|

विराटनगर : मोरङका स्थानीय तहहरूले सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ। सरकारले चीनबाट भेरोसेल खोप ल्याएसँगै ५५ वर्ष माथिका उमेर समूहलाई यो खोप दिँइदै छ। 

प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारलाई प्राप्त सबै खोप शनिबारदेखि नै जिल्लाहरूमा वितरण थालिएकाले सोमबारदेखि प्रदेशका सम्पूर्ण जिल्लाले खोप लगाउन कार्य सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएका खोप जिल्लाहरूमा वितरण थालिएको र सोमबारसम्म सबै जिल्लामा वितरण भइसक्ने आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए।

उनका अनुसार आइतबारसम्म मोरङ, सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरूलाई भेरोसेल खोप पठाइसकिएको छ। सोमबारसम्म सबै जिल्लामा खोप पठाइसकिने मन्त्रालयले जनाएको छ। साहका अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसनको खोप वितरण गरिने छ।

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसनको खोप ५० वर्षमाथिका व्यक्तिहरूलाई लगाउने तयारी प्रदेश सरकारले गरेको छ।

कुन कुन ठाउँमा छन् खोप केन्द्र ?

सोमबारदेखि विराटनगरका दुई वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले जानकारी दिए। कार्कीका अनुसार विराटनगरको वीरेन्द्र सभागृह र कोसी अस्पतालमा भेरोसेल खोप लगाइनेछ। 

महानगरपालिकाले तीन वटा केन्द्र निर्धारण गरेको भए पनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ।

परिवार नियोजन संघमा बालबालिकाहरूका लागि नियमित खोप लगाउने केन्द्र सञ्चालनमा रहेका कारण त्यसमा असर पुग्ने बताएको छ। ‘तत्काल दुई वटा केन्द्रबाटै खोप लगाउने कार्य हुने र केही दिनपछि वडाहरूमै गएर खोप लगाइने छ,’ कार्कीले भने।

जाने बुझेकै मान्छे भनेको मान्दैनन्

तातो घाम। मान्छेहरूको लामो लस्कर। घाम छल्न छाता ओढेर सोमबार खोप केन्द्र रहेको वीरेन्द्र सभा गृहमा खोप लगाउनेको ताँतीमा अधिकांश कर्मचारीहरू देखिन्थे। आपसमा ठेलाठेल गर्दै उभिएको ताँतीलाई भौतिक दूरी कायम राखेर लामबद्ध हुनु भन्दै सुरक्षाकर्मीहरू आग्रह गरिरहेका देखिन्थे।

तर, सुरक्षाकर्मीको आग्रहलाई बेवास्ता गर्दै घचेटाघचेट गर्न छोडेका थिएनन्। आफूहरूले भौतिक दूरी कायम राखेर लाइन बस्न आग्रह गर्दा पनि अटेर गर्ने गरेका खोप केन्द्रमा खटिएका एक सुरक्षाकर्मी बताउँछन्।

‘खोपका लागि आउने अधिकांश बैँकका, सरकारी कर्मचारी छन्, हामीले भौतिक दूरी कामय गरेर लाइनमा बस्नुस भन्दा अटेर गर्नुहुन्छ,' उनले भने, उहाँहरू आफै बुझ्ने हुनुहुन्छ, तर जतिभन्दा पनि झगडा गरेझैँ गर्नुहुन्छ, खै हामीले त के भन्नु ?’

'खोपको लागि आत्तिनुपर्ने अवस्था छैन'

सोमबारदेखि ५५ वर्ष माथिका नागरिक, अग्रपङ्तिमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यसअघि खोप लगाउन छुटेका व्यक्तिहरू, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरू, सहचालकहरूलाई खोप लगाइने सूचीमा राखिएको छ। भेरोसेल खोपका पहिलो डोज लगाएर दोश्रो लगाउने समय पुगेकाले पनि सोमबारदेखिको अभियानमा खोप लगाउन सक्नेछन्।

वैदेशिक रोजगारीमा जानेलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा बेला जिल्ला स्वास्थ्य कार्यालयबाट नियमित खोप लगाउने गरी प्रबन्ध भएको कार्कीले जानकारी दिए।

महानगरले प्रहरी तालिम केन्द्रका लागि आवश्यक पर्ने खोप तालिम केन्द्रमा एकमुष्ठ पठाएको छ। विराटनगर महानगरपालिकामा सर्वसाधारणका लागि यस पटक ७ हजार ५ सय मात्रा खोप प्राप्त भएको छ।

‘दुई वटा केन्द्रबाट खोप लगाइने छ, अब खोपका लागि धेरै आत्तिनुपर्ने अवस्था छैन,' कार्कीले भने, यो खोप लगाउनासाथ हामी फेरि जोन्सनको खोप लगाउन थाल्छौं, त्यसपछि फेरि भेरोसेल नै प्राप्त हुन्छ र त्यो पनि लगाउँछौं , त्यसैले सोमबार नै ठूलो भीड लाग्नुपर्ने अवस्था आउँदैन भन्ने लागेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.