शक्ति र पहुँचको आडले कानुनको छैन डर

|

म्याग्दी :  दिनमा जंगलभित्र लुकाएर राखिएका डोजर र स्काभेटर रात परेपछि कालीगण्डकी नदीमा ल्याएर नदी उत्खननको काम सुरु हुन्छ।

नदीबाट ढुङ्गा,गिटी, बालुवा निकालिन्छ र नदी किनारामा थुपारेर भोलिपल्ट बिहान उज्यालो नहुँदै ओसारिन्छ।

म्याग्दीको बेनी नगरपालिका १ आनन्द बगर र सारेमारे क्षेत्रको कालीगण्डकी नदी किनारमा  विगत १० दिनदेखि यस्तो दृश्य देखिने गरेको छ।

बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरूबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ। अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाइएको भए पनि बेनी नगरपालिका १ मा पर्ने कालीगण्डकी नदी किनारको क्षेत्रमा भने अवैध रुपमा बालुवा र ढुङ्गा उत्खनन् गरी नदीको दोहन भइरहेको छ।

शक्ति र पहुँचको आड

बेनपा–१ को ढोडेनीखोला, आनन्दबगर, सारेमारे लगायतका स्थानमा एक साता बढी समयदेखि शक्ति र पहुँचको आडमा केही व्यक्तिहरूले धमाधम बालुवा उत्खनन गरिरहेका छन्। ‘खोलाको किनारमा बालुवाको थुप्रो पारिएको छ, दिउँसो जंगलमा लुकाएर राख्ने डोजर र एक्साभेटर रात र साँझ,विहान खोलामा लगेर बालुवा निकाल्न परिचालन गर्ने गरेका छन्,’– स्थानीय एक २२वर्षीय युवाले नाम नखुलाउने सर्तमा भने। उनका अनुसार, बर्खायाममा बस्ती नजीकका किनारमा जथाभावी उत्खनन भएकाले नदी कटानको जोखिम बढेको छ।

कालीगण्डकी नदी किनारमा दिनहुँ अवैध तवरले नदीजन्य पदार्थको उत्खनन भइरहेको भए पनि सम्बन्धित निकायबाट निगरानी हुन नसकेको स्थानीयबासीको गुनासो छ। केही स्थानीय युवाहरुले राजनीतिक पहुँचको आडमा कालीगण्डकी नदीको दोहन गरिरहेका स्थानीयबासीको आरोप छ।

बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले यस आर्थिक वर्षमा नदीजन्य पदार्थको उत्खननका निम्ति ठेक्का प्रक्रिया सुरु नै नभएको बताए। उनका अनुसार, नगरपालिकाले सूचना नै जारी गरेर असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन र संकलनमा रोक लगाइएको छ।

प्रजिअसहितको टोली स्थलगत अनुगमनमा

तर, बगरमा दिनहुँ एक्साभेटर र डोजर लगाएर बालुवा निकाल्ने काम रोकिएको छैन। नदी किनारमा अवैध तवरले बालुवा उत्खनन भएको गुनासो आएपछि मंगलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङसहितको टोलीले स्थलगत अनुगमन गरेका छन्।

ठेक्का सम्झौता नै नभईकन कालीगण्डकी नदीमा बालुवा उत्खनन भएको भेटिएको टोलीमा सहभागी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राईले बताए।

सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको अवस्थामा अवैध तवरले नदी उत्खनन भएको भेटिएको र बगरमा भेटिएका स्काभेटरका सञ्चालकलाई कानुनी दायरामा ल्याउन लागिएको उनले बताए।

‘स्काभेटरको नम्बरसमेत छैनन्, केहीलाई नियन्त्रणमा ल्याइसकेका छौँ, अझै अन्य व्यक्तिहरुको छानविन भइरहेको छ, जम्मा गरिएको बालुवालाई जफत गर्न र प्रयोग भएका स्काभेटरलाई जरिवानासहितको कारबाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ’–प्रनाउ राईले भने। प्रहरीले ढोडेनीमा अनधिकृत रुपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा प्रयोग भएका ध१त ५८० नम्बरको ट्याक्टरसहित एक स्काभेटरलाई नियन्त्रणमा लिएको जनाएको छ।

सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ। यी तीन ठाउँमा चार वटा एक्साभेटर प्रयोग गरि अवैध तवरले नदीको दोहन गर्ने गरेको भेटिएको छ। नदीजन्य पदार्थको उत्खननका लागि सम्बन्धित स्थानीय तहले ठेक्का लगाउनुपर्ने प्रावधान रहेको छ।

पटक-पटक कालीगण्डकी नदीमा अवैध र अव्यवस्थित दोहन हुने गरेको भएपनि शक्ति र पहुँचको आडमा न्यून जरिवाना हुने गरेको कारण यस्ता कार्यहरुले प्रश्रय पाउने गरेको जानकारहरु बताउँछन्।

नगरपालिकाको आम्दानी गुम्ने र बस्ती कटानको जोखिम बढाउने गतिविधि रोक्न र संलग्नलाई कारबाहि गर्नको लागि नगरपालिकाका जनप्रतिनिधि र सुरक्षा निकायहरुबाट हुने उदासिनता र मौनताको यस्ता कार्यहरु रोकिनेभन्दा पनि थप बढ्ने गरेको गुनासा आउन थालेका छन्।

म्याग्दीमा पछिल्लो समय नदीको अवैध दोहनका घटनाहरु रोकथाम र संलग्नलाई कानुनी कारबाहीमा प्रहरी प्रशासनको सक्रियता बढेको छ। यस अघि रघुगंगा, अन्नपूर्ण, मालिका र मंगला गाउँपालिका क्षेत्रमा अवैध र कानुनविपरीत रूपमा भएका नदीजन्य पदार्थको उत्खनन्मा संलग्नहरुलाई आवश्यक कानुनी प्रक्रियाअनुसार जरिवानासहितको कारबाही गरिसकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.