|

प्यारो गोविन्दबोल,

२१ जुलाईमा तिमीले मेरो एउटा पोष्टको मुन्तिर कमेन्ट बक्समा लेख्यौ :

‘जीवन, यस्तो अध्यात्म सम्बन्धको विषयमा मेरो अनुभव, ज्ञान, केही पनि छैन, तर, तिम्रो पोष्टहरू रुचिसाथ पढ्छु र बेलाबेलामा आफ्नै किसिमले रमाउँछु, र बिर्सन्छु। तर, केही नबुझे पनि वर्तमानको बारेमा मलाई लागेका केही कुरा लेखूँजस्तो लाग्यो।

वर्तमान भूतको अन्त हो, भविष्यको आदि हो, त्यसैले वर्तमान भूत र भविष्यको साँध मात्र हो।

यो मात्र एउटा अवधारणा हो, यसको आफ्नो अस्तित्व सम्भव छैन। वर्तमान एउटा विच्छेद-बिन्दु हो, यसलाई प्राप्त गर्न सकिँदैन। तर, यसलाई भूतको निम्ति अन्तिम सीमा-बिन्दु र भविष्यको निम्ति प्रारम्भ-बिन्दुको रूपमा प्रयोग गर्न जरूर सकिन्छ।’

त्यसको दुई दिनपछि फेरि त्यसैको मुन्तिर अर्को लेख्यौ :

‘जीवन, मेरो लेख्ने बानी छैन, अहिले हेर्दा त मेरो लेखाइको अर्थ उल्टो पो भयो जस्तो लाग्यो। मलाई लागेको यस्तो हो : भविष्य अहिले (वर्तमान) देखि अनन्तसम्म अथाह फैलिएको छ।

त्यस्तै अहिले (वर्तमान) देखि सृष्टीसम्म भूत पनि अथाह छ। वर्तमान त यी दुइ अथाहको साँध मात्र हो, र साँधको कुनै माप हुँदैन, अस्तित्व हुँदैन। तर, यो साँधमा अविरल रूपमा भविष्य भूतमा विलय भैरहेको हुन्छ। बाँकी कुनै बेला पछि।’

*  *  *

यद्यपी; दोस्रो विचार पनि कम्ताको छैन। तर, तिम्रो पहिलो विचारले नै मेरो मनलाई दोस्रोले भन्दा बेसी तानेको छ। किनभने त्यसमा वर्तमान क्षणलाई तिमीले अनन्त-स्पर्शी (एसिम्प्टोट) बिन्दु\रेखाको अवधारणामा ढालेका छौ। जसलाई दायाँ-बायाँ अर्थात् भविष्य-भूत दुवैतिरका रेखाहरूले छुन सक्तैनन्। यो बिन्दु\रेखा भने स्वयंमा अनन्त छ र व्यापक छ। अनि, यो नै भूत र भविष्यको अर्थात् समय-प्रवाहको स्रष्टा पनि हो।

मेरो विचारमा, प्रकृति त्यति निष्ठुर छैन कि हामीले मन लगाएर गरेको काम त्यत्तिकै खेर जाओस्! मान्छेले बिर्सिँदै-बिर्सिँदैन भन्न खोजेको होइन मैले। तर, मलाई एउटा कुरामा शंका छ-त्यो के भने जेलाई बिर्सियौँ भन्छौँ हामी।

भूत अनन्त होइन। किनभने त्यो सृष्टिको क्षणबाट शुरू भयो। भविष्य पनि अनन्त होइन। किनभने त्यो महा-प्रलयमा गएर अन्त्य हुन्छ, हाम्रो पूर्वीय मान्यता अनुसार। र, अनन्त कतै हुन्छ भने यही विच्छेद-बिन्दु वा विच्छेद-रेखा (एसिम्पटोट) मा हुन्छ। किनभने त्यहाँ समयले 'महाकाल'को रूप धारण गरेको हुन्छ।

मलाई वर्तमान क्षणमा हुनुको अनुभव छैन, किनभने म त्यसमा टिक्नै सक्तिनँ। कारण बताउँदैछु।

हो, वर्तमान क्षणरूपी त्यही बिन्दु\रेखामा टेकेर केही दुर्लभ व्यक्तिहरूले परमात्मास्वरूप प्राप्त गरेका छन्, इतिहासले भन्छ।

समयको कुरालाई छाडौँ एकछिन, किनभने हामी भौतिक समयको बारेमा कुरा गरिरहेका छैनौँ यहाँ। हामी यहाँ त्यो वर्तमान क्षण, आध्यात्मिक अनुभूतिको हिसाबले भन्नुपर्दा, जुन समयको परिभाषाभित्रै पर्दैन, को बारेमा कुरा गर्दैछौँ।

भौतिक समयकै कुरा गर्ने हो भने पनि सृष्टिअघिको त्यो प्रचण्ड अवस्था (महाङ्काल\ब्याकहोल) मा न समय (t) थियो, न त स्थान (s) थियो। वैज्ञानिकहरू यसै भन्छन्। समय हुनको लागि पदार्थमा गति (v) हुनुपर्छ र गति हुनको लागि स्थान हुन अनिवार्य मानिन्छ।

स्थान खुम्चेर (s→0) शून्यसरी भएको त्यो अवस्थामा गति हुने सवालै उठ्दैन (v→0), किनभने यताउती गर्ने ठाउँ खै र त्यहाँ? र, गतिको अभावमा समय पनि रहँदैन (t→0)। यो भनेको पूर्णतः अनिश्चित, अनिर्णित, अवर्णनीय र अपरिभाषित अवस्था (v=s/t; 0=0/0) हो।

स्टेफेन हकिङ्गले भनेका छन्, त्यहाँभित्र (ब्याकहोलको गर्भभित्र) कुनै पनि भौतिक नियमले काम गर्दैन, र त्यसैले, यसलाई यहीँ छाडौँ। आश्चर्यको कुरो, हाम्रा उपनिषद-कालीन ऋषिहरूले पनि यही भनेका छन्, गणितका सूत्रहरू प्रयोग नगरिकनै।

तिमीले भनेका तीन कुराहरू साह्रै घतलाग्दा छन्। त्यसैले मलाई यहाँ उल्लेख गर्न मन लाग्यो : ‘...रुचिका साथ पढ्छु...आफ्नै किसिमले रमाउँछु र बिर्सन्छु।’

मान्छेले पढेका कुराहरू बिर्सिन्छन्। स्वाभाविक नै होला त्यो। प्रश्न उठ्छ : तर, के (१) कुनै विषयलाई रुचिसाथ पढ्नु, (२) त्यसमा आफ्नै किसिमले रमाउँनु र (३) त्यसलाई बिर्सिनु-यी तीन प्रक्रिया एकसाथ घट्न सम्भव छ? अर्को शब्दमा, मन लगाएर वा ध्यान दिएर गरिएको कुनै पनि कामलाई त्यति सजिलै बिर्सन सकिन्छ? यसरी पढेका\सुनेका कुनै पनि कुरालाई बिर्सेको हो र हामीले वास्तवमा?

मेरो विचारमा, प्रकृति त्यति निष्ठुर छैन कि हामीले मन लगाएर गरेको काम त्यत्तिकै खेर जाओस्! मान्छेले बिर्सिँदै-बिर्सिँदैन भन्न खोजेको होइन मैले। तर, मलाई एउटा कुरामा शंका छ-त्यो के भने जेलाई बिर्सियौँ भन्छौँ हामी।

वास्तवमा हामीले त्यसलाई नबिर्सेको पनि हुनसक्छ र त्यो हाम्रो स्मृतिबाट नहराएको पनि हुनसक्छ। यदि नहराएको हो भने त्यो कहाँ गएर बस्छ त आखिर?

यो प्रश्नको जवाफ मनोविदहरूसँग होला। सबै हराएर जाँदैनन् भनेर मेरो अनुभवले चाहिँ पटक पटक भन्ने गरेको छ।

कहिलेकाहीँ मलाई पनि हुन्छ त्यस्तै। खै मलाई मात्रै हुने हो कि अरूलाई पनि हुने होऽ थाहा छैन। जुन कुरालाई म अलिक ध्यान दिएर पढ्न\सुन्न खोज्छु, झन्‌ त्यसैलाई चाँडै बिर्सेको हो कि भन्ने भान हुन्छ मलाई।

तर, हराएको होइन रहेछ भन्ने कुरा कतिखेर खुल्छ भने कुनै ऐन-मौकामा खै कताबाट हो कुन्नि, त्यो टुप्लुक्क देखापर्न आउँछ, खास गरी लेख्न बस्दा। कहाँबाट आउँछ त्यो म जान्दिनँ। मैले खोजेर वा बोलाएर आउने पनि होइन त्यो। सम्झिन खोज्दा-खोज्दै हत्तु भइन्छ, तर, त्यो आउँदैन।

जाँच दिन बस्दा पढेका कुराहरू खर्र आएजस्तो आइदिने होइन त्यो। तर, त्यो आउँछ, आफ्नै मर्जीले आउँछ।

कुनै बेला मलाई कस्तो अप्ठ्यारो पर्छ भने विचार\विषय आउँछ, लेखुँजस्तो पनि लाग्छ, तर, कुन पुस्तकबाट वा कसको भनाइ हो सम्झिनँ सक्तिनँ। र, त्यसैले, लेख्ने आँट गर्न सक्तिनँ। मान्छेले मलाई मनगणन्ते कुरा लेख्छ भन्ने आरोप लगाउलान् भन्ने डर पनि छ।

हामी के भन्छौँ भन्ने कुराको गम्भीरता र गुरुत्वले (ग्राभिटीले) भन्दा बेसी त्यो कसले भनेको हो भन्ने त्यसको आधिकारिकताको सवालले बढी पिरोलिरहेको हुन्छ हामीलाई। किनभने हामीलाई डर छ-यो कहाँबाट ल्याएर राखिस् भनेर कसैले सोध्यो भने हामीले एउटा 'अथेन्टिक’ व्यक्ति\स्रोतको नाम लिन\दिन सक्नुपर्छ। नत्र हामीले राखेको विचारले विश्वसनीयता (कहिलेकाहीँ त वैधता समेत) पाउन सक्तैन।

यसरी, कुनै सर्जकभित्र रहेको सिर्जनशील ऊर्जाको स्रोत नै सुकेर गैरहेको हुन्छ, केही मात्रामै किन नहोस्। दुःखको कुरो!

तर, तिमी सही छौ। रुचिसाथ पढेको र त्यसमा रमाएको कुरालाई पनि हामी बिर्सिन्छौँ कतिपय अवस्थामा। मैले अनुभव गरेको छु, कतिपय अवस्थामा मलाई आधारातमा कुनै विचार फुर्छ। मैले तत्कालै उठेर कलम समाएँ भने ठीक छ, नत्र त्यो कता हराउँछ कता। यो पनि मैले बुझ्न नसकेको कुरो हो।

'ह्या, सम्झिहाल्छु नि यति जाबो कुरा त, भोलि बिहानै टिपौँला' भनेर अल्छी मानेर नोटबुकलाई पन्छाएँ भने गयो त्यो विचार! भोलिपल्ट बिहान मरिकाटे सम्झिन सक्तिनँ। मैले दुई-चार जनासँग शेयर गर्दा उनीहरूले मलाई यो उमेरको कारणले हो भनेका छन्। हो कि खै, थाहा छैन!

एकथरी जोगी-विचार मैले कतै पढेको छु : कतिपय विचारहरू यति सूक्ष्म हुन्छन् कि तिनीहरू आकाशमा देखापर्ने बादलका टुक्राभन्दा पनि क्षणिक प्रकृतिका हुन्छन्, अहिले छन्, एकै छिनपछि हुँदैनन्। यति सूक्ष्म कि बतासका मधुरा झोक्का जस्ता। आएर गालाका त्वचालाई हल्का म्वाई खान्छन् र हराउँछन्‌। के भयो भनेर थाहा नपाउँदै कता अल्पिन्छन् कता। सूक्ष्मताको कुरो हो यो।

तिमी टेबुलमा एउटा सिक्का राखेर जाऊ, महिनौ दिनपछि आऊ, त्यो जहाँको त्यहीँ हुन्छ। त्यही टेबुलमा एक मुठ्ठी पानी छर्केर जाऊ, एक घण्टापछि आएर हेर, उडेर गैसकेको हुन्छ। किनभने सूक्ष्म वस्तुहरू पातालिन्छन् र फैलिन्छन्; जब हाम्रा इन्द्रीयहरूले तिनीहरूलाई अनुभूत गर्न सक्तैनन्, हामी हरायो भनिदिन्छौँ, बिर्सेँ भनिदिन्छौँ।

सिर्जनात्मक विचारहरू सूक्ष्म हुन्छन् अन्य विचारहरूको दाँजोमा। त्यसैले तिनीहरू फैलिन खोज्छन् र फैलिन्छन्। हराएका पो हुन् कि झैँ लाग्छ हामीलाई चाहिँ। अलिकति प्रयास गर्ने हो भने तिनीहरूलाई समेट्न सकिन्छ। त्यसको निम्ति हाम्रो चेतनाले अलिकति सूक्ष्मता हासिल गर्नुपर्छ, किनभने स्थूल माध्यमबाट सूक्ष्म वस्तु हासिल गर्न सकिन्न, जसरी क्रेनद्वारा भुइँको सियो टिप्न सकिन्‍न।

कसरी सूक्ष्मता हासिल गर्ने, त्यो चाहिँ बरु खोजीको विषय हुनसक्ला। 

हाम्रो हार्टफुलनेस-ध्यानमा एउटा महत्वपूर्ण प्रक्रियालाई मैले पालना गर्नुपर्छ, एउटा अभ्यासीको नाताले। त्यो के भने प्रत्येक पटकको ध्यानपछि प्राप्त गरेको अनुभवलाई लेख्नुपर्छ मैले-नघटाइ, नबढाइ; जस्ताको त्यस्तै।

यो अभ्यासको उद्देश्य हो-केही महिना\वर्षको अन्तरालपछि म आफ्नो अवस्थामा आएको सूक्ष्म परिवर्तनलाई आफैले अवलोकन गर्नसकूँ, दाँज्नसकूँ र त्यसको मूल्यांकन गर्नसकूँ। यो एउटा गज्जबको कारगर प्रयास साबित हुनजान्छ, यदि मैले इमान्दारीपूर्वक यसको पालना गर्नसकेँ भने। गर्न सकेको छैन, त्यो बेग्लै कुरो हो।

समय (काल) मात्रै किन? देश (आकाश\स्पेस) र मेरो सिंगो अस्तित्वलाई नै मैले एउटा तेर्सो रेखामा राखेँ भने जुन बिन्दुमा (प्वाइन्टमा) छु म अहिले-त्यो मेरो वर्तमान हो। जति धेरै स्थूलता (grossness/solidness) रहेको हुन्छ ममा-मैले आफ्नो वरिपरि त्यति नै धेरै मात्रामा देश-कालको जालो (space-time matrix) लाई खुम्च्याइरहेको हुन्छु र खाल्डोको निर्माण गरिरहेको हुन्छु। अनि, म स्वयं धसिन पुग्छु आफैँले खनेको खाल्डोमा। खाल्डोमा धसिने त्यो गह्रुँगो चिज मेरो अहम् (ego) हो। 

डेढ दशक यताको अनुभवबाट मलाई के लागेको छ भने पढेका\सुनेका कुराहरू बिर्सेँ भनेर अहिले मलाई खासै पीर लाग्दैन। के कुरामा विश्वास छ भने तिनीहरू हराएका छैनन्। बरू आफूभित्रको ढुकुटीभित्र कतै हीराको गहना बनेर चम्-चम् चम्केर बसेका छन्। आफ्नो चेतनालाई अलिकति सूक्ष्म बनाउन सकेँ भने मैले तिनीहरूलाई देख्न र अनुभूत गर्नसक्छु।

अब, अहम्‌को गह्रुँगो डल्लोलाई मैले क्रसरमा राखेर टुक्रा पारेँ, ग्राइन्डरमा राखेर धुलो बनाएँ र त्यस धुलोलाई पनि अझै सूक्ष्म र अझै मिहिन बनाउँदै जाँदा एउटा यस्तो अवस्था आउँछ जहाँ म त्यसलाई देख्ननसक्ने हुन्छु।

त्यो हलुको अवस्था नै मेरो निम्ति पूर्ण-चैतन्यावस्था हो। त्यहाँसम्म पुग्दा फैलिएर म सर्वकालिक र सर्वव्यापी भैसकेको हुन्छु। अनि भूत-भविष्यको के अर्थ रहन्छ र मेरो लागि?

यो सबै मैले भनेको होइन; हजारौँ वर्षदेखि भनिँदै आएको कुरो हो। थोरैले मानेका छन्, धेरैले मान्दैनन्, किनभने त्यो सूक्ष्मतामा, त्यो मिहिनतामा, हुनसक्छ, १० करोडमा एक जना पुग्न सकेको होला, मुस्किलले।

त्यसै हुनाले, तिमीले होस् वा मैले, ‘अध्यात्म सम्बन्धको विषयमा मेरो अनुभव, ज्ञान, केही पनि छैन’ भन्छौँ भने त्यो एकदम स्वाभाविक हो। यो हाम्रो इमान्दार स्वीकारोक्ति हो।

हामी त्यो अति नै दुर्लभ एकभित्र पर्दैनौँ। नौ करोड ९९ लाख ९९ हजार ९९९ को सामान्य संख्याभित्र पर्छौँ । र, त्यसैले, आफ्नो भनाइमा सही छौँ। किन कि, सबै हामीजस्तै नै हुन्।

हामी धेरैले गीता पढ्दैनौँ। के खाँचो? तैपनि गीता-गीता भन्छन्, पढिदिउँ न त भनेर पढ्दा मलाई हाँसो उठेको थियो। गफको पोको जस्तो लागेको थियो। एउटा घमण्डीले फलाकेको आत्म-प्रशंसाको संगालो जस्तो लागेको थियो।

त्यो 'घमण्डी’ले भाइ पर्ने साथीलाई ढुक्कसँग भन्दै थियो, ‘जुन रहस्य\ज्ञान म बताउँदैछु तिमीलाई, त्यसलाई मैले धेरै अगाडि सृष्टिको शुरूमा सूर्यदेव विवस्वानलाई बताएको थिएँ। उनले यो मनुलाई बताए, मनुले यो इक्ष्वाकुलाई बताए। धेरै लामो समयान्तरालपछि म अहिले तिमीलाई बताउँदै छु, किनकि तिमी मेरो प्यारो सखा हौ। [गीता\४\१-५]।

त्यो भाइले छक्क पर्दै सोध्यो, ‘दाइ, तपाईं र म त समकालीन नै हौँ, तपाईं मभन्दा दुई-चार वर्षले जेठो हुनुहोला, अनि कसरी तपाईंले यो कुरा सृष्‍टिको शुरूमा सूर्यदेवलाई भन्न भ्याउनुभयो? कुरो बुझिनँ मैले।’

भाइले नौ करोड ९९ लाख ९९ हजार ९९९ को बोली बोलेको थियो, हामीले जस्तै। तर, दाइ त्यसभित्र पर्दैनथ्यो। उसले भन्यो, ‘तिमी, म र सबै यहीँ छौँ, कतै गएका छैनौँ, कहीँ हराएका छैनौँ, आदिदेखि अन्त्यसम्म यहीँ छौँ र सँगै छौँ। फरक यत्ति हो-मलाई यो सबै थाहा छ, तिमीलाई थाहा छैन, तिम्रो स्मृतिमा यो कुरा छैन।’

दाइले भाइलाई गज्जबसँग त्यो एक र बाँकी नौ करोड ९९ लाख ९९ हजार ९९९​ बीचको भेद बताइदियो, र यो पनि बतायो, मैले भनेको जस्तो गऱ्यौ भने तिमी पनि मजस्तै बन्नसक्छौ, देश-कालबाट मुक्त।

चिजहरू विस्मृतिमा गएका होइनन् वास्तवमा, किनभने तिनीहरू नाश हुँदैनन्। तिनीहरू अवस्मृति (sub-memory) मा गएका हुनसक्छन्, चिदाकाशमा लहराइरहेका हुनसक्छन्, जसलाई हामी खाल्डोमा धसिएका 'स्थूल अस्तित्व'हरूले देख्न र अनुभूत गर्न सक्तैनौँ।

जब त्यो अहम्‌को डल्लो चूर-चूर भएर पदार्थ कम र ऊर्जा बढी हुन थाल्छ, त्यो सर्वव्यापी बनेर फैलिन्छ, सर्वशक्तिमान बनेर हावी हुन्छ र सर्वज्ञ बनेर छाउँछ।

किनभने त्यतिबेला त्यो देश-कालको म्याट्रिक्सभित्र हुँदैन। समयरेखामा रहेको त्यो एउटा नगण्य आयाम-रहित बिन्दु अब सिन्धु भैसकेको हुन्छ, सम्पूर्ण आयामहरूबाट बाहिर।

त्यो न समय हो, न त स्थान हो अब। त्यतिबेला त्यो ऊर्जा शुद्ध चेतनाको रूपमा प्रकट हुन्छ-परम-चैतन्य-स्वरूपमा। अनि हामी नौ करोड ९९ लाख ९९ हजार ९९९ भित्र पर्नेहरू त्यो एकलाई परमात्मा भन्छौँ र त्यसप्रति नतमस्तक हुन बाध्य हुन्छौँ!

डेढ दशक यताको अनुभवबाट मलाई के लागेको छ भने पढेका\सुनेका कुराहरू बिर्सेँ भनेर अहिले मलाई खासै पिर लाग्दैन। के कुरामा विश्वास छ भने तिनीहरू हराएका छैनन्। बरू आफूभित्रको ढुकुटीभित्र कतै हीराको गहना बनेर चम्-चम् चम्केर बसेका छन्। आफ्नो चेतनालाई अलिकति सूक्ष्म बनाउन सकेँ भने मैले तिनीहरूलाई देख्न र अनुभूत गर्नसक्छु।

हामीलाई थाहा छ, बाहिरबाट आएका जानकारीहरू र सूचनाहरू (knowledge and information) हुन् र तिनै जानकारीहरूभित्र अव-चेतनको तहबाट रसाएर आउँछन् भने तिनीहरू ज्ञान (wisdom) हुन्छन्। तिनीहरू अन्तरात्माको कारखानाबाट खारिएर परिष्कृत बनेर आएका हुन्छन्।

त्यसैले हामी ध्यान गरेर ज्ञान पाइन्छ भन्ने गर्छौँ। ध्यान गर्दा हामी त्यही अव-चेतन तलमा स्थिर रहने बलहीन प्रयत्न (effortless effort) गरिरहेका हुन्छौँ।

कमेन्टको रूपमा यति राम्रो विचार प्रस्तुत गरेकोमा धन्यवाद तिमीलाई!

अस्तु

नोटबुकको पानाबाट : (\२६ जुलाई, २०२१\मीनभवन, काठमाडौं)

(नोट : डा. गोविन्दबोल श्रेष्ठ मेरा बालसखा हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.