|

धनकुटा : धनकुटा–१, सिजाली टोलका तेजकुमार सिजाली मगरको घर तलको बारीभरि टनेल घर छ। सो टनेल घरमा अचेल मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्‌गारिक तरकारी उत्पादन हुन्छ।

टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानी समेत गराएको छ। यो क्षेत्र लेकाली भएकाले गर्दा यहाँको मौसम चिसो हुन्छ।

‘चिसोका कारण अहिलेसम्म पनि गोलभेँडा फलाउन सकेका थिएनौँ। तर टनेल घर निर्माण गरेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलायौँ। आफूले पनि उपभोग गर्‍यौँ, बिक्री पनि गर्‍यौँ,’ उनले भने, ‘सधै किनेर मात्रै खाने हामी गाउँभर गोलभेँडा फलाएर बिक्री गरेर हातमा पैसा थाप्दा खुसी मात्र लागेको छैन, छक्क परेका छौँ।’

यूएनडीपी, धनकुटा नगरपालिका र पर्डेप नेपालबाट सहयोग प्राप्त भएपछि धनकुटा–२ भीरगाउँका प्रेमबहादुर पाठकले गत वर्ष चैत्रमा टनेल घर निर्माण गरे। लगत्तै वैशाखमा उनले टनेल घरमा गोलभेँडा रोपे। रोपेको एक वर्ष वितिसक्दा पनि अहिलेसम्म गोलभेँडाले उत्पादन दिइरहेको उनको भनाइ छ।

बाहिरको खुला वातावरणमा भन्दा टनेल घर भित्रको बिरुवा लामो समयसम्म रहने मात्रै उत्पादन पनि धेरै दिने उनले अनुभव गरेका छन्‌। टनेलभित्र फलेको गोलभेँडा बिक्रीबाट एकै सिजनमा ९० हजार रुपैया आम्दानी गरेको पाठक बताउँछन्‌।

​उनले दाताको सहयोगमा एउटा टनेल घर बनाए। मनग्य आम्दानी हुन थालेपछि व्यक्तिगत लगानीमा ९ वटा टनेल घर थपे। उनले भने, ‘टनेल भित्रको फल हेर्दा राम्रो र सफा हुने भएकोले गर्दा सबै उपभोक्ताको रोजाइमा परेको छ।’

धनकुटा–३ पात्लेका कुलबहादुर कार्की पनि अचेल टनेल घरमा तरकारी फलाएर मनग्य आम्दानी गर्छन्‌। दशकौँ अघिदेखि तरकारीको व्यवसायिक खेतीमा उनी संलग्न छन्‌। बाहिरको खुला वातावरणमा भन्दा टनेल घरमा तरकारी फलाउँदा उत्पादन दोब्बर र भाउ राम्रो पाएको उनी बताउँछन्‌। 

यूएनडीपी र धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा पर्डेप नेपालको व्यवस्थापनमा आर्थिक वर्ष ०७६/७७ मा क्लाइमेट स्मार्ट भिलेज र आर्थिक वर्ष ०७७/७८ मा कोभिड–१९ रेसपोन्स र सोसियल इकोनोमिक रिकभरी प्रोजेक्ट नामको कृषि कार्यक्रम पेसालाई बढावा दिई रोजगारीका अवसर बढाउने प्रयास गरिएको थियो। किसानलाई उपलब्ध गराएको सहयोगबाट उनीहरूले उत्साहजनक रूपमा तरकारी उत्पादन गरिरहेका छन्‌।

​सो कार्यक्रम अहिले नगरका १, २, ३ र १० वडाका करिब एक हजार घरधुरीमा सञ्‍चालन भइरहेको छ। यूएनडीपीले कार्यक्रममार्फत टनेल घर निर्माणमात्रै होइन-रोप्नका लागि गोलभेँडा, ढेडे खुर्सानी, हात्तीसुँढे खुर्सानी, ब्रोकाउली, काउली, रायोको साग जस्ता वालीका बीउबिजन समेत निःशुल्क उपलब्ध गराएको थियो।

टनेल निर्माणको प्राविधिक पक्ष लागत र खेती सम्वन्धी तालिम समेत संस्थाले दिलाएको परियोजना संयोजक मीनप्रसाद सुवेदीले बताए। गत वर्षको श्रावण १८ गतेदेखि सञ्‍चालन शुरू भएको कार्यक्रम मे ३१ सम्म सञ्‍चालन भएको सुवेदीले जानकारी दिए।

हाल कार्यक्रम सञ्‍चालन भइरहेको धनकुटा नगरपालिका क्षेत्रका चारवटा वडाका हरेक घरमा टनेल घर छन्‌। टाढाबाट हेर्दा घरैपिच्छे टनेल घर देखिन्छ। टनेलभित्र तरकारी फलेका छन्‌। फलेका तरकारीले त्यहाँको दृश्य नै हरियाली देखिन्छ।

कार्यक्रमअन्तर्गत नगरका ४ वटा वडामा एक हजार घरधुरीमा प्लाष्टिक टनेल हाउस खरिद तथा निर्माण गरिएको छ। त्यस्तै टनेलमा खेती गर्न उन्नत बीउबीजन वितरण गरिएको छ। 

किसानले फलाएको तरकारी बजारसम्म लैजान र कृषिजन्य सामाग्री ल्याउन सहज होस्‌ भन्ने उद्धेश्यले वडा छनौंट गरी ३ वटा टेम्पो लागत साझेदारीमा वितरण गरिएको थियो। 

त्यस्तै धनकुटा–२, चोक्रोकमा तरकारीका स्वस्थ बिरुवा उत्पादन गर्न नर्सरी पोली हाउस निर्माण गरिएको छ। किसानले फलाएको तरकारी बिक्री वितरणमा सघाउ पुर्‍याउने उद्देश्यले धनकुटा–१, सिजाली गाउँमा मोडल तरकारी संकलन केन्द्रसमेत निर्माण गरिएको हो।

कार्यक्रम सञ्‍चालन भएको वडाको ८ स्थान छनोट गरी हाइटेक भेजिटेबल फार्मिङ निर्माण गरिएको छ। रोजगारमूलक कार्यक्रम अन्तर्गत निम्न आय भएका ३० घरधुरी छनोट गरी बंगुर र कुखुरा निःशुल्क प्रदान गरिएको थियो। त्यस्तै, सहकारी तथा समूह व्यवस्थापन तालिम समेत प्रदान गरिएको थियो। 

त्यसो त धनकुटा–३ सिप्तिङका भक्त मल्लले हाइटेक भेजिटेबल फार्मिङमा एभोकाडोको कलमी ३ हजार ५०० र कटुसको ५०० वटा नर्सरी तयार गरेका छन्‌।

​एउटा कलमीको कम्तिमा ५०० धनकुटा–३ स्थित सिप्तिङका कृषक कृष्णबहादुर खत्रीले एभोकाडोको कलमी गरेको नर्सरीमा करिब ३ हजार २०० बिरुवा  रहेको छ। लगभग ८० प्रतिशत बिरुवा हुर्कने अवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.