|

काठमाडौं : तीज एउटा धार्मिक परम्परा, सांस्कृतिक हिसाबले महत्वपूर्ण पर्व हो। तीजलाई धार्मिक हिसाबले विशेष ‘महिला दिदीबहिनीको महान पर्व’ भनेर हामीले मान्दै आएका छौँ। पढ्दै र बुझ्दै आइरहेका छौँ। 

तीजको रौनकता तीज विशेष गीतले पनि थपिन्छ। तीजमा गीतको अपरिहार्यता विशेष मानिन्थ्यो। गीत एउटा खबर आदानप्रदान र सञ्‍चारको माध्यम थियो। अहिले सुगमताले त्यो पाटोलाई केही अंगिकार गरेको देखिन्छ। सञ्‍चारमाध्यमका एक अंश तीजका गीतलाई लिइन्थ्यो। जसमा महिला दिदीबिहिनीले आफ्ना र परिवारका विषयमा चर्चा गर्ने माध्यम थियो।  

तीजका गीतमा प्रसंग र पात्रसँग जोडेर विषय उठान हुन्थे। विषयको गाम्भीर्यता हेरिन्थ्यो। पछिल्लो समयमा भने यदि राता सारी लगाएर भिडियो छायाङ्‌कन नगर्ने हो भने यी तीज गीत हुन् कि अन्य के हुन् भन्नुपर्ने अवस्था आएको छ। यो अवस्था सच्याउन आवश्यक छ।

विभिन्न प्रकारका पर्व विशेष, क्षेत्र विशेष, धार्मिक परम्परा बोकेका नेपाली मौलिक गीतलाई संरक्षण हुनुपर्ने देखिएको छ। त्यसमाथि तीज गीतको नाममा संस्कृति मास्ने काममा कलाकार स्वयम्‌ सक्रिय रहेका छन्। 

लामो समय नेपाली लोकदोहोरी र तीज गीतमा स्वर दिदैँ आएका वरिष्ठ गायक एवम्‌ सर्जक पुरूषोत्तम न्यौपानेले हाम्रो संस्कार र संस्कृति पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायित्व अहिलेको पुस्ताको रहेको बताउँछन्। संस्कृतिलाई बिगारेर होइन, राम्रो बनाएर हस्तान्तरण गर्नुपर्ने न्यौपानेको भनाइ छ।

न्यौपानेले प्रजापति पराजुलीको शब्द संकलनमा रहेको बेदनाको पोको भाग १ बाट तीजका गीतमा स्वर भर्न थालेका हुन्। बेदनाको पोका ७ भागसम्म उनले स्वर भरे। त्यस बाहेक उनले असंख्य तीजका भाकामा स्वर दिएका छन्। उनी विगत लामो समयदेखि लोकदोहोरी, धार्मिक, सांस्कृतिक, सामाजिक तथा मौलिक गीतलाई प्रवर्द्धन र सम्वर्द्धन गर्दै आएका छन्। 

उनीसँग विगतमा गाउने तीजका गीत र अहिले सिर्जना भइरहेका गीतहरूबारे चर्चा गरेका छौँ। तीज गीत, गीतको मर्म गइरहेको स्थिति, गीतमा आएका विकृति लगायतबारे थाहाखबरकर्मी राजु पौडेलले बुझ्ने प्रयास गरेका छन्।

अहिले निस्किएका तीज गीत सुन्दा आम दर्शक/स्रोताले नाक खुम्च्याउनुपर्ने स्थिति छ, तपाईंलाई के लाग्छ?

अहिले निस्किएका सबै गीत सबै गलत वा खराब छन् भनेर म भन्दिनँ। हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल, राधिका हमाल, देवी घर्ती र विष्णु माझीलगायत सर्जकका गीतहरू आज पनि जनमनमा छ।

तर अफसोच! केही कलाकारले बजारमा उत्पादन र वितरण गरेका गीतहरू सुन्न योग्य छैनन। यदि राता सारीहरू लगाएका रहेनछन् भने यो तीजको गीत हो कि भन्ने अनुमान लगाउने हो। नत्र त्यस गीतको भित्रि विषय हेर्दा तीजको मर्मविपरीत भइरहेको छ। यसमा दुःख लाग्छ। चिन्ता त स्वभाविक नै भइहाल्यो।

सबैभन्दा ठुलो चिन्ता चाहिँ तीजको मौलिकता विस्तारै लोप हुने त होइन भन्ने लाग्छ। पछिल्लो पुस्ताले तीजको संस्कृतिलाई फरक तरिकाले बुझ्ने त होइन भन्ने छ। 

हिजो र भोलिको पुस्तालाई जोड्नुपर्ने नेपाली संगीत, त्यसमाथि पर्व-संस्कृतिका रूपमा रहेका गीतहरू विकृतिका कारण समयको गर्तमा भासिने जोखिम देखियो, यस्तो हुने सम्भावना कति देख्नुहुन्छ?

बाटो बिराएका गीतहरू हावी हुने, अनि साच्चै मौलिक संस्कृति बोकेका ती गीतहरू स्वीकार नहुने, मौलिकता बिर्सेर गाइएका गीतहरूमा केही मानिसहरू उफ्रँदैमा त्यसले मौलिकताको महत्व बोकेको हुँदैन। दीर्घकालिन हुँदैन।

मौलिकता बोकेका गीतहरूले अहिले नै चर्चा नपाएपनि कुनै प्रवाह छैन। संस्कृति बिगारेको छैनन् र सरल तरिकाले प्रस्तुत गरिएको छ भने आउँदो पुस्ताले उसलाई स्वीकार्छ।

जसले पैसा र चर्चाको नाममा त्यस्ता मौलिकता एवम्‌ संस्कृतिलाई प्रहार गरेर तथाकथित गीत बनाइरहेका छन्-त्यस्ता सामग्री छोटो समयमै लोप हुने निश्चित हो।

उनीहरूलाई आउने पुस्ताले प्रश्न जरुर गर्नेछ। यो मेरो बुझाइ हो।

अहिले सिर्जना भइरहेका गीतको मूल्याङ्‌कन गर्दा आफूले गाएका तीजका गीतलाई कहाँनेर भेट्टाउनुहुन्छ? अग्रज स्रष्टाले कोरेको बाटोमा अहिलेको पुस्ता हिँडेको छ?

म अथवा अग्रजलाई तुलना गरेर म नै राम्रो भन्न उपयुक्त नहोला। म बाट पनि जानेर वा नजानेर कमि कमजोरी भएका होलान्‌। ​तर, नियतवश कुनै पनि लोकदोहोरी/तीज/चिनारी गीत मैले आफ्नो विवेकले जानेसम्म संस्कृतिलाई बिगार्नेगरी गाएको छैन।

तर, अहिले देखिएको गीतको प्रवृत्ति मैले मात्र होइन, सिंगो जगतले मूल्याङ्‌कन गरिरहेको छ। कस्ता शब्द प्रयोग छन्, कुन किसिमको भिडियो निर्माण भइरहेका छन्।

तीजका गीतमा बजाउने वाद्यवादन के हुन्? तीजका गीतमा लगाउने पहिरन के हुन्? तीजको मर्म के के हो भन्नबारे सर्जकले बुझ्न जरूरी छ। के कलाकारले यसको अध्ययन गर्नुपर्दैन? सिर्जना गर्नेले इमान्दारीता देखाएको खण्डमा न संस्कृति जोगिने हो।

सर्जकले जे सिर्जना गरिदिन्छ? त्यो नै दर्शकले सुन्ने हो। केही जमातले केही समयका संस्कृति मास्ने गीतलाई वाहवाही गरेपनि एउटा जमात आज पनि जीवित छ, जो संस्कार र संस्कृति बचाउन चाहन्छ। ती जमातले यस्ता खालका सर्जकलाई सम्मान गर्नेवाला छैनन्‌। कुनै व्यक्तिलाई तोकेर गल्ती गरिरहेको छ भनेर म भन्दिनँ। यो विकृतिविरुद्ध सबैले आफूलाई प्रश्नचाहिँ जरूर गर्नुपर्नेछ।  

रत्यौलीजस्ता गीतका शीर्षकमा तीज शब्द लेखेपछि यो तीजको गीत रहेछ भन्ने बुझ्न श्रोताहरू अभिशप्त छन्। तर, सर्जकहरू यसमा कुनै विमति राखिरहेका छैनन्, यो मौनताको कारण के हो?

रत्यौलीजस्ता तीजका गीत छायाङ्‌कन गरेर सार्वजनिक गरिसकेपछि हामीले तीज गीत हुन् भनेर मान्नुपर्छ भन्ने होइन। ती गीतहरू मिडियाकर्मी साथीले पनि सुन्न जरूरी छ।

कसैले व्यक्तिगत रूपमा लगानी गरेर मेरो सिर्जना मेरो हो, म जे पनि गर्न सक्छु भनेर भन्छ भने ‘राम! राम!’ भन्न मात्र सक्छौँ।

मिडियाकर्मी र स्वयम्‌ सर्जक पनि यसबारे जिम्मेवार हुनुपर्छ। कम्तिमा संस्कृति मास्ने हिसाबले सिर्जना भएका गीत मिडियाले पनि निस्तेज गर्न जरूरी छ। मिडियाले पनि संस्कृति मास्न लागि परेका कलाकारलाई प्रोत्साहन गरेर अन्तर्वार्ता लिनु भएन।

गलत प्रवृत्तिलाई प्रसारण मिडियाले निस्तेज गरिदिने, मेला/महोत्सव तथा देश/विदेशमा हुने कार्यक्रममा निस्तेज गरिदिने बित्तिकै स्वयम्‌ कलाकारले आफूले गरेको गल्ती महसुस गर्छ। मान्छेले ‘मेरो सिर्जनालाई पत्याउन छोडे’ भनेर ऊ आफैँ सच्चिन प्रयास गर्छ नि! यति भन्दै गर्दा सबैभन्दा बढी चाहिँ सर्जक नै सचेत हुनुपर्छ।

आत्ममूल्याङ्‌कन बिना गलत बाटोलाई सही ट्रयाकमा ल्याउन सकिँदैन।

अहिले बजारमा ल्याइएका गीत हेर्दा/सुन्दा यस्ता गीतले के सन्देश दिएको पाउनुहुन्छ?

पैसा कमाउन र चर्चाका लागि गाइने गीतमा के सन्देश हुन्छ र?

मैले अहिलेहाल निस्किएका सबै गीतलाई यसो भनिरहेको छैन। जसले यो विकृत काम गरिरहेका छन्-उनीहरूको सन्दर्भमा मैले बोलिरहेको छु। हरेक कलाकार कालान्तरमा बस्ने भनेको यही समाजमै हो। समाजभन्दा पर गएर गाइने गीतमा सन्देश हुँदैन। केवल क्षणिक लोभमात्र हो।

भाइरल हुने नाममा तीजको गीतको हुर्मत लिइँदै गर्दा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आरोप लागिरहेको छ, प्रतिष्ठानलाई यसबारे हस्तक्षेपकारी भूमिका खेल्न अधिकार छैन हो?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विकृति/विसंगती न्यूनीकरण गर्न पहिले सर्जक विनोद बाजुरालीको संयोजकत्वमा काम थालेको थियो। पछि सर्जक शिव हमालको नेतृत्वमा यो जिम्मेवारी तोकिएको छ। हामीले गलत नगर्नुस्‌ भनेर अनुरोध गर्न सक्छौँ। गलत प्रवृत्तिलाई गलत भयो भनेर सम्झाउन सक्छौँ।

कसैले व्यक्तिगत रूपमा लगानी गरेर मेरो सिर्जना मेरो हो, म जे पनि गर्न सक्छु भनेर भन्छ भने ‘राम! राम!’ भन्न मात्र सक्छौँ, काँध थाप्न सक्दैनौँ। यहाँ प्रतिष्ठानलाई दोष मात्र दिएर पुग्दैन। राज्यले प्रतिष्ठान कुनै अधिकार दिएको छैन। त्यसैले प्रतिष्ठानले अनुरोध गर्नसक्छ, कसैलाई रोक्न चाहिँ सक्दैन। किनभने प्रतिष्ठानसँग कानूनी अधिकार छैन। 

कतिपय सर्जकले ‘हामीले दर्शकको रोजाइका गीत सिर्जना गर्ने हो’ भनी जिरह गरिरहेका छन्‌, संस्कृतिलाई दूषित बनाउँदाको दुष्परिणाम सर्जकले भोग्नुपर्छ कि उनीहरूले सिर्जना गर्ने मात्र हो?

एउटा गीत पूर्ण हुनलाई स्वरमात्र एक पक्ष होइन। शब्द संकलन गर्ने, बजार व्यवस्थापन गर्ने र संगीत संयोजन गर्नेहरू लगायत सबै जिम्मेवार रहन्छन्। सबैले नै यो दुष्परिणाम भोग्नुपर्छ।

तीज गीतमा पुरुषलाई उपस्थिति गराएको केही जिम्मेवारी मैले पनि लिनुपर्छ। तीजका गीत गाउने पुरुष आवाजमा म थिएँ। सर्जक प्रजापति पराजुलीले शब्द संकलन गर्नुभयो। मैले आवाज दिएँ। तर हामीले गलत तरिकाले गाएनौँ। पात्र बनाएर गाएका हौँ। समाजमा अपाच्य हुने हिसाबले गीत गाएनौँ।

सर्जक विशुद्ध सर्जक मात्र होइन। उ सामाजिक प्राणी हो। उसले समाजको मूल्य मान्यता, आचरण र व्यवहारको अध्ययन गर्नुपर्छ। 

तीज विशुद्ध महिलाको भन्ने आम बुझाइ थियो। तर, पछिल्लो समय महिलाका तुलनामा पुरुषहरूको 'भद्दा' उपस्थिति बढेको छ। यस्तो विकृतिबारे के भन्नुहुन्छ?

यो एकदमै विचारणीय कुरा हो। तीज महिलाको हो। जसले आफ्ना आवेग, पीडा, खुशी र समवेदना पोख्ने विषय हो। त्यसैले महिला दिदीबहिनीको महान चाड भनिएको हो।

तर, तीज गीतमा पुरुषलाई उपस्थिति गराएको केही जिम्मेवारी मैले पनि लिनुपर्छ। तीजका गीत गाउने पुरुष आवाजमा म थिएँ। सर्जक प्रजापति पराजुलीले शब्द संकलन गर्नुभयो। मैले आवाज दिएँ। तर हामीले गलत तरिकाले गाएनौँ। पात्र बनाएर गाएका हौँ। समाजमा अपाच्य हुने हिसाबले गीत गाएनौँ।

कथा वस्तुमा आधारित भएर पुरुषको उपस्थितिलाई सकारात्मक मान्न सकिन्छ। तर, कुनै विषय र पात्रबिनै उहाँहरूको उपस्थिति देखिन्छ-त्यो गलत छ।

कसैले तीजमा पुरूषको उपस्थिति पुरूषोत्तम न्यौपानेले गरेको हो भनेर कहीँ कतैबाट दाग लगाउन खोज्छ भने म भागीदार हुनुपर्छ। तर, हामीले पुरुषको उपस्थिति भद्दा हुनुपर्छ भनेर भनेका छैनौँ, यो हुनुहुँदैन। 

तीज गीतमा समावेश शब्दहरूमा कर्मघरमा हुने दु:ख, माइत आउँदाका खुशी, दौतरीसँगको मित्रतालगायत अन्य विषयहरू, जसमा महिलाका दु:ख, पीडा, आवेग र खुशीहरू जोडिन्थे। अचेलका गीतमा केवल मायामोह विशेष प्राथमिकता छन्। समयसँगै महिलाका तीज विशेष अभिव्यक्ति परिवर्तनहरू हुन थालेका हुन्?

तीज गीत त पर्व विशेषको हो। यसमा आस्था मिसिएको हुन्छ। संस्कृति जोडिएको हुन्छ।

यदि तीजलाई नै केन्द्रबिन्दु बनाएर गीत निर्माण हुन्छन् भने महिलाको भावनाहरू समेट्नुपर्छ। माया पिरतीका गीत , रत्यौली गाउनका निम्ति त दोहोरी गीत गाए हुन्छ। भावनाविपरीत सिर्जनाको नाममा तीज को हुर्मत लिन पाइँदैन।

तीज गीतको ना‍ममा अन्य गीतलाई थुपार्ने चाहिँ पाइँदैन। 

तीज गीतमा निस्किएका विकृतिमा को जिम्मेवार छ?

सामाजिक मर्यादा र प्रतिष्ठालाई कायम राख्ने गरि बनाएका सर्जकले विकृत गीत निर्माण गर्दै गर्दैनन्। जसले गीत निर्माण गर्छ।

जसले यो मेरो सम्पत्ति हो भन्छ, उ नै जिम्मेवार हो। अब गलतलाई गलत नै भन्नुपर्छ। आफूले गरेको गलत कामलाई गलत ‍भनेर आत्मस्वीकृति गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.