|

नगरवासी विभोर निन्द्राबाट ब्यूझिँदा धुम्म बिहान थियो। त्यही समय हातमा चाँदीको लोटा लिएर भक्तबहादुर शौचालय पसे। अबेरसम्म निस्किएनन्।

शौचालय घरको छेउमा अलग्गै छ। थोत्रो, पुरानो र भग्नावशेष जस्तो दुबोझार पलाएको वाह्य विशेषता बोकेर ठिङ्ग उभिएको छ। लाग्छ-बाटो छेउ त्यो शौचालय थुप्रै इतिहासले भत्काउन नसकेर बाँचेको हो।

उनी शौचालय प्रवेश गर्ने बित्तिकै चुट्कीभरमा बाहिरको माहोल बद्लियो। मौसम बद्लियो। पर्यावरणमा फेरबदल भए। सृष्‍टिको नियमलाई नै मात खुवाउने घटनाहरू घटे। 

बाहिर बाटोमा केही मानिसहरू डुल्न शुरू गरे। एकाएक मानिसहरूको जमात बढ्दै गयो। उनीहरूको टाउकोमा सेतो केही थुप्रो जस्तो जमेको थियो। कसैको टाउकोमा श्रीपेच जस्तो आकार थियो। कसैको टाउकोमा हरिणका सिङजस्ता आकार थिए। कसैको टाउकोमा मयुरका प्वाँख जस्ता आकृतिहरू देखिन्थे। कोही नाभीमा नभइ टाउकोमा कस्तूरी बोकेर हिँडेका मृगजस्ता देखिन्थे।

खासमा त्यो 'स्नो' रहेछ। हिउँ के हिउँ! बाक्लो बाक्लो हिउँ। फुसफुसे हिउँ। कोनमा भर्खर-भर्खर भरिएको ताजाताजा आइसक्रिम जस्तो उनीहरू टाउकोमा हिउँका हलुङ्गा डल्लाहरू टप्पटप्प बोकेर हिँडिरहेका थिए।

सबैको शरीरमा बाक्लो ज्याकेट थियो। टाउकोमा टोपी थिएन। कसैको टाउकोमा टोपी हुन पनि सक्दो हो। हिउँ आकृतिभित्र ती पुरिएका पनि हुनसक्दा हुन्।

भक्तबहादुरको शौचालयपछि उनको घर बाहिर यसप्रकारको माहोल बडो अनौठो थियो। आकाशमा ठीक माथि एक हुल चराहरू उडिरहेका थिए। ती टाउकोमा हिउँ बोकेका हिउँ टाउकेहरूको माथि उडिरहेका चराहरूलाई लागेको हुँदो हो-हामी बादल माथिमाथि उडिरहेका छौँ। भ्रमको मीठास आफ्नै हुन्छ। भ्रमको पर्यावरणमा हुर्किएकालाई वास्तविकता बडो विकृत पनि लाग्नसक्छ।

ती आकाशमा उडन्ते चराहरूलाई आइसक्रिमबारे केही थाहा हुँदो हो त​ भुईँमान्छे कसैको पनि टाउको नबच्दो हो। रित्तो कोनजस्तो टाउकोमा ढ्वाङ बोकेर तप्प तप्प रगत चुहाउँदै उनीहरू यत्रतत्र छट्पटाइरहेका हुनसक्थे।

ठीक छ, राम्रो कुरा हो। उडन्तेहरूलाई आइसक्रिमबारे केही थाहा छैन। केही पनि थाहा छैन। विध्‍वंसको एउटा अजीव नरसंहार यहाँ हुन पाएन। 

आफ्नै गतिमा अगाडि बढिरहेको भिडबाट एउटा हिममानवले अचानक बाटो बिराए झैँ एकाएक डाइरेक्सनको एंगल परिवर्तन गर्‍यो। भिडसँग नब्बे डिग्रीको एंगल बनाएर भक्तबहादुरको शौचालयतिर लम्कियो।

उसका आँखाहरू उतै थिए जतापट्टी भिड जाँदै थियो। शरीर उतै मोडिएको थियो जता उसलाई जानुछ। ऊ त केवल बायाँ साइडतिर साइड वाक मात्र गरिरहेको थियो। मानौँ, कुनै चुम्बकीय आकर्षणले उसलाई आफूतिर तानिरहेको होस्। 

उसले यताउता कतै पनि हेरेन। आफू अगाडि बढिरहेकै दिशातर्फ हेरिरह्यो। फटाफट शौचालयको ढोकासम्म पुग्यो। छम्छमाउँदै चुकुलमा हात पुर्‍यायो। बाहिरबाट ढोका बन्द गरिदियो। सायद भक्तबहादुर दोषी छन्, उसको टाउकोमा हिउँ हग्ने मानिस अरू कोही नभएर भक्तबहादुर नै हुन्। होइन भने त्यो हिउँ मानवलाई शौचालयको ढोका लगाउनुपर्ने के आइलाग्यो?

काम फत्ते गरिसकेपछि ऊ पुनः सोही डिग्रीको एंगल नबिराएर सरासर आफ्नो भिडमा गएर मिसियो र पहिले जस्तै गतिमा उसैगरी अगाडि बढ्न शुरू गर्‍यो। पछाडि फर्केर हेर्दा पनि हेरेन। कस्तो जड मान्छे रहेछ!

एकछिनमा आकाशमा बज्र हानेजस्तै चट्याङ पर्‍यो। गड्याङगुडुङ गर्‍यो। रुखमा शान्तसँग बसेका चराहरू भुर्र उडे। आकाश भरियो। समग्र पंक्षी जगतको शान्ति भंग भयो। आकाशको सन्नाटामा घोर चिरबिर थपियो।

चराहरूको त्यही झुण्डबाट गुलाबी रङको एउटा चरो भक्तबहादुरको शौचालयमाथि आएर थपक्क बस्यो। कागे शैलीमा केहीबेर दायाँबायाँ मुन्टो बटार्‍यो। ठोँडलाई शौचालयको भग्नावशेष छतमा दुइ चोटी रगड्यो। भुर्र उडेर भक्तबहादुरको कोठाको झ्यालको सिसामा चुच्चोले ठ्वाङ्ङ ढुङ्न पुग्यो। 

घरको सिसा चकनाचुर भयो। 

भक्तबहादुर यतिखेर शौचालयमा के गरिरहेका छन्? सोच्नु व्यर्थ हो। उनको ढोका बाहिरबाट बन्द छ। उनी चाहेर पनि बाहिर निस्कन सक्दैनन्।

गुलाबी चरो कोठाभित्र छिर्‍यो। आकाशमा जस्तै एक राउन्ड कोठाको माथिल्लो फराकिलो भागमा गोलगोल घुम्यो। त्यसपछि बेडमा गएर सिरानीको कर्नरमा कुकुरले जस्तो एकखुट्टा उचालेर पिच्च मुत्यो। होइन हग्यो। भित्ताको घडीमा गएर अर्को एक ठोँड बजार्‍यो। घडीको सुइराहरूलाई ठोँडले थुत्यो र झ्यालबाट बाहिर लगेर मिल्कायो। झुल्ने कुर्सीमा बसेर गुलाबी चरोले एक डान्स मार्‍यो। भित्तामा रहेको साइकलको चित्रधारी फ्रेमलाई ठुँगेर भुईँमा खसालिदियो।

भित्ताको अर्को छेउमा झुण्डिएको थियो-क्यालेन्डर। गुलाबी चरोको कर्के नजर क्यालेन्डरमा गएर ठोकियो। त्यतिन्जेल भक्तबहादुरको शौचालयको छतमा अर्को एउटा गिद्दे चरो आएर बसिसकेको थियो। त्यो गिद्दे चरोले पनि उही कागे शैलीमा दायाँबायाँ मुन्टो बटार्‍यो। चारपटक शौचालयको छतमा ठोँड रगड्यो। गिद्दे चरो गुलाबी चरोभन्दा आकारमा धेरै ठूलो थियो। 

गुलाबी चरोले गिद्दे चरोलाई देख्यो। गिद्दे चरोले गुलाबी चरोलाई देख्यो। दुवैका नजर जुधे। उनीहरूको नजर जुधाइमा कुनै पुरानो दुश्मनीको भाव झल्कन्थ्यो। प्रेमिल अनुरागको भाव भङ्गीमा कत्ति पनि थिएन।

दुवैजना आ-आफ्नो स्थानबाट एकैपटक भुर्र उडे। गुलाबी चरोले फटाफट भित्ताको क्यालेन्डरमा गएर ठुँग्यो। क्यालेन्डरको माथिल्लो सतहको पानो भर्खर डालीबाट झरेको फुलझैँ हावामा झुल्दैझुल्दै भुईँमा आएर खस्यो। त्यतिन्जेल गिद्देचरो कोठाको झ्यालमा पुगिसकेको थियो। दुवैका नजर अन्तिमपटक जुधे। कपर्दी खेल्न लागेका मानिस झैँ दुवैको हाउभाउ देखिन्थ्यो। 

गुलाबी चरो भुर्र उडेर कोठाको एक कर्नरमा राखिएको टेबलको बाक्लो बुकमाथि गएर थ्याँच्च बस्यो। गिद्देचरो पनि झ्यालको सिमानाबाट भित्र गुलाबी चरोलाई झम्टिउँला झैँ गरी उड्यो। गुलाबी चरोले बाक्लो पुस्तकको मध्यभागमा भरपूर जोड लगाएर ठुँग्यो र पुस्तकभित्र कतै अलप भयो। 

गिद्दे चरो अलमलमा पर्‍यो। बुकलाई जसोतसो ठोँडले लतारेर भुईँमा झारिदियो। एकछिन त्यसैमाथि बुर्कुसी मार्‍यो। ओछ्यानमा आएर केहीछिन ध्यानस्थ साधुजस्तो शान्त भएर बस्यो। केहीबेर अघि गुलाबी चरोले विष्ट्याएको बिष्टा चाट्यो र खरानी जस्तै धुलो भएर ओछ्यानमा बिलायो। 

यो दृश्य नियाल्ने म हुँ। म को हुँ? समय आएपछि भन्छु। 

भित्तेपात्रोमा ग्रीष्मको महिना चलिरहेको थियो। घडी बन्द थियो। क्षतविक्षत थियो। त्यसैले समयबारे केही अत्तो पत्तो भएन। बाटोमा अघि हिउँ मान्छे गइरहेको दिशाबाट केही मानिसका झुण्ड यो दिशातिर आउँदै गरेका थिए। स्वभावतः यी तिनै मानिस हुन सक्छन्-जो अघि यो दिशाबाट त्यो दिशातर्फ बढिरहेका थिए। यी बज्रस्वाँठहरूको अरू केही काम छैन कि क्या हो!

यिनीहरूको टाउकोमा भने ग्रे-कलरको माटाको ढिस्को जस्तो केही जमेको थियो। झट्ट हेर्दा कोनमा भर्खरभर्खर भरिएको चक्लेटी फ्लेभरको आइसक्रिम जस्तो देखिन्थ्यो। 

त्यही झुण्डबाट एकाएक एउटा मानिस भक्तबहादुरको शौचालयतिर बढ्यो। अघि कै शैलीमा। अघि कै एंगलमा। अघि कै हाउभाउमा। शौचालयको चुकुल खोल्यो र फेरि आफ्नो झुण्डमा गएर मिसियो।

अब भक्तबहादुर हत्तपत्त निसास्सिँदै शौचालयबाट बाहिर निस्कनेछ। क्रोधको ज्वारभाटासहित न्वारान देखिको बल जम्मा पारेर त्यो चक्लेटी क्रिमे स्वाँठको टाउकोको क्रिम गायब पारिदिनेछ। खाली कोनबाट भित्र छिर्नेछ र उसको अंग भंग गरिदिनेछ। अहिलेसम्मको घटनाक्रमको अवस्था नियाल्दा त्यसै हुनुपर्थ्यो, तर, त्यहाँ त्यस्तो केही भएन। 

किन भएन? अहिले थाहा पाइहाल्नुहुन्छ नि।

भक्तबहादुरले शौचालयबाट निस्कने कुनै छाँटकाँट देखाएन।

कस्तो हग्तबहादुर रहेछ ! 

छि !

°°°

त्यो वर्षको डिसेम्बर अन्तिम दिन। कुन वर्ष? 

त्यही वर्ष, जतिबेला ड्याङ्ग्रे चरी भक्तबहादुरको घर भएको ठाउँको बडेमानको रुखमा बस्ने गर्थी। त्यो रुख यति विशाल थियो कि त्यहाँ थुप्रै चराहरूको परिवार अटाएको थियो। उनीहरू समुहमा झुण्ड बनाएर चारो खोज्न निस्कन्थे र एक निश्चित ठाउँमा पुगेपछि आ-आफ्नो दिशा बदल्थे। 

त्यो विशाल रुखका हाँगाहरू अनन्त आकाशको गर्भमा यसरी घुसेका थिए जसरी त्यसका जराहरू धरतीमा घुसेका हुँदा हुन्।

त्यो रुख नेपाल देश जत्रो थिएन। भुटान देश जत्रो थियो। ठानौँ, त्यो चरो देशको नक्सा हो। जँहा थुप्रै प्रजातिका चराचुरुङ्गीहरू मिलेर बसेका छन्। त्यो रुखको जरो मर्‍यो भने ठूलो संख्याका उनीहरूको बीचल्ली हुनेछ।

त्यो रुखमा एउटा चरो बडो खरो थियो। सम्पूर्ण रुखादेशमा आफ्नो शासन जमाउन खोज्थ्यो। उसकी एउटी बचेरी थिई। भर्खर भर्खर उड्न सिकेकी थिई। टाढाटाढा पुग्न खोज्थी तर, एक्लै भएर डराउँथी। उसले एकदिन आकाशमा एउटा साथी चरो भेटी। उनीहरूको बातचित भयो। चिनापर्ची भयो। दैनन्दिन भेट्न थाले। सँगै घुम्न थाले। साथीको साथ पाएपछि चरी टाढाटाढा घुम्न पाउने भइ। नडराउने भई।

'तिम्रो घर कहाँ हो?', एकदिन चरीले सोधी।

'म त्यो परको वृहत वृक्षबाट बिलोङ गर्छु। मेरा बा-आमा त्यही वृक्षको कुनै हाँगामा डेरा जमाइ बसेका छन्। त्यहीँ हाम्रो पुर्ख्यौली घर हो ', चरोले भन्यो। 

चरी पनि त्यही रुखादेशबाट बिलोङ गर्थी। त्यही रुखमा शासन जमाउन खोज्ने खरो चरो कि बचेरी थिई। जब चरोले यो थाहा पायो दुवै खुशी भए। तर, उनीहरू रुखादेशको दुइ विपरीत धुर्वको हाँगाबाट बिलोङ गर्थे। त्यसैले उनीहरूले रुख नपुग्दै आ-आफ्नो हाँगो समाउन बाटो मोड्नुपर्थ्यो।

खरो चरो बडो अखडो थियो। उसको शासन लगभग रुखादेशमा फैलिसकेको थियो। उसले रुखको छेउ छाड्यो। मध्यतिर गएर आफ्नो विशाल साम्राज्य खडा गर्‍यो। त्यो साम्राज्य खडा गर्न रुखादेशका सबै चराचुरुङ्गीको उत्तिकै श्रम पसिना मिसिएको छ। ठोँड खिइएको छ। पखेटा पाट्टिएका छन्।

अखडो चरो मध्यभागमा बसाइ सरेपछि उसकी बचेरीलाई आफ्नो साथी चरोसँग दैनिक भेटघाटमा धेरै सुविधा भयो। अखडो चरोले आफ्नी बचेरीका लागी कहाँबाट हो दुइपाङ्ग्रे ल्याइदियो। त्यसपछि त उड्न मन नभएको बेला होस् वा उडेर थाकेको बेला त्यही दुइपाङ्ग्रेमा बसेर चरी हाँगा हाँगा कुद्न थाली। 

रुखादेशमा त्यस्तो गुड्ने यन्त्र पहिलोपटक देखिँदै थियो। आश्चर्यका दृष्टिहरू स्वत: त्यसमा पर्ने नै भए। 

चरो र चरी दुइपाङ्ग्रे चढेर रुखादेश विचरण गर्न थाले। गुडेर देखिने संसार उडेर देखिने संसार भन्दा बडो यथार्थ र वास्तविक हुने रहेछ भन्ने उनीहरूले चाल पाए। चराचरीको प्रेम रुखादेशभरी गाइँगुईँ  फैलियो।

अखडो चरोको सम्पूर्ण ध्यान राज्य सञ्चालनमा थियो। चराचरीको सम्पूर्ण ध्यान प्रेम पालनमा थियो। विधिको राज्य र प्रेमको साम्राज्य एकसाथ द्रुत गतिमा खडा हुने स्थितिमा देखिन्थे। रुखादेशमा चराचुरुङ्गीको संख्यामा व्यापक वृद्धि हुँदै गइरहेको थियो। 

‘अब रुखादेशमा निश्चित नियमकानुन कायम नगरी हुँदैन,’ एकदिन अखडो चरोले खरो दिमाग लगायो। राज्य प्रमुखको हैसियतले उसको कुरामा सबैले समर्थन जनाए। 

रुखादेशका चरिन्दाहरूलाई उनीहरूको कर्म अनुसार चार वर्णमा विभाजन गरियो। कर्म अनुसारको वर्णव्यवस्था लागू भयो। पहिचानका लागि केही विशेष सांकेतिक सूक्ष्म नियमहरू पनि बसाल्यो। चराचुरुङ्गीहरूले अब त्यही वर्णव्यवस्थाको दायरामा रहेर कामकारबाही गर्नुपर्ने भयो। 

सबैलाई नियम मन पर्‍यो। प्रभावकारी पनि भयो। रुखादेश व्यवस्थित जस्तो पनि भयो। कार्यविभाजन र कर्तव्य बोधले रुखादेशको भव्यतामा व्यापक वृद्धि भयो।अखडो चरोले वर्षौँ लगाएर एउटा मोटो पुस्तक लेख्यो। जुन रुखादेशको कानुन बन्यो। 

यो निर्णयबाट सबै खुशी थिए।

केही समय त रुखादेशमा वर्ण व्यवस्था राम्रै खिले झैँ देखियो। तर, जन्म लिएका नव चराचुरुङ्गीहरूले त्यसको नराम्रो प्रभाव झेल्नुपर्‍यो। बचेराबचेरीले पनि माउ चराचरी कै विडो थाम्नुपर्ने देखियो। कर्मको आधारमा वर्गीय अनुहारहरू बीच भिन्नाभिन्नै किसिमको पहिचान स्थापित हुन थाल्यो। कर्मीय चेतना र वर्णीय चेतनाको समघुलनबाट प्रस्फुटित नयाँ चेतनाले वर्णव्यवस्थालाई वर्ग व्यवस्थामा परिणत गरिदियो। चार फरक फरक वर्णको निधारमा फरक फरक दृष्टिकोणको कृत्रिम प्रकाश प्रज्वलित भयो। चेतको शासन कतै गुम भयो। विभेदको शासन लागू भयो।

°°°

‘यो रुखादेश कतै टेकिएर उभिएको त पक्कै हुनुपर्छ!’

आंशका र जिज्ञासाका स्वरूपहरूले यसरी आकार लिँदै थिए। रुखादेशमा कसैलाई पनि यो कुराको हेक्का थिएन, त्यो विशाल वृक्ष कतै गएर समाएको छ। कोही यो सोच्नै सक्दैनथ्यो-त्यसको कतै फेद पनि हुनुपर्छ।

रुखको उचाइ यति वृहत थियो कि कोहीपनि रुखको फेदसम्म पुग्न सकेका थिएनन्। जब जिज्ञासा र खोजमुलक चिन्तनको जन्म भयो, त्यसपछि रुखादेशको फेदतर्फको अन्त थाहा पाउन थुप्रै चरा बचेराहरूले उडान भरे। तर, अहँ उनीहरू बीच मै थकित हुन्थे र फर्कन्थे। रुखको हाँगाभन्दा मुनि उनीहरू बिसाउने टेको कतै भेट्दैनथे। 

विश्रामबिना थकान निश्चित हो र थकानको आफ्नै अडान हुनु निश्चित हो।

उता प्रेमिल चराचरीको प्रेम दिन प्रतिदिन झाँगिदै थियो। रुखादेशको फेद भेटियोस् वा नभेटियोस्, चराचरीको प्रेमको वृक्षले भने आफ्नो भुमी भेटिसकेको थियो। अखडो चरोकी बचेरीले आफ्नो प्रेमी चरोलाई दुइपाङ्ग्रे सिकाइदिएकी थिई। 

दुइपाङ्ग्रेमा बसेर हाँगाबिँगा कुद्ने चराचरीलाई देखेर रुखादेश मुग्ध थियो। प्रेमको लालित्यले वायुमा आफ्नो प्राण छरिसकेको थियो। राज्य व्यवस्थाको चौघेराभित्र प्रेमको राशलीला व्यापक हुँदै गयो। अखडो चरोसम्म यो कुरा एकदिन पुग्नु नै थियो, पुग्यो। अखडो चरोले आफ्नी बचेरीको प्रेममा कुनै अखडोपन देखाएन। दुवैको विवाह भयो। वर्ण व्यवस्थाका दुई भिन्न खाँबा आपसमा ठोक्किए। 

धरती भासिएन। आकाश खसेन। न कुनै चित्कार गुन्जियो। न कुनै कम्पन सुनियो। दुवै खाँबाहरू प्रकृतिको स्वभाविक नियमभित्र अटाए। उत्सव मनाइयो। 

अखडो चरो कि त्यही एकमात्र बचेरी थिई। त्यसैले राज्यमा दुवैजना नयाँ उत्तराधिकारी घोषित भए। चरोको कर्म फेरियो। वर्ण फेरियो। वर्णको मुखाकृतिबाट सिर्जित वर्गीय विभेदको सिकार उसलाई हुनु परेन। त्यसको धेरै समयपछि एकदिन एउटा घटना घटेको हो। उसको उडेर भुईँ छुने प्रयास विफल भएको हो। सपनाहरू अधुरिएका हुन्। जीवन र यौवन दुवै क्षय भएको हो।

कसको?

रुखादेशको एक चरो जो रुखको फेद पत्ता लगाउने अठोट लिएर बाँचिरहेको थियो। जुन उसको जीवनको अन्तिम ध्येय थियो। त्यो भन्दा पर उसको अर्को कुनै लक्ष्य थिएन।

उसको सपनाको देहावसान त्यसैदिन भयो। वा भनौँ, सपना र मृत्युको आलिङ्गन एकैपटक भयो। उड्दा उड्दै विश्राम गर्ने टेको नपाएर ऊ रुखादेशबाट तीव्र वेगमा फेदतिर खस्यो। 

वायु वेगको तीव्रतर ध्वनि कानमा गुन्जिएकोसम्म उसले सम्झिएको हो। त्यसपछि ऊ यो सम्झना र बिर्सनाको दुनियाँबाट बिदा भयो। 

'फ्यात्त !'

°°°

‘यो बडेमानको अग्लो न अग्लो आकाशतिर उक्लिएको काठे मुढो कहाँ पुगेको होला? यसबाट चढेर माथितिर गयो भने कहाँ पो पुगिएला?’ ध्यानस्थ साधुको मगजका रौँ यहीँ सोचेरै खुइलियो। 

कसलाई थाहा थियो, त्यो रुखादेशको फेदमा मान्छेहरू बस्छन् !

त्यो विराट रुखको फेदमा त्यो साधु सधैँ ध्यान गरी बस्थ्यो। उचाइमा ठिङ्ठिङ्, तर अग्लो न अग्लो। भुईँको ठूलो भागमा पकड जमाएको त्यो रुख रहस्यको एउटा यस्तो पुलिन्दा थियो, जो फुक्न बाँकी नै थियो। त्यो रुख हो भन्ने फेदमा बस्नेलाई कहिल्यै थाहा भएन।

भुईँमा बस्नेहरूका आँखाको दृष्टिले आकाशमा घुसेका ती रुखका हाँगाहरू कहिल्यै पत्ता लगाउनै सकेनन्। पत्ता नलागेका कुरा झुट हुन्छन्। असत्य हुन्छन्। यही मान्यता हो।

तर आकाशमा हराएका त्यो रुखका हाँगाविँगाको विशाल छायाँ भने भुईँसम्म आइपुग्थ्यो।

​चराले फेद भेट्ने प्रयास गरेजस्तै फेदमा बस्ने मानिसहरूले टुप्पो भेट्ने प्रयास नगरेका होइनन्। उनीहरूलाई त त्यो छायाँको काया दायाँबायाँ गरेको देखेर कुनै दिव्य शक्तिको आभासमात्रै हुन गएको थियो। 

साधुको कुटी फेदको छेवैमा थियो। उनी त्यसदिन फेदमा उभिएर सूर्यलाई दुवै हातले जल चढाउँदै थिए। 

‘फ्यात्त!’

यो आवाजमात्रै होइन उनको कानमा गुन्जिएको। यो आभास पनि हो उनको हातमा कुनै मांशपिण्ड खसेको। र यो भार पनि हो भर्खर उनको हातमा थेचारिएको। 

साधु खङ्ग्रङ्ङ भए। तर्सिए। 

मासुको डल्लो उनको हातबाट भुईँमा खस्यो। साधु दुइ कदम पछाडि सरे। आँखा र अनुहारको हाउभाउमा स्वभाविक हेरफेर भयो। आश्चर्यको घोर बादलले साधुको मुहार ढाक्यो।

त्यो चरो यति धेरैमाथिबाट खसेको थियो कि गुरूत्वाकर्षण र हावाको वेगिलो घर्षणबाट भुईँमा आइपुग्दा त्यो फगत एक टुक्रो तात्तातो मासुको डल्लोमा मात्रै परिणत हुन सकेको थियो। जसको एक स्पर्श साधुको चिसो हृदयमा तातो अग्नि झोस्न पर्याप्त थियो।

अब शुरू भयो रुखको उत्खनन्।

रुखको भित्रभित्रैबाट आकाशतिर सुरूङ खन्ने प्रपञ्च रचियो। योजना अनुरूप काम भयो। ‍भुईँ मान्छेहरू बीचबीचमा झ्यालजस्तो भ्वाङ बनाएर आफ्नो गन्तव्य तर्फका अनिश्चित मुकामहरूको मजा लिन्थे।

अग्ला झ्यालबाट भुईँ चिहाउँदा डुलेर देखिने संसारभन्दा उडेर देखिने संसार बडो मनमोहक हुँदो हो भन्ने उनीहरूलाई आभास हुँदै गयो। रुखादेशको रहस्योद्घाटन भन्दाबढी अब उनीहरूलाई आकाश छुने तिव्र मनोआकाङ्क्षाको लालशाले घेर्न थाल्यो।

उत्खननको उचाइ चुलिँदै गयो। झ्यालहरू खुल्दै गए। विवेकको द्वार बन्द भयो। रुख कमजोर हुँदै गयो।

त्यसपछि त के हुनु थियो? 

दुर्दशा ! दुर्भाग्य ! दुष्परिणाम !

एक समय आयो आकाशमा चिर्चिराहट सुनियो। कुनै पुरानो भग्नावशेषको मच्चाइजस्तो वा भनौँ पुरानो हवेलीको ढोका उघार्दा र लगाउँदाको जस्तो आवाज टाढाटाढासम्म फैलियो।

आकाशको अंगालोबाट छुटेर रुखादेश अन्ततः गङ्ग्रङ्ङ ढल्यो। पृथ्वीमा असाधारण हलचल भयो। महाकम्पन शुरू भयो। रुखादेशको छायाँमुनि परेकाहरू धुलोपीठो भए। महाकम्पनले निम्त्याएको विध्वंसले धरती मानवविहीन भयो। 

सम्पूर्ण चराचर जगत ध्वंस भयो। 

त्यो महावृक्ष दन्यकथाको राक्षस जस्तै युगसम्म त्यहीँ पल्टिरह्यो। मासिएर , नासिएर धरतीमा मिसियो।

मांसपिण्डबाट जन्माइएका कौरवका एक सय एक सन्तान जस्तै त्यो रुखादेशबाट खसेका मांसपिण्डबाट स्वःस्फूर्त नव मानव संरचनाको विकास हुन थाल्यो। विकास नवमानव संरचनाको भइरहेको थियो। तर, राज्य संरचना तथा व्यवस्था प्रणाली भने आकाश लोकको हुबहु धरती लोकमा ओर्लियो। 

उड्नसक्ने क्षमता राख्नेहरू हिँड्न, दौडन र उफ्रनमात्रै सक्ने भए। आकाश देखेर कल्पन सक्ने भए। चराहरू मान्छे त भए। तर, शासन भने उही पुरानै आशन जमाएर बस्यो।

हुनसक्छ, यही शासन धरती लोकबाट पाताल लोकतिरको यात्रा चयन गरोस्! के थाहा? माटो मुनि मान्छेले बनाएको साम्राज्य कस्तो हुनेछ !

°°°

भक्तबहादुर शौचालयबाट निस्किएनन्।

कतै त्यो हग्तबहादुरको त्यतै कतै डेथ त भएन? आउनुहोस्, भक्तबहादुरको शौचालयतिर प्रवेश गरौँ। 

शौचालयको ढोका ढप्काइएको मात्रै छ। भित्र ओर्लिने भर्‍याङ छ। त्यो भर्‍याङको लम्बाइ लगभग ग्रेट वाल अफ चाइनाको सय भागको एक भाग जति हुनुपर्छ।

भक्तबहादुरको शौचालय त झन उसको लिभिङ रूमभन्दा पनि अझ भव्य र विशाल जस्तो पो देखिन्छ। शौचालयभित्र मनमोहक सुन्दर बगैंचा छ। विभिन्न किसिमका फुलका डालीहरू छन्।

रङ्गीचङ्गी पुतलीहरू यत्रतत्र उडिरहेका छन्। बत्ती छैन। जूनकिरीका अनगिन्ती झुण्डहरू चिमचिमे लाल्टिन बोकेर हिँडिरहेका छन्। अत्तर जस्तो मन बहलाउने सुगन्ध खै कताबाट आइरहेको हो थाहा भएन।

शानदार बगैंचाको बीचाबीच एउटा गोल्डेन कमोड छ। जसमाथि बसेको छ-भक्तबहादुर। कानलाई हेडफोनले मजासँग च्याँपेर मस्तसँग ऊ केही कुराको आनन्द पो लिइरहेको जस्तो देखिन्छ।

कहीँ कतै बयान नगरिएको स्वर्गको शौचालय शायद यस्तै हुनुपर्छ।

भक्तबहादुरको ठीक अगाडि विशाल एलसीडी स्क्रिन छ-जसमा उसका आँखा एकटकले गडिरहेका छन्। थाहा छैन उसले आफ्नो घर बाहिर कहाँ कहाँ क्यामेरा फिट गरेको छ ! बाहिरको सबै नजारा ऊ भित्र बसेर मुस्कुराउँदै मजासँग चिहाइरहेको पो छ। 

उसको हातमा शौचालयको बेला बोकिएको चाँदीको लोटा छ। जसभित्रबाट अविराम निस्किरहेछन्-काजु किसमिस र बदामका टुक्राहरू।

त्यतिकैमा कतै पार्श्वबाट एउटा अनौठो ध्वनि गुन्जिन्छ, ‘महाराज तपाईंको ब्रेकफास्टको समय भयो।’

अब समय आयो। थाहा पाउनुभयो नि म को हुँ? 

म नै भक्तबहादुर हुँ!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.