शीर्ष नेतालाई अध्यक्ष बन्न उमेर हदको अंकुश !

|
पार्टी कार्यालय थापाथलीमा महासचिव इश्वर पोखरेल र कार्यालय सचिव शेरबहादुर तामाङका साथमा एमाले अध्यक्ष केपी ओली ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद तत्कालै वारपार लगाउन निर्देशन दिएका छन्।

विवादको कारणले पार्टीका गतिविधि अघि बढ्न नसकेको भन्दै आफू निकटका नेताहरुलाई तत्कालै विवाद वारपार लगाउन निर्देशन दिएका हुन्।   

पार्टीमा सधैँ एउटै कुरालाई लिएर अल्मलिएर बस्न नहुने भन्दै विवादलाई तत्कालै छिनोफानो गर्न निर्देशन दिएको एमाले पार्टी कार्यालयको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनले भने, 'उहाँ विघटित कार्यदलका सदस्यसँग निरन्तर संवादमा हुनुहुन्छ। आज पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा एउटै विवादमा पार्टीलाई अल्मल्याएर राख्न नहुने बताउनुभएको छ।' 

पार्टीभित्रमा फर्किन चाहनेलाई पर्खेर पार्टीको काम प्रभावित पार्न नहुने उनको भनाइ छ। 

'उहाँ पार्टी एकता जोगाउन अधिकतम लचक भइसक्नुभयो। अब पार्टी एकताको पक्षमा हुनेहरु १० बुँदे सहमतिलाई लिएर अगाडि बढ्छन्। पार्टीमा फर्कनेहरूलाई हामी जहिले पनि स्वागत नै गछौँ' तामाङले भने। 

प्रधानमन्त्रीबाट बहिगर्मनपछि पहिलो पटक बुधबार पार्टी कार्यालय थापाथली पुगेका अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई पार्टीभित्रको विवाद किनारा लगाउन निर्देशन दिएका थिए। 

त्यसो त केही दिनअघि एमाले प्रवक्ता प्रदीप ज्ञवाली थाहाखबरसँग कुरा गर्दै कार्यदलले तयार पारेको १० बुँदे सहमतिको आधारमा रहेर एकता अघि बढ्ने बताएका थिए। 

प्रवक्ता ज्ञवालीले भनेका थिए, ‘हामीले उहाँहरूको माग बमोजिम पार्टीलाई ०७५ जेठ २ मै फर्काएर पार्टीको बैठक राखेका थियौँ। तर, उहाँहरू आउनुभएन। उहाँहरूको लागि अब धेरै कुरेर बस्न सकिँदैन। तत्काल नआए पार्टी एकताको ढोका खुला राखेर जान्छौँ। उहाँहरू पार्टीमा जुन दिन फर्किनुहुन्छ त्यही बेलामा जिम्मेवारी दिन्छौँ।’ 

एकतामा जाेड

पार्टी एकताको लागि विभिन्न कोणबाट छलफल भइरहेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। ​

​उनी भन्छन्, 'पार्टी एकताको लागि उहाँ (ओली) पनि लचिलो हुनुभएको छ। अब उहाँहरुले पनि परिस्थिती आकलन गरेर सहमतिको बाटोमा आउनुपर्छ। १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढे एकता हुन्छ। एकता जोगाउन हामी अधिकतम प्रयासरत छौँ।’ 

यता, माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य झपट रावलले विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता बताउँछन्। 

रावलले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ संसद् जोगाउनका लागि थियो। सरकारमा जान र मन्त्री बन्नका लागि थिएन। हाम्रो कारण संसद् जोगिएको छ। हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौं।

मूलतः हाम्रो (पार्टीको एकताका लागि बैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटन पछि प्रतिनिधिसभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद) एमाले जोगाउने प्राथमिकता हो।’  

प्रतिगमनको मतियारका मुसा प्रवृत्ति​!

हिजो ओलीसँग रहेर प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेको आरोप लगाए। 

‘अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन्। अन्य मतियारहरूको कुरै नगरौं’ उनको भनाइ छ। 

जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद गर्नुपर्नेमा उनको मत छ। सुदृढ र सबल नेकपा (एमाले)को विकल्प नभएको उनले स्पष्ट पारेका छन्। कसैको उक्साहटमुक्त भएर समयको मागअनुसार पार्टी एकतातर्फ एकजुट हुन आग्रह समेत गरेका छन्। 

त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका नेता नेपाल समूह सरकारमा नजाने भएको छ। सरकारमा जाँदा पार्टी एकताको वातावरण बिथोलिन सक्ने भएकाले सरकारमा जान नहुने निष्कर्ष निकालेको थियाे। 

तर, एकताको लागि ओलीले नेता नेपाललाई प्रस्ताव गरेको दोस्रो अध्यक्ष अस्वीकार गरेका छन्। ओलीले प्रस्ताव गरेको दोस्रो अध्यक्ष अस्वीकार गर्दै नेता नेपालले समान हैसियतमा अर्का बरिष्ठ नेता झलनाथ खनाललाई अध्यक्ष बनाउनुपर्ने अडान राखेका छन्। 

आफू निकटका नेताहरुसँग आफूलाई अध्यक्षमा रुचि नभएको भन्दै ओली र आफूभन्दा दोस्रो तहबाट नेतृत्व चयन हुनुपर्नेमा पनि राजी भएका छन्। 

उमेरको अंकुश

त्यसो त नेकपा एमालेको नवौँ महाधिवेशनबाट पारित विधानमा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुने उल्लेख छ।  

विधानको धारा–६५ को उपधारा २ र ३ मा भनिएको छ, ‘केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी रहने छैनन्। र, सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ।’

विधानलाई कार्यान्वन गर्दा एमालेको शिर्ष नेताहरुलाई उमेरहदले रोक्छ। अध्यक्ष ओलीसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतलाई १० औँ महाधिवेशनबाट अध्यक्ष हुनबाट रोक लाग्छ।   

तर, दोस्रो तहबाट अध्यक्ष बनाउन सहमति बनेमा संस्थापन पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलको नाम अघि आउनसक्छ। यस्तै, नेता नेपाल समूहबाट घनश्याम भुषाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतको नाम आउनसक्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.