|

पर्वत : कोरोना सङ्क्रमणको अवस्था कम भएको रिपोर्टहरू देखिन थालेपछि बजारहरू खुल्दै गए, लामो तथा छोटो दूरीका सवारीहरू पनि सञ्चालनमा आइरहेका छन्।

आम नागरिकलाई साँच्चिकै कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको आभास भइरहेको छ। यही कारण होला सार्वजनिक सवारीमा यात्रा गरिरहेका यात्रु, बजारका व्यवसायी र उपभोक्ता तथा सेवाग्राहीले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू प्रयोग नगर्ने क्रम ह्वात्तै बढेको छ।

जिल्लाका विभिन्न ठाउँमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउनको लागि शङ्कास्पद व्यक्तिहरूको एन्टीजेन परीक्षण र कोहीको स्वाब नै लिएर पिसिआर परीक्षणको लागि पठाउने गरिन्छ। स्थानीय तहहरुले आ–आफ्नै तरीकाले तथ्याङ्क राखिरहेका छन्। सङ्क्रमितको सङ्ख्या उच्च भएको बेलामा दैनिक रूपमा अद्यावधिक विवरणहरू सार्वजनिक गर्दै आएका कतिपय निकाय अहिले मौन छन्। यही कारण पनि जिल्लामा सङ्क्रमणको वास्तविक अवस्था बाहिर आएको छैन।

तर, पर्वत अस्पतालको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने कोरोना सङ्क्रमणको अवस्था भित्रभित्रै फैलिरहेको प्रस्ट हुन्छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार अस्पतालको ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकामध्ये करिब ३०-३५ जनामा ज्वरो, रुघा र खोकी देखिने गरेको छ। कोभिड सङ्क्रमणको शङ्काका कारण उनीहरूको सबैको एन्टीजीन परीक्षण गरिन्छ। तीमध्येका १६-१७ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ।

‘पछिल्ला २-४ दिनको अवस्था हेर्दा स्वास्थ्य परीक्षणको लागि ओपिडीमा आएकामध्ये करिब ३०-३५ जनामा कोभिडसँग मिल्दो लक्षण देखिन्छ। ती सबैको एन्टीजीन टेस्ट गर्दा ५० प्रतिशतभन्दा धेरैमा पोजेटिभ देखिएको अवस्था छ’ उनले भने, ‘पोजेटिभ देखिएका १६-१७ जनामध्येका १-२ जना अक्सिजन दिनै पर्ने खालका भेटिने गरेकाले यहीको कोरोना वार्डमा भर्ना गरेर राखिएको छ। बाँकी रहेका अरू सबै सङ्क्रमितहरू होम आइसोलेसनको लागि घर जाने गर्नुभएको छ।’

अस्पतालमा बसेकाहरूलाई सङ्क्रमित भनी पहिचान गर्न सके पनि होम आइसोलेसनमा गएकाहरूले भने आफू सङ्क्रमित भएको भनी अरूलाई बताउँदैनन्। न त पहिलेको जस्तो स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिरहेको अवस्था छ। यही कारण भित्रभित्रै संक्रमितहरुको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको र अवस्था सामान्य नभइसक्दै सङ्क्रमितहरू ह्वात्तै बढिरहेको डा. पौडेलको भनाइ छ।

जनसङ्ख्या र सङ्क्रमणको हिसाबले पनि ठूलो कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक तथा फोकल पर्सन उमाकान्त सापकोटा पनि समुदायमा कोरोना सङ्क्रमणको जोखिम झन् झन् बढ्दै गइरहेको बताउँछन्।

गत चैत, वैशाख र जेठमा जस्तो परीक्षणको दायरा अहिले फराकिलो नभएको कारण पनि सङ्क्रमितको सङ्ख्या कम भएको जस्तो देखिएको बताउँदै उनले नगरपालिकाको तर्फबाट जाँच गरिएका ठाउँमा ५० प्रतिशतमा सङ्क्रमण देखिएको उनको भनाइ छ।

‘फेरि कोरोना बढ्दै गएको छ। टेस्ट गर्ने हो भने सङ्क्रमितको सङ्ख्या बढ्छ। टेस्टका लागि क्याम्प राख्दा पनि परीक्षणमा मान्छे नै नआउने क्रम बढेको छ। सामान्य अवस्थामा चुप लागेर बस्छन्, सिरियस भएमा सिधै अस्पताल जान्छन्’ सापकोटा भन्छन्, ‘हामीले चुवामा पनि चेक गरेका थियौँ। त्यहाँ ५० प्रतिशतमा कोरोना देखियो। अन्य ठाउँमा गरिएका परीक्षणमा पनि ५० प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ। अब फेरि लापरबाही गर्ने हो भने यसको अवस्था झनै बढ्छ। चाडपर्वको बेला समेत आएकोले भेटघाट र जमघट पनि बढ्ने देखिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.