दोस्रो तहका नेताहरूको दबाबले विवाद समाधान प्रयासरत

|

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहको नेताहरूले निरन्तर दबाब दिइरहे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध एकपछि अर्को गर्दै बिग्रँदै गइरहेको छ। 

पार्टी एकतालाई जोगाएर जानुको विकल्प नभएको दाबी गर्दैगर्दा ओली र नेपालको कारणले एकताको वातावरण बिथोलिरहेको छ।

विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमतिमा समेत नेता नेपालको असहमतिले गर्दा एकता पर धकेलिएको छ। तर, आइतबार र सोमबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले पार्टी एकता प्रक्रियालाई छिटो टुंगाउनुपर्ने निष्कर्ष निकालेको थियो। 

त्यसो त एमाले प्रवक्ता प्रदीप ज्ञवाली कार्यदलले तयार पारेको १० बुँदे सहमतिको आधारमा रहेर एकता अघि बढ्ने बताउँछन्। 

‘हामीले उहाँहरूको मागबमोजिम पार्टीलाई ०७५ जेठ २ मै फर्काएर पार्टीको बैठक राखेका थियौँ। तर, उहाँहरू आउनुभएन’ प्रवक्ता ज्ञवाली भन्छन्, ‘उहाँहरूको लागि अब धेरै कुरेर बस्न सकिँदैन। तत्काल नआए पार्टी एकताको ढोका खुला राखेर जान्छौँ। उहाँहरू पार्टीमा जुन दिन फर्किनुहुन्छ त्यही बेलामा जिम्मेवारी दिन्छौँ।’ 

नेता नेपाल विपक्षी गठबन्धनमा लागेर पार्टीको सरकार ढाल्ने खेलमा लागे पनि पार्टी जोगाएर जानुपर्छ भनेर आफूहरूले पहल गरिरहेको उनको भनाइ छ। 

नेता नेपालकै कारणले सत्ताबाट बहिर्गमन भएका ओलीको भनाइबाट एकताको वातावरण बिग्रेको थियो। तर, पछिल्लो समय दोस्रो तहको नेताहरूको दबाबको कारणले ओली पनि एकतामा लचक हुँदै आएका छन्। 

बालुवाटारबाट बालकोट पुगेलगत्तै नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका अध्यक्ष ओलीले सच्चिएर आए सबैलाई पार्टीमा स्थान दिइने बताउन थालेका छन्। 

ओली र नेपालबीच विवाद समाधान गरेर एकता जोगाउनका लागि दोस्रो तहका नेताहरूले मात्रै नभएर दुवै पक्षका सांसदहरूले साथ दिएका छन्। एमाले विभाजनको प्रयत्न भइरहेको भन्दै करिब तीन दर्जन बढी  सांसदले शिर्ष तहमा दबाव दिइरहेका छन्। 

ओलीको लचकता !

सत्ता बहिर्गमन अघि आफ्नो अडानबाट पछि फर्कन नचाहेका ओली पछिल्लो समय पार्टी एकताको लागि हदैसम्म लचकता अपनाउने अवस्थामा पुगेका छन्। 

साउन ४ गतेको केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई कारवाहीको लागि स्पष्टिकरण सोधेको थियो। तर, पार्टी एकता बिथोलिन सक्ने भन्दै स्पष्टीकरणलाई अगाडि नबढाएर ओलीले एकतामै बल गरिरहे। 

सहमतिपछि साविकको नेकपामा झैं ओलीले एकलौटी हक जमाउन सक्ने आकलनसहित नेता नेपालले पावर सेरिङको अडान राखेका छन्। नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन राजी भएका ओलीले गत बिहीबार बराबरी हैसियतको दुई अध्यक्षसहितको व्यवस्था गर्ने गरी विवाद समाधानको प्रस्ताव लिएर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेपाल निवास कोटेश्वरमा पढाएका थिए। 

दोस्रो अध्यक्ष अस्वीकार गरेको नेता नेपालले पार्टीमा समान हैसियत खोजिरहेका छन्। समान हैसियतबिना सहमति गरेर गएको खण्डमा ओलीले आगामी दिनमा पुरानै व्यवहारलाई निरन्तरता दिने नेताहरूको भनाइ छ। 

पार्टीमा नेता नेपालको मात्रै नभएर एक व्यक्ति एक पदको एजेण्डालाई कार्यान्वयन गरेर गए पार्टीभित्रको विवाद समाधान हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछन्। भन्छिन्, ‘हामी पार्टी एकताको विपक्षमा कहिल्यै छैनौँ। पार्टीलाई विधि, विधान र पद्धतिअनुसार चलाउनुपर्छ। अनुसाशित र मर्यादित बनाएर जानुपर्छ भन्ने हाम्रो कुरा हो।’

आममाफी र बडामहाराजाधिराजको संज्ञा!

ओलीको अहंकार र नेता नेपालको कुण्डाको कारणले एमाले विवाद तत्कालै मिल्ने छाँट छैन। ओलीले बिहीबार पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा आफ्नो सरकार ढाल्न निर्णायक भूमिकामा खेलेका नेपाल समूहलाई आममाफी दिने घोषणा गरे। 

‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइएको छ)’ ओलीको भनाइ थियो। 

पद र स्वार्थलाई छाडेर देश र जनताका समस्याका केन्द्रित हुन एकजुट भएर लाग्न आग्रह गरिरहे। कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति बेहोरेकाले फेरि एकजुट भएर बढ्नुपर्ने उनको मत थियो। 

तर, आममाफी दिएको घोषणा गरेपछि नेता नेपालले ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिएका थिए। 

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भनेका थिए, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी गद्‌गद् भयौं!’

‘महाराजाधिराज खुसी हुनुभएको छ । हामीलाई आममाफी मिलेछ। नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो। यही हो पद्धति? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ?’ उनको भनाइ थियो। 

माधव नेपाललाई बढ्दो दबाब 

नेता नेपाललाई पार्टी एकता जोगाउने विषयमा दोस्रो तहको नेताहरूको बढ्दो दबाब छ। ओलीको चर्काे आलोचना गर्दै आइरहेको उपाध्यक्ष भीम रावलको ‘युटर्न’पछि नेता नेपाललाई दबाब थपिएको छ। 

नेपालबाट रावल मात्रै नभएर योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायत नेता मध्यमार्गी भूमिकामा देखिएका छन्। 

देउवालाई विश्वासको मत दिएर नेपाल समूहमा खुलेका प्रेम आलेसहित ८ सांसदहरूको साथ पाएका नेता नेपाललाई तेस्रो तहका नेताहरूको बलियो आड छ। तेस्रो तहका नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायत नेताहरू अझै चर्का रुपमा प्रस्तुत भइरहेका छन्। 

तर, दुई दिनसम्म चलेको नेपाल समूहको स्थायी कमिटीको बैठकमा नेता नेपालले आफ्नो नेताहरूलाई सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

उनी भन्छन्, ‘हामी पार्टी एकताको पक्षमा छौँ। १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर नमिलेका कुराहरू मिलाएर जानुपर्छ भनेर लागिरहेका छौँ। एकता जोगाउन हामीले अनौपचारिक छलफल पनि गरिरहेका छौँ।’

तर, नेता नेपाललाई १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर जान दबाब भइरहे पनि ओलीको भनाइप्रति विश्वस्त हुन नसकेका नेपाल पक्षका नेताहरू बताउँछन्। नेताहरूको चर्को दबाब आइरहेको भए पनि ओलीले सहमति कार्यान्वयन गर्नेमा ढुक्क हुन सकेका छैनन्। 

पार्टी एकताको पहल भइरहेपनि नेता नेपालले विपक्षी गठबन्धनको छलफलमा सहभागी हुन छाडेका छैनन्।

विपक्षी गठबन्धनको केही बैठकमा अनुपस्थित भएका नेता नेपाल पछिल्लो बैठकमा सहभागी भइरहेका छन्। त्यसो त नेता नेपाल समूहलाई पनि सरकारमा लैजाने प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.