‘राष्ट्रघातविरुद्ध आक्रोशको ज्वाला सजिलै निभ्दैन’
‘राष्ट्रघातविरुद्ध आक्रोशको ज्वाला सजिलै निभ्दैन’
काठमाडौं : २०७७ जेठ २७ गतेको दिन। स्थान : माइतीघर। मुद्दा : एमसीसी विरूद्धको प्रदर्शन। ९० जनाको टोली।
सोही टोलीमा थिए निर्ग नवीन। उनको टोली सिंहदरबारको घेरा तोड्न चाहन्थ्यो र शासकहरूलाई एमसीसीविरूद्ध युवाहरूको आक्रोश सुनाउन चाहन्थ्यो। सत्तालाई यो सम्झौताको पक्षमा कुनै पनि काम नगर्न खबरदारीको औँला देखाउन चाहन्थ्यो।
आक्रोशित युवाहरूको समूहलाई प्रहरीले रोक्न खोज्यो। एमसीसीविरूद्ध आक्रोशको आँधी बोकेका युवाहरूलाई प्रहरीले तितरवितर गर्न लाठी चार्ज गर्यो। १६ जना युवाहरूले प्रहरीको कुटाइ र भाटा खाए। ती मध्ये नवीनलाई टाउको, शरीरको पछाडि गम्भीर चोट लाग्यो, हात भाँचियो।
उनी बेहोस भए।
७ बजे होस खुल्दा उनले आफू ट्रमा सेन्टरमा रहेको थाहा पाए। होस खुलेपछि कोठा फर्के। तर, टाउकोमा लागेको चोट र भाँचिएको हातले दु:ख दिन थाल्यो।
२ दिनपछि अन्नपूर्ण न्यूरोमा पुगे। औषधि प्रयोग गरिरहेका थिए। केही निको भएपछि पुन: उनी आन्दोलनमा होमिए।
बालुवाटार घेराउको क्रममा उनी पुनः प्रहरीको निशानामा परे। पुरानो घाउमाथि नयाँ घाउ थपियो। टिचिङ अस्पतालमा २ दिन उपचार गरे। घाइते भएका उनी ६ दिन होटलमै बसे।
निर्ग अहिले पनि समय समयमा बेहोस भइरहन्छन्। गएको असार ३१ गते मात्र पनि उनी बागबजारको व्यस्त सडकमा बेहोस भएका थिए। एमसीसीको विरोधका क्रममा पाएको चोटको असर अहिले पनि बेला बेला देखिरहन्छ। तर, उनलाई यो चोटसँग कुनै गुनासो छैन।
'मैले नभए अरू कसैले चोट सहनुपर्थ्यो। मैले चोट खाएँ, यसमा मलाई गुनासो छैन। मेरो माग यति मात्र हो कि राष्ट्रघाती सम्झौता संसदबाट पारित हुनुहुँदैन,' नवीन सुनाउँछन्, 'एमसीसी राष्ट्रघाती सम्झौता हो, यो अहिले नेपाली जनसमुदायले बुझेको तथ्य हो। कतिपयले यसलाई देशको विकाससँग जोडेर हेरिरहेका छन्, तर वास्तवमै यो राष्ट्रघाती छ।’
सडकमा एमसीसीप्रति दिनहुँजसो विरोध सुनिन्छ। हरेक दिनजसो माइतीघरमा एमसीसीविरूद्ध नारा घन्किन्छन्। नवीनजस्ता युवपङ्क्ति एमसीसीविरूद्ध विगतदेखि नै सडकमा स्वत: निस्किरहेका थिए र छन्।
ती युवाहरूमाझ नवीन अचेल भेटिँदैनन्। एमसीसीको विरोधका क्रममा गम्भीर घाइते भएका नवीन अहिले बन्द कोठामा सीमित छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। शरीरमा असंख्य घाउ छन्। त्यो भन्दा बढी सत्ताले एमसीसी पास गर्छ भन्ने विषयले मन पोलेको छ।
'मेरो शरीर स्वस्थ भएको भए म सडकमा हुन्थेँ। तर, अहिले बन्द कोठामा छु। पहिले सडकबाट सत्तालाई खबरदारी गरिरहेको थिएँ। अहिले सामाजिक सञ्जालको माध्यमबाट खबरदारी र युवाहरूलाई एकताबद्ध गर्ने कोसिस गरिरहेको छु', उनी सडकमा जान नपाएको चिन्तालाई प्रकट गर्छन्।
सचेततापूर्वक नेपाली समाजका अन्तर्विरोधहरू आर्थिक राजनीतिक र सामाजिक सांस्कृतिक असमानताविरूद्ध आफ्नो पुस्ताले पनि लड्न जरूरी भइसकेको उनी सुनाउँछन्। यहाँको राजनीतिक सामाजिक असमानता व्यवस्थाको गर्भमा रहेको उनको निष्कर्ष हो।
त्यसमाथि एमसीसीको कुराले उनलाई पिरोलिरहेको छ। ‘एमसीसी भित्रको अन्तरनिहीत विषय र अमेरिकाको हिन्द-प्रशान्त रणनीति (इन्डो-प्यासिफिक स्ट्राटेजी-आइपीएस)सँगको सम्बन्धलाई अलि मसिनो गरेर हिसाब गर्ने हो भने यसले देशलाई एम्बुसको मुलुक बनाउने निश्चित छ। यो देशलाई कसैलाई प्रयोग गर्न दिनु भनेको हामी थप संकटमा पर्नु हो। एमसीसीमार्फत अहिले यो राष्ट्रघात हुँदैछ। यसविरूद्ध हामीले आवाज बुलन्द पारेनौँ भने भोलिको पुस्ताले सधैँभरी हामीलाई सराप्नेछ’, उनी चिन्तित मुद्रामा बोल्छन्, 'हामी प्रहरीको बुट खान तयार छौँ, गोली खान तयार छौँ, तर, कुनै मुलुकको कठपुतली हुन तयार छैनौँ।'
अमेरिकी परियोजनाले देशको जलस्रोत र बिजुलीलाई बहुराष्ट्रिय कम्पनीको हातमा पार्ने निश्चित रहेको उनले बताए। 'देशको भूगोल सैनिक सामरिकताको हिसाबले दुरूपयोग हुनेछ। देशलाई एम्बुस एरिया बनाउने प्रयत्न आज भइरहेको छ', उनी भन्छन्, ‘यो प्रयत्नविरूद्ध बलशाली प्रतिरोध गर्न ढिला भइसकेको छ। राष्ट्रियताको विषयमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समयमा यसो हुन सकिरहेको छैन, तर हामी यसविरुद्ध लडिरहन्छौँ, आम जनतालाई सचेत पारिछाड्छौँ र राष्ट्रघाती परियोजना विफल बनाइछाड्छौँ।’
एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन गर्दै निर्ग नवीन र उनका साथीहरू। तस्वीर : असीम थापा
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले एक 'योहो टेलिभिजनका प्रसारित 'सत्य संवाद' अन्तर्वार्तामा एमसीसीजस्ता धेरै सम्झौता नेपालमा भएका छन्, कुनै संसोधन विना आँखा चिम्लेर पास गरे हुन्छ भन्नुभएको छ। अहिले एमसीसीको विरोध तपाईंले गरिरहँदा चोट बोकेर हिँडिरहनुभएको छ। एउटाले पास गरिदिए हुन्छ भन्ने, अर्को चोट बोकेर हिँड्नुपर्ने त विडम्बना भयो नि!
एमसीसी अन्य आर्थिक सहायता परियोजनाजस्तो परियोजना होइन। यसलाई हामीले ४-५ वटा पाटोमा हेर्नुपर्ने हुन्छ। राष्ट्रिय स्वाधीनताको स्थिति, परराष्ट्र नीति, भू-राजनीतिक सुरक्षा रणनीति लगायतमा घोत्लिँदा एमसीसीभित्र रहेका विषय हेरेर यो किन अन्यभन्दा फरक हो भन्न सकिन्छ। म दुईवटा पाटोबारे बताउँछु। एउटा आइपीएससँगको सम्बन्ध, दोस्रो एमसीसीभित्रको अन्तरनिहीत विषय के छ भन्नेबारे।
एमसीसी आइपीएसको अभिन्न अंग हो। अमेरिकाले आइपीएसमार्फत हिन्द-प्रशान्त क्षेत्रको भूराजनीतिलाई लाई कभर गर्न सैन्य सुरक्षा रणनीतिमा जोडेको छ। तर, हाम्रो राष्ट्रिय नीति भनेकै असंलग्न परराष्ट्रनीति हो। कुनै पनि सैन्य गठबन्धन (एलायन्स) मा अहिलेसम्म नेपाल छैन र रहन्न भन्ने छ। त्यो कारणले गर्दा हामी इण्डो प्यासिफिकसँगको अभिन्न अंग एमसीसीमा सहभागी हुनुहुन्न। एमसीसी इण्डो प्यासिफिकको एक अंग हो भन्ने कुराको प्रमाण यथेष्ट छ। थुप्रै अमेरिकी अधिकारीले नेपाल भ्रमण क्रममा, भियतनाम भ्रमण क्रममा, ट्रम्प प्रशासनको सन् २०१७ को रिपोर्टमा एमसीसी इण्डो प्यासिफिकको एक अंग हो भनेको छ। त्यसैले अमेरिकी सैनिकको गठबन्धनमा हामी जानुहुँदैन।
दोस्रो कुरा-एमसीसी नेपाल आउन चाहनुको भित्री कुरा के हो भने यहाँको ऊर्जा क्षेत्रलाई बहुराष्ट्रिय (मल्टिनेशनल) कम्पनीको हातमा बुझाउने। जसरी अहिले विद्युत् प्राधिकरणले उत्पादन र वितरणको काम आफैँ गरिरहेको छ, यसलाई सिध्याउने!
प्राधिकरणभित्र पनि लामो समयदेखि एउटा तयारी भइरहेको छ। बहुराष्ट्रिय कम्पनीका मालिकहरू, जसमध्ये पनि अमेरिकी लगानीकर्ताको हातमा नेपाली ऊर्जा क्षेत्रलाई पार्ने र एकाधिकार निर्माण गर्ने योजना देखिन्छ।
अर्को कुरा सडकको कुरा पनि छ। हाम्रो देशको सैनिक सामरिकता महत्वपूर्ण छ। दुई ठूला शक्ति देशको बीचमा हामी छौँ। दुई शक्ति-एक टकराव अन्तरराष्ट्रिय राजनीतिमा पनि देखिरहेको छ। हाम्रोजस्तो सानो देशलाई सैनिक सामरिकताको दृष्टिकोणले पनि दुरूपयोग गर्ने हिसाबले योजना आएको छ। यदि यो सामान्य सहायता परियोजना हो भने त अर्थ मन्त्रालय अन्तर्गतको एउटा सहसचिवले पास गरे भइहाल्थ्यो त! किन यसलाई संसदबाट अनुमोदन खोजिरहेको छ त? संसदबाट पारित भयो भने यो कानूनको रूपमा आउँछ। हाम्रो आत्मनिर्णयको अधिकार र राष्ट्रिय स्वाधीनता खुम्चिन्छ।
एमसीसीको कम्प्याक्ट र नेपालको संविधान बाझियो भने त्यो सम्झौता नै लागू हुनेछ। कुनै पनि सम्झौता संविधानको सर्वोच्चताभन्दा ठूलो हुनसक्दैन। संविधानसँग बाझिने कुरा यो सम्झौताभित्र छ। यो सैन्य रणनीतिको अंग बनेर नेपालको स्रोत र साधनलाई दोहन गर्ने र साम्राज्यवादीहरूले नेपाली जनतालाई गरिब बनाउने योजना देखिन्छ। अन्य विषयमा पनि एमसीसीको नजर छ भन्ने आएको छ। अहिले भने नेपालको जलविद्युतमाथिको एकाधिकार कायम गर्ने ग्राण्ड डिजाइनका रूपमा यसलाई लिन सकिन्छ।
प्रहरीसँगको मुठभेडमा छोडिएको नवीनको जुत्ता, तस्वीर : असीम थापा
विरोधको स्वर र तपाईंको कुरा सुन्दा एमसीसी विरूद्धको आक्रोश शान्त हुने लक्षण देखिँदैन, अब आन्दोलन कसरी अघि बढ्छ?
यो जटिल समय हो। अहिले प्रचण्ड स्वयम् एमसीसी पारित गर्न लागिपर्नुभएको छ। केही दिनअघि अमेरिकी राजदूतलाई भेट्नुभयो। कांग्रेस त एमसीसी पास गर्न कम्मर कसेर लागिपरेको छ। अझ संसद्बाट संकल्प प्रस्ताव पारित कुरा आइरहेका छन्। यो पटक पास भएन भने कुनै पनि समयमा पास गर्ने भनेर एमसीसीलाई संकल्प प्रस्तावका रूपमा राख्ने कुरा सुनिँदैछ।
तर, नेताहरूले बुझुन्-राष्ट्रघात हुँदै गर्दा त्यसविरुद्ध उठेको आक्रोश कुनै हालतमा निभ्ने छैन। मनलाग्दी गर्ने हो भने प्रतिरोध सहन तयार भएर बसे हुन्छ। जनता जागे भने खराब शासकहरू जस्तासुकै सुरक्षा घेराभित्र सुरक्षित रहन सक्दैनन्।
हामीजस्ता युवाहरूले अमेरिकी साम्राज्यवादीको चलखेलमा देशलाई पर्न दिनुहुँदैन, दिनेछैनौँ। प्रतिरोध निरन्तर जारी छ। हाम्रो पुस्ता यसका लागि तयार हुनुपर्छ। हामीले एमसीसीलाई लखेट्न जरूरी छ। नेपालको ऊर्जा क्षेत्रलाई बहुराष्ट्रिय कम्पनीको हातमा सुम्पने षडयन्त्र हामीलाई स्वीकार्य छैन।
अहिले एमसीसीविरूद्ध विभिन्न समूह, अझ पक्षधरहरूको भाषामा टुक्रे ग्याङहरू देखिन्छन्, राष्ट्रियताको पक्षमा लड्न एकताबद्ध हुन हामी किन सकिरहेका छैनौँ?
अहिले विभिन्न पक्षहरूबाट एमसीसीको विरोध भइरहेको छ। तर, उहाँहरू एमसीसी मुर्दावाद भनिरहँदा राजा आउ देश बचाऊ, गणतन्त्र मुर्दावाद पनि सँगसँगै भनिरहनु भएको छ। तर, हामीले साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध हेर्नुपर्छ।
साम्राज्यवादी शक्तिले हिजो देखि उत्पीडित राज्यमा आर्थिक-राजनीतिक-सांस्कृतिक दमन गरिरहेको थियो। र; आज कसरी गरिरहेको छ भन्ने कुरा हो। हाम्रो अभियान साम्राज्यवाद विरूद्धको अभियान हो।
अन्य साथीहरूको अभियानलाई हामीले कन्भिन्स गर्नसकेका छैनौँ। त्यो बहसमा हामी गएका पनि छैनौँ। यो हाम्रो कमजोरी होला। उहाँहरूले र हामीले गर्ने विरोधमा एकरूपता छैन। हामी राष्ट्रवादी होइनौँ, देशभक्त हौँ।
युवाहरू हरेक व्यवस्थाविरुद्ध लड्दै र बलिबेदीमा चढ्दै आएका छन्, चाहे त्यो विद्यार्थीको हकमा होस् या बौद्धिक जमातका रूपमा! तर, हामीले खोजेजस्तो त भइरहेको छैन, किन यसो भइरहेजस्तो लाग्छ तपाईंलाई?
आन्दोलन कुनै एक पुस्ताले मात्र लडेर पुग्दो रहेनछ। समाज जसरी हिँडिरहेको छ-यहाँभित्र अन्तरविरोधहरू निम्तिइरहने र हरेक पुस्ताले हरेकपटक प्रतिरोध गर्ने चेतना, ज्ञान र आत्मविश्वास हुनुपर्ने रहेछ।
यो निरन्तरता अहिलेको पुस्ता हो। नेपालको परिप्रेक्ष्यमा २००७ सालयता निरन्तर त्यस्ता आन्दोलन तिनै मुद्दामा र तिनै मागमा भइरहेको छ, जुन अचम्मलाग्दो विषय हो। समानता चेतनाका लागि जनयुद्ध भयो। विडम्बना आज दलितले कोठा पाउन नसकेका घटना छन्। हामीले निर्माण गरेको संविधान छ। त्यसका टेकेर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीजस्ता जुन उपलब्धि छन्-त्यो पनि प्रतिगमनतर्फ जाने जोखिम यो समाजमा निम्तिइसकेको छ।
समाजमा केही प्रवृत्ति हुन्छन्। यथास्थितिवादी, प्रतिगामी र अग्रगामी प्रवृत्ति छन्। नेपालमा जहिलेपनि यथास्थितिवादी, प्रतिगामीको शक्तिलाई कुनै पनि आन्दोलनले तोड्न सकिरहेको छैन। यथास्थितिवादी र अग्रगामी शक्तिको बीचबाट गुज्रेको व्यवस्था थप सुरक्षित हुने स्थिति आउनसक्थ्यो। तर विडम्बना : प्राप्त उपलब्धि पनि यथास्थितिवादी र प्रतिगामी शक्तिका कारण किस्ता किस्तामा लुटिने भएको छ।
स्थिति हेर्दा एक नयाँ पुस्ता फेरि आन्दोलनमा लाग्नुपर्ने देखिएको छ। उदाहरण : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरू संगठनहरूले स्थापना कालदेखि नै संघर्ष गर्ने गरेका छन्। राज्यको एक निकायले नियमन गरेर र प्रकृया पुर्याएर मूल्य निर्धारण गर्नुपर्ने हो। कोही कसैको लोभका कारण बढाउन नपाउने नीति निर्माण गर्न सकिरहेको छैन। यो विडम्बनापूर्ण छ।
हामी आन्दोलन निर्माण गर्छौँ। आन्दोलनले मुद्दा अघि सार्छ। तर, स्थापित नहुँदै तुहिने भइरहेको छ। चाहे सीमाको कुरा होस्, चाहे राष्ट्रियताको विषय : हामी निरन्तर लडिरहेछौँ। हिजो पनि लडाइँ भएको थियो, आज पनि भइरहेको छ। र भोलि पनि लडनुपर्ने देखिन्छ। दलका नेताहरू निश्चित स्वार्थमा केन्द्रित हुँदा युवाहरू लडिरहनु परिरहेको छ।
पढ्न सिफारिस :
एमसीसीको मन्द बिष : अमेरिकी नियत बुझौँ, आगत सोचौँ |
तपाईंको ईमेल गोप्य राखिनेछ ।