितले दर्ता गरेका छन्। २०७६/७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी २ हजार तीनवटा उजुरी विभागमा परेका थिए। 

२०७७/७८ मा रोजगारीका नाममा ठगिएका ३४९ वटा संस्थागत (मेनपावर) र व्यक्तिगत ४३१ वटा उजुरी विभागमा परेका छन्। गत आर्थिक वर्षमा १०५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएको विभागले  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.