पर्सा : काठमाडौंबाट वीरगन्ज घुम्न आएका साथीको शंकास्पद मृत्यु भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
सर्लाही स्थायी घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन पाख्रिनको वीरगन्जमा शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–३ का २५ वर्षीय मनोज कार्की, मकवानपुरका २८ वर्षीय कुमारसिंह पाख्रिन, वीरगन्ज–७ रामटोल बस्ने वर्ष २७ का विक्की लामा, सोही ठाउँका २२ वर्षीय विक्की साह, उमेर नखुलेका राहुल महर्जन र बारा फेटा गाउँपालिका–३ का वर्ष २७ का धनन्जय रजक छन्।
पछिल्लो समय मृतक पाख्रिनको सम्पर्कमा रहेका ती युवाहरुलाई अनुसन्धानका लागि वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए।
पाख्रिनलाई बिहीबार बिहान ३ बजे वीरगन्ज–७ कुम्हाल टोलको सडकमा लडिरहेको अवस्थामा प्रहरीको मोवाइल टोलीले भेटाएको थियो। प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा लगेकोमा चिकित्सकले पहिले नै मृत्यु भइसकेको जनाएका थिए।
प्रहरीले ६ युवा र बा.२ ज ५७८५ नम्बरको कारसमेत बरामद गरेको छ। मृतकको बाहिर शरीरमा कुनै चोट नदेखिएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।