|

बैतडी : पहिरोका कारण बैतडीको पुर्चौंडी नगरपालिका-९, तल्लादेहीका १४ घरमा क्षति पुगेको छ। लगातार वर्षा हुँदा गएराति डाँडाखाली बस्ती माथिबाट पहिरो खसेको हो।

बैतडीका प्रहरी प्रवक्ता एवम्‌ प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार ३ घर पूर्ण रूपमा र अन्य ११ घरमा आंशिक क्षति पुगेको छ। करन लुहार, जनक दमाई र जयराम लुहारको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

उनले भने, ‘पहिरोले घरमा क्षति पुगेको भएपनि मानवीय क्षति भएको छैन, सबै १४ घरपरिवार विस्थापित भएका छन्।’ मानवीय क्षति नभएपनि पशुचौपाया क्षति भएको उनले जानकारी दिए।

पहिरोले डाँडाखालीका करन लुहारको बाख्रा,खरायो र कुखरा च्यापिएर मरेका छन् भने जनक दमाईको एउटा गाई र एउटा बाख्रो मरेको छ। यस्तै, सोही ठाउँका जयराम लुहारको खरायो र बाख्रा पहिरोमा च्यापिएर मरेका छन्। 

पहिरोले गगनराम सार्की र डम्मर सार्की लगायतका ११ जनाको घरमा आंशिक क्षति पुगेको छ। घरमा क्षति पुगेपछि उनीहरू सबै विस्थापित भएका छन्।

विस्थापितमध्ये कोही छिमेकीको घरमा बसिरहेका छन् भने कोही स्थानीय लोखाडी आधारभूत विद्यालय डाँडाखालीमा बसिरहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले बस्तीमा पहिरो थपिने जोखिम कायमै छ। विस्थापित परिवारलाई गाँस,बास र कपासको समस्या भएको स्थानीयहरूले बताएका छन्।

पहिरोले पुर्‍याएको क्षति विवरण संकलन गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.