|

दाङ : दाङमा तेस्रो लहरको कोरोना भाइरस संक्रमणका लागि पूर्व तयारी थालिएको छ। तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित सोनापुर सिमेन्ट परिसरमा रहेको अक्सिजन प्लान्ट उद्योगले अक्सिजनको उत्पादनका लागि तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। 

उक्त प्लान्ट बिहीबार अवलोकन गर्दै कुरुम्बाङले दाङ मात्र नभइ छिमेकी जिल्ला सल्यान, रुकुम, प्युठान, रोल्पालाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताए। ‘दाङ जिल्लालाई मात्र नभई छिमेकी पहाडी जिल्लालाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भइरहेको छ,’ उनले भने, ‘आउँदा दिनमा कोरोनाको तेस्रो लहर फैलिन सक्ने भन्दै विज्ञहरूले सचेत रहन भनिरहेको बेला हामीले जिल्लामा पूर्व तयारी थालेको छौं।’

यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला दाङमा अक्सिजनको अभाव भएको थियो। जसका कारण कोरोना संक्रमति ज्यान गुमाएका थिए। अब कोरोनाको तेस्रो लहरमा अक्सिजनको अभाव नहुने प्रजिअ कुरुम्बाङले बताए। 

त्यस्तै, सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकका अनुसार अक्सिजन प्लान्ट उद्योगबाट प्रतिदिन ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने लक्ष्य लिइएको छ। सिमेन्ट उद्योगले आफ्नै लगानीमा उक्त क्षमताको अक्सिजन प्लान्ट उद्योग सञ्चालनमा ल्याउन लागेको उनले बताए। पाठकले अबको एक महिनाभित्रमा अक्सिजन उत्पादन सुरु हुने समेत बताए।

हाल दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले २०० गरी जम्मा ४७५ सिलिन्डर प्रतिदिन उत्पादन गरिरहेका छन्। अब एक महिनापछि सिमेन्ट उद्योगले ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने भएपछि जिल्लामा प्रतिदिन जम्मा ९२५ वटा सिलिन्डर अक्सिजन उत्पादन हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.