|

अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन्। तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ। 

बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेटघाट भेटवार्ता भएको हो। 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन्। कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए। अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ। 

पाकिस्तानले आफ्ना विदेशमन्त्री र उनका चिनियाँ समकक्षीबीच अफगानिस्तान मामिलामा कुराकानी भएको जानकारी दिएको छ। 

चीनको सरकारी मिडियाहरूका अनुसार चिनियाँ विदेशमन्त्रीले तालिबानी नेताहरूलाई चीन विरोधी आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मूभमेन्टबाट अलग हुन भनेका छन्। 


तस्वीर : CGTN

तालिबानी प्रतिनिधिमण्डलका नेताहलाई पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्ट एक आतंकवादी समूह भएको र संयुक्त राष्ट्रसंघले समेत यसलाई सोही करार गरेको चिनियाँ अधिकारीहरूले बताएका थिए। तालिबानले सो संगठनसँग सम्बन्ध अन्त्य गर्ने चीनको माग रहेको खबरहरूमा उल्लेख छ।

भारतीय मिडिया द हिन्दूका पत्रकार र चीनबारे पुस्तक लेखेका अनन्त कृष्णनले चिनियाँ विदेशमन्त्री वाङ्ग र तालिबानी नेताहरूबीच भएको भेटघाटलाई लिएर ट्वीटरमा लेखेका छन्, 'चीनका विदेशमन्त्रीले तालिबान र आतंकवादी संगठनबीच स्पष्ट फरक देखिनुपर्ने बताएका छन्। तालिबानले पनि आफ्नो भूमिबाट चीनमा कुनै नोक्सानी हुन नदिने प्रतिबद्धता जनाएका छन्।'

द विल्सन सेन्टरका अनुसन्धाता माइकल कुगेलम्यानले पनि यस भेटवार्ताबारे भारतलाई जोडेर ट्वीट गरेका छन्।

ट्वीटमा उनले लेखेका छन्, 'तालिबानी प्रतिनिधिमण्डल चीनसम्म पुग्नु भारतका लागि चुनौती हो। भारतले अफगानिस्तानमा कूटनीतिक पहल बढाउन आवश्यक छ। भारतको एक प्रतिद्वन्द्वी पाकिस्तान पहिलेदेखि नै यस खेलमा सामेल छ र अब चीन पनि संलग्न हुन जाँदैछ।'

समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अफगानिस्तानमा तालिबानले युद्ध अन्त्य गर्ने अपेक्षा राखेको र पुनःनिर्माणमा सघाउन अहम भूमिका निभाउन सक्ने बताएका छन्। 

तालिबानी नीति : हिंसा र वार्ता सँगसँगै

अफगान सरकार र तालिबानबीच हिंस्रक संघर्ष चरम सीमामा पुगिरहँदा चिनियाँ र तालिबानी पक्षबीच भेटघाट भएको हो।

यतिखेर तालिबानी लडाकु पाकिस्तानसँग जोडिने सीमा स्पीन बोल्डाकदेखि ईरानसँगको सीमासम्म पुगिसकेका छन्। सीमा चौकीहरू नै तालिबानले आफ्नो कब्जामा लिएको छ। 

यतिखेर जहाँजहाँ तालिबान छन्, त्यहीँ अफगान सेना, प्रहरी र विशेष कमाण्डोबीच मोर्चाबन्दी लडाइँ भइरहेको छ। 

केही दिनअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद यूसुफले अफगानिस्तानमा अहिले निकै खराब रहेको र पाकिस्तानको नियन्त्रणबाट बाहिर गएको बताएका थिए।

अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिबानका प्रतिमण्डल यसबीच रुस, ईरान र चीनसम्म पुगिसकेका छन्। एसियाका महाशक्तिहरूसँग नरम सम्बन्ध राख्न सक्दा आफूहरूलाई अन्तरराष्ट्रिय मान्यता मिल्ने तालिबानको अपेक्षा छ। अफगान सरकारसँग तालिबानले कतारमा वार्ता गरिरहेको छ। 

तालिबानका प्रवक्ता मोहम्मद नइमले ट्वीटमार्फत दिएको जानकारीअनुसार चिनियाँ पक्षसँग राजनीति र अर्थव्यवस्था लगायत दुवै देशको सुरक्षासँग जोडिएका मामिला, अफगानिस्तानको वर्तमान अवस्था एवम् शान्ति प्रकृयाबारे चर्चा भएको छ।

चीनको शर्त

चीनले तालिबानसँग पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्टसँग सम्बन्ध तोड्नेलगायत विभिन्न शर्त राखेको छ। 

यो संगठनले आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतामा खतरा पैदा गर्ने चीनले बताउने गरेको छ।

तालिबानका नेता मुल्लाह अब्दुल गनीले आफ्नो संगठनले कहिल्यै पनि चिनियाँ हितमा नोक्सान पुग्न नदिन अफगान भूमि प्रयोग गर्न नदिने वाचा गरेका छन्। 

पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्टले वीगर मुसलमानको बाहुल्यता रहेको चीनको शिनजियाङ प्रान्तमा नयाँ विद्रोह निम्त्याउन खोजिरहेको छ। 

शिनजियाङ प्रान्त पाकिस्तान प्रशासित कश्मीर ताजिकिस्तानसँग समेत जोडिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.