संक्रमणदर बढ्दैछ, जोखिम धेरै छ : डा. अधिकारी

|

काठमाडौं : असोजको दोस्रो हप्ताबाट कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यमा थप क्षति हुन नदिन आवश्यक तयारी थालेको छ।

कोरोना विरुद्धको खोप अभियान चलिरहेको अवस्थामा मन्त्रालयले तेस्रो लहरसँग जुध्न तयारी तीव्र पारेको हो। 

मन्त्रालयले अहिलेको अवस्थामा सुधार नआए आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिसकेको छ।

नयाँ थपिने संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र ती मध्ये ९ हजार ७९३ लाई सघन उपचार गर्नुपर्ने प्रक्षेपण मन्त्रालयको छ।

९ हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन

सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै सरकारले थप ९ हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न संघ तथा प्रदेशलाई निर्देशन दिएको छ।

मन्त्रालयले आज स्वास्थ्य सेवा विभाग तथा सातवटै प्रदेशलाई पत्र पठाउँदै विभागमा थप २ हजारवटा र प्रदेशमा कम्तिमा १ हजारवटा अक्सिजन सिलिण्डर राख्न निर्देशन दिएको हो।

कोरोनाको दोस्रो लहर फैलँदै गर्दा अक्सिजन व्यवस्थापन नहुँदा नेपालमा थुप्रै संक्रमितको ज्यान गएको थियो। यसपटक त्यस्तो अवस्था निम्तिन नदिन अहिलेदेखि नै आकस्मिक प्रयोग गर्न अक्सिजन सिलिण्डर भरेर राख्न मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले निर्देशन दिइसकेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए।

संघ र प्रदेशमा क्रमश: २ हजार र १ हजारका दरले अतिरिक्त अक्सिजन सिलिण्डर भरेर राख्न, अक्सिजन प्लान्टहरू चुस्त बनाउन, अक्सिजन संकलन गरेर राख्न, प्लान्ट र लिक्विड ट्यांक बिग्रिएको छ भने बनाउन, जडान बाँकी भए गरिहाल्न मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिइसकेको छ।

जनशक्ति व्यवस्थान गर्न निर्देशन

नेपालमा कोरोनाको दोस्रो लहर फैलँदा संक्रमणदर उच्च तहमा पुगेको थियो। पछिल्ला दिनमा सो दर ओरालो लागेर स्थिर अवस्थामा आइपुगेको मन्त्रालयले जनाएको थियो।

तर, संक्रमणदरको ग्राफ केही दिनयता फेरि उकालो लागिरहेको छ। अर्थात, नेपालमा महामारीको तेस्रो लहर फैलने जोखिम बढ्दै गइरहेको छ।

तेस्रो लहर फैलिइहाले त्यसविरुद्ध जुध्न सबै अस्पतालहरूलाई बेलैमा जनशक्ति व्यवस्थापन गर्नसमेत मन्त्रालयले निर्देशन दिइसकेको डा. अधिकारीले बताए।

‘पछिल्ला दिनहरूमा महामारी नियन्त्रणका मापदण्ड पालना गर्नेहरू कम हुँदै गएका छन्‌ भने अर्कातर्फ संक्रमण ग्राफ उकालो लाग्दैछ। यसकारण हामी तेस्रो लहरको जोखिममा छौँ। त्यसैले स्थिति मध्यनजर गर्दै सबै अस्पतालहरूलाई जनशक्ति र उपकरणहरूको उचित व्यवस्थापन गर्न भनिसकेका छौँ।‘

खोपले तोड्नसक्छ संक्रमण चक्र

तेस्रो लहरको जोखिम बढ्दै गएपनि हाल कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ। संक्रमणको चक्र तोड्न खोपले महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताइरहेका छन्‌। 

तर, हाल पूर्ण खोप लगाउनेहरू कम रहेको हुँदा अझै सर्तकता अपनाउनुपर्ने डा. अधिकारीको भनाइ छ।

उनले भने, ‘पूर्ण खोप लगाएको दुई हप्तापछि खोपले काम गर्न थाल्छ। जसकारण संक्रमण चक्र तोड्न सहज हुन्छ, तर अहिले पूर्ण खोप लगाउनेहरू कम छन्‌, संक्रमणदर बढ्दैछ, जोखिम धेरै छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.