|

शुभनारायण कामती

सिरहा : सामाजिक सुरक्षाको रकम बुझ्न बैंक पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरू सास्ती भोग्न बाध्य भएका छन्। 

सिराहा नगरपालिकाले आठ हजार जनालाई सामाजिक सुरक्षाअन्तर्गत कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, प्राइम बैंक, प्रभु बैंक, सेन्चुरी बैंक, ग्लोबल बैंकसहित सातवटा बैंकमार्फत रकम भुक्तानी दिँदै आएको छ।

सदरमुकाम सिरहामा सामाजिक सुरक्षा रकम बाँड्न बैंकहरूले व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरूलाई चर्को घाममा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ।

गत आर्थिक वर्ष २०७७/०७८ दोस्रो र तेस्रो किस्ताको रकम बुझ्न उनीहरू कोरोनाको जोखिमा मोलेर भीडभाड गरी बैंकको मूल गेटमा लामो लाइन बस्नुपरेको हो। ज्येष्ठ नागरिकहरूलाई सहज र छिटो सुविधा प्रदान गर्नुपर्ने भए पनि चर्को घाममा घन्टौँ कुर्नुपर्ने अवस्था छ। 

स्थानीय तहहरूले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएका छन्‌। तर, विभिन्न वडाबाट सदरमुकाम केन्द्रित बैंकमा आउन पर्दा उनीहरूलाई सास्ती खेप्नुपरेको सिराहा नगरपालिका–१७, माडरका जेष्ठ नागरिकले बताए।

आफूहरू समाजिक सुरक्षा भत्ता लिन बिहान ८ बजे देखि नै बैंकको बाहिर लाइनमा बसेको तर बैंकले लाइन व्यवस्थित गर्न र सहजको लागि कुनै किसिमको ध्यान नदिँदा झन्‌ समस्या भइरहेको सिरहा नगरपालिका वडा नं. २०, लगडिगदियानी का ज्येष्ठ नागरिक फूलो देवीले बताए।

रकम वितरणको जिम्मेवारी लिएको बैंकहरूले व्यवस्थापनमा ध्यान दिन पटकपटक आग्रह गरेपनि पहल नगर्दा अप्ठ्यारो भएको पञ्‍जीकरण (सामाजिक) शाखा प्रमुख सञ्जय यादवले बताए।

तेस्रो किस्तामा ६ करोड ५४ लाख ६२ हजार १४८ रुपैयाँ वितरण गर्न बैंकहरूलाई निकासा पठाएको सामाजिक शाखा प्रमुख यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.