|

काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। डा. केसीले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाएका हुन्।

प्रधानमन्त्री देउवाले केही दिनअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। राज्यमन्त्री श्रेष्ठ निजी विद्यालय तथा अस्पताल व्यवसायी हुन्। डा. केसीले पठाएको पत्रमा मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि समस्याको चाङ भएको भन्दै सरकारका सुरुवाती गतिविधिले पहिलो गाँसमा ढुंगा लागेको उल्लेख छ।

उनले देउवालाई पठाएको पत्रमा भनिएको छ‚ 'नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन्। नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्। अब उपरान्त व्यापारी वा व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस खुवाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्।'

यस्तै‚ उनले  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गर्न समेत माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.