मन्त्रिमण्डल विस्तार अझै अनिश्चित

|

काठमाडौं : नयाँ सरकार गठन भएको करिब २ सातामै सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको गठबन्धनबाट आफ्नो पार्टी बाहिरिने बताएसँगै गठबन्धन भत्किने संकेत देखापरेको हो।

गठबन्धनमा सहभागी अन्य दलले संघीयतालाई संस्थागत गर्ने सवाल उठाइरहेका र विवादित अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) पारित गर्नेतिर केन्द्रित भएकाले आफूहरू प्रतिपक्षमा बस्ने मनस्थितिमा पुगेको अध्यक्ष केसीको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर सुरुवातमै नराम्रो प्रभाव पारेको उनको आरोप छ। ‘उहाँहरूको भनाइ पटक पटक संघीयतालाई संस्थागत गर्नुपर्छ भन्ने छ, एमसिसी पारित गराउनेतिर उहाँहरूको ध्यानकेन्द्रित छ, थाहाखबरसँग कुरा गर्दै अध्यक्ष केसीले भने, 'सुरुकै इम्प्रेसन राम्रो परेन, स्वास्थ्य राज्यमन्त्री कसलाई बनाउनुभयो? नेपाली जनताले बुझेका छैनन् र?’

‘अहिले सरकारमा भएकालाई पनि हिजो सत्तामा बसेर सुशासन दिन नसकेका त हुन् नि, सबै उस्तै त हुन् भनेर जनताले भनिरहेका छन्।’ अध्यक्ष केसीले थपे, ‘हिजो प्रतिगमनविरुद्ध एक ठाउँमा उभियौँ, अहिले प्रतिगमन पराजित भइसकेपछि पनि सँगै रहनुपर्छ भन्ने त छैन नि।’ एमसिसी र संघीयताको पछि लाग्ने सरकारलाई विश्वास गर्न नसकिने भएकाले आफूहरू प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका खेल्नेमा उनको जोड छ।  

बरु उनले प्रतिपक्षमा बसेर सरकारको गुण र दोषका आधारमा विरोध/समर्थन गर्ने बताए। उनको संकेत एमसिसी र संघीयता संस्थागत गर्न नदिनेतिर नै केन्द्रित रहेको देखिन्छ। 

‘राष्ट्रियता र सुशासन दिनेजस्ता विषयमा सरकारमा गएकाहरूले जब गल्ती कमजोरी गर्छन्, त्यतिबेला विरोध गर्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘हिजो प्रतिगमनविरुद्ध सँगै लड्यौं, त्यतिबेला कार्यगत एकता पनि गर्‍याैं, अहिले यिनीहरूकै सरकार बनेको छ भनेर नराम्रो काम गरेका बेला पनि चुप लागेर बस्ने त होइन न नि, राम्रो गरे समर्थन गर्छौं, विरोधका लागि विरोध गर्दैनौं, नराम्रो गर्नेबित्तिकै खबरदारी गर्छौं, विरोध गर्छौं।’

मन्त्रिपरिषद् विस्तार यसै साता

​जनमोर्चा सरकार नजाने पक्का भए पनि सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ। पहिले जसपाको कारण र अहिले नेकपा एमालेको माधव नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको माओवादी केन्द्रका एक नेताहरू बताउँछन्। 

थाहाखबरसँग माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले सरकार गठनको दुई हप्तासम्म पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको स्वीकार गर्दै यसै साताभित्र यो विषय टुंगिने दाबी गरे। 

कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेसम्म मन्त्रीको नाम टुंग्याउन नसकिने भन्दै उनले यस विषयमा कार्यदलले छलफल गरिरहेको बताए। ‘ढिला भयो, अब यसै साता टुंगिएला, पहिला मन्त्रालय टुंगो लागोस् न,' उनले भने, ‘यसबारे कार्यदलमा कुरा भइरहेको छ, त्यसले टुंग्याउँला।’

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण आफ्नो पार्टीले मन्त्रीको नाम टुंग्याउनुभन्दा नेकपा एमालेका नेता माधव नेपाल समूह रहेको उनको भनाइ थियो। ‘पहिला जसपाको कारण थियो अहिले माधवजीहरूको कारण पनि हो,’ उनले भने।

के भन्छ नेपाल समूह ?

तर माधव नेपाल समूहका नेताहरू भने आफूहरू सरकारमा जानै नमिल्ने तर्क गरिरहेका छन्। नेपालनिकट नेता रघुजी पन्तले आफूहरू पार्टी एकताका लागि लागिरहेको भन्दै सरकारमा जाने कुरै गर्न नमिल्ने बताए। 

तर नेपाल समूह सत्तारुढ गठबन्धनको बैठकमा निरन्तर सहभागी भइराख्नुले भने उसको भूमिकामाथि पनि प्रश्न उठेको देखिन्छ। बुधबार भएको सत्तारुढ गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि विजय पौडेललाई प्रतिनिधि पठाएका थिए। जहाँ पौडेलले तत्कालै आफूहरू सरकारमा सहभागी नहुने बताएको समाचार सार्वजनिक भएका थिए। 

यसबीच प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नेपाल पक्षलाई सरकारमा ल्याउन ताकेता गरिरहेको देखिएको छ। तर नेपालमाथि प्रचण्ड देउवाको दवाबका बाबजुद प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसद नै अब कसरी बढ्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका हुन्। 

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४९ जना सांसदले नै मन्त्री बन्न दबाब दिएका कारण मन्त्री छान्न कठिन भएको सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए। उनको भनाइले पार्टीभित्र मन्त्री छान्न नसक्ने र एकताका लागि जुटेको माधव समूहलाई दोषी देखाएर एकता भाँड्न खोज्ने षडयन्त्रको रुपमा पनि कतिपयले अर्थ्याएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)ले भने पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ। बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।

पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै सरकारमा सहभागी हुन लागेको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.