शिक्षक भन्छन् : यसपालि पनि शैक्षिक सत्र पूरा हुने देखिएन

|
फाइल तस्बिर

काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्।

विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएकाे छ। 

फेरि पनि नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी छ। पछिल्लो समय कोरोना संक्रमणदर पनि बढिरहेको छ। त्यसो त यस वर्षको नयाँ शैक्षिक सत्र पनि कोभिडका कारण बिथोलिने देखिएको छ। अर्कोतर्फ सरकारले वैकल्पिक विधिबाट सिकाइ बढाउने भने पनि त्यो प्रभावकारी भएको छैन।

नयाँ पाठ्यपुस्तक नै पुगेन

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापा नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुगेकाले यसले पनि नयाँ शैक्षिक सत्रमा असर पुग्ने बताउँछन्।

उनले भने, ‘सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको घोषणा त गर्‍याे, तर नयाँ पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुगेको छैन, अनि के पढ्छन् विद्यार्थी?निजी विद्यालयमा अनलाइन पढाई भए पनि सामुदायिकमा हुन सकेको छैन, कोरोना बढ्दै छ, त्यसैले यो नयाँ शैक्षिक सत्र पनि पूरा नहुने देखिन्छ।’

सरकारी संयन्त्र कमजोर भएका कारण पहिलादेखि नै समयमा नयाँ पाठ्यपुस्तक नपुग्ने गरेको उनले बताए। ‘शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक पुग्दैन, कहिले सरकार कोरोना भन्छ, कहिले छपाई हुँदै छ त कहिले ढुवानी हुँदै छ भन्छ, सरकारी संयन्त्र नै धेरै कमजोर छ, लापरबाही बढी छ,’ थापाले भने।

सरकारले उपकरणहरु खरिद नगरिदिँदा सामुदायिक विद्यालयमा अनलाइन माध्यमबाट पढाइ हुन नसकेको उनको भनाइ छ। ‘सामुदायिक विद्यालयमा न ल्यापटप छ,न त इन्टरनेट,’ उनले भने, ‘सरकारले व्यवस्था गर्दैन,अनि कसरी अनलाइनबाट पढाइ हुन्छ? विद्यार्थी बढ्नबाट बञ्चित भइरहेका छन्।’

२०७७ देखि नै नयाँ शैक्षिक सत्रमा धक्का

कोभिड-१९ कहरका कारण २०७६ सालबाट विद्यार्थीको पढाइ त बिथोलियो नै, योसँगै शैक्षिक सत्रमा समेत ठूलो असर पुगेको छ। मानव स्रोत विकास केन्द्रका अनुसार २०७७ सालको शैक्षिक सत्रलाई लम्ब्याइयो। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएको थियो।

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरियो। २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा कायम भएको थियो। त्यस्तै, २०७८ सालको शैक्षिक सत्र चैत मसान्त कायम गरिएको छ। २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु भई १२ महिना नै कायम गर्ने योजना स्रोत विकास केन्द्रको छ।

‘नयाँ शैक्षिक सत्रबारे मन्त्रालयले निर्णय लिन्छ’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक पौडेलले नयाँ शैक्षिक सत्रको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय लिने बताए।

भने,‘शैक्षिक सत्र भर्खरै त सुरु भएको छ,अब पछि के हुन्छ भनी पूर्वअनुमान गर्न सकिन्न, शैक्षिक सत्रमा असर देखिए मन्त्रालयले यस विषयमा के गर्ने भन्नेबारे निर्णय लिन्छ।’

उनका अनुसार तत्काल भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने सम्भावना नभएकाले सरकारले हाललाई अनलाइन, रेडियो, टेलिभिजनजस्ता वैकल्पिक माध्यामबाट सिकाइ सहजीकरण गरिरहेको छ।

(यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.