|

काठमाडौं : सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ।

गठबन्धन सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन र संवैधानिक नियुक्तीमा पठाउने नाम चयन गर्न कांग्रेसका तीन, माओवादी केन्द्र र जसपाका दुई–दुई जना सदस्य रहेको कार्यदल गठन गरिएको छ। तर सो कार्यदलको बैठकसमेत बस्न सकेको छैन।

एकातिर मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेको सरकारले अर्कोतिर न्यूनतम साझा कार्यक्रममा समेत उस्तै ढिलाई गरिरहेको छ। कार्यदल सदस्यसमेत रहेका माओवादी नेता देव गुरुङले नेताहरुको व्यस्तताले बैठक बस्न नसकेको बताए। 

‘कार्यदलमा रहनुभएका साथीहरुको टाइम मिल्नुपर्यो, सबैलाई अनुकुल मिल्नुपर्यो, त्यही तालमेल नमिलेर बैठक बस्न भ्याइएको छैन’, उनले भने,‘पाँच दलीय गठबन्धनको सरकार भएकाले सबैको सहमती र मान्यताको आधारमा बनाउनुपर्यो।’ सबै दलको वैधानिक र कानूनी प्रकृया पुरा गर्नुपर्यो, नेताहरुको बीचमा तयारी हुनेबित्तिकै तुरुन्तै भइहाल्छ।’

सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन नपाउँदै र कार्यदलले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन नपाउँदै गठबन्धन करिब भत्किसकेको छ। यसबीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरु प्रतिपक्षमा बस्ने बताइसकेका छन्। 

अर्को पक्ष नेकपा एमालेको माधव नेपाल समूहले पनि सरकारमा नजाने बताइसकेको छ। तर कार्यदलमा रहेका माओवादी नेता गुरुङ भने सरकारमा नगए पनि नीतिगत रुपमा जनमोर्चाको पनि सहमती रहने दाबी गर्छन्। त्यसैगरी जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल समूह दलीय वैधानिक कोर्षको प्रक्रियामा रहेकाले दुबै काममा ढिलाई भएको उनले बताए।

मन्त्रिपरिषद् विस्तारमा भने कुनै समस्या नरहेकाे उनले दाबी गरे। ‘अरु तयारी हुनेबित्तिकै त मन्त्रीको कुनै गाह्रो हुँदैन, कोटा बाँडफाँड गर्ने अनि सम्वन्धित दलले सिफारिस गर्ने त हो नि’ उनले थाहाखबरसँग भने। 

नेपाल समूह दुबैतिर

गुरुङले एमालेको नेपाल समूहलगायतका कारण मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रम तय हुन नसकेको बताए पनि माधव नेपाल समूहले भने त्यसको खण्डन गरेको छ। नेपाल समूहका नेता विरोध खतिवडाले सरकारमा नजाने ठोकुवा गरेका छन्।

अरु दलका नेताहरुले त तपाइहरुका कारण रोकिरहेको छ भन्छन् नि ? भन्ने प्रश्नमा उनले रोकिएको भए फुकुवा भैगाे नि भन्ने जवाफ दिए। सरकारमा जान्नौ भन्ने अनि गठबन्धनको बैठकमा सहभागी भइराख्ने अर्कोतिर पार्टी एकताको गीत गाउन पनि नछोड्ने ? भन्ने प्रश्नमा नेता खतिवडाले भने, ‘हामीले नै बनाएको गठबन्धन हो, पार्टी एकता टुंगियो भने गठबन्धन टुट्छ, पार्टी एकता टुंगिएन भने गठबन्धन निरन्तर हुन्छ ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.