७ महिनाभन्दा बढी समय, ८२ वटा अस्पतालको मात्र ठेक्का सम्झौता

|

काठमाडौं : सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने भन्दै यस यस अघिको सरकारले हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने लक्ष्य लिएको थियो। जसअनुसार गत १५ मंसिरमा एकैपटक देशभर ३ सय ९६ वटा अस्पताल निर्माण गर्ने भन्दै शिलान्यास थालेको थियो। ​

महत्वाकांक्षी रुपमा तामझामका साथ शिलान्यास गरिएका ती अस्पतालको निर्माण कार्य अझै बढ्न सकेको छैन। शिलान्यास गरेको ७ महिनाभन्दा बढी समय भइसकेको छ। जम्मा ८२ वटा अस्पतालको मात्र ठेक्का सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक संकलन गरेको विवरणअनुसार हालसम्म १ सय ५३ वटा पालिकाले अस्पताल निर्माण प्रक्रियाबारे विवरण पठाएका थिए। १ सय ५३ अस्पतालहरूको डिपिआर तयार भइसकेको समेत बताएका थिए।

यस्तै १ सय ४७ वटाले टेन्डरसमेत गरिसकेका र १ सय ४७ मध्ये ८२ वटा अस्पतालको ठेक्का सम्झौता भइसकेको विवरण मन्त्रालयमा आएको छ। मन्त्रालयमा आएको पछिल्लो विवरणअनुसार प्रदेश १ मा १६ वटा, प्रदेश २ मा ६ वटा, बागमती प्रदेशमा ११ वटा, गण्डकीमा ११ वटाका सम्झाैता भएका छन्।

यस्तै लुम्बिनीमा १५ वटा, कर्णालीमा ९ वटा र सुदूरपश्चिममा १४ वटा स्थानीय तहले अस्पताल निर्माणको ठेक्का सम्झौता गरिसकेका छन्। त्यसैगरी प्रदेश १ मा २७ वटा, प्रदेश २ मा १८ वटा, बागमतीमा १७ वटा, गण्डकीमा २१ वटा, लुम्बिनीमा २२ वटा, कर्णालीमा १७ र सुदूरपश्चिममा २५ वटा पालिकाले अस्पताल निर्माणका लागि टेन्डर आह्वान गरिसकेका थिए। तर तिनीहरूको टेन्डर प्रक्रिया पूरा भए/नभएको रिपोर्टिङ नआएको मन्त्रालयले जनाएको छ।

अस्पताल निर्माणमा जग्गा विवाद

मन्त्रालयमा रिपोर्टिङ गरेकामध्ये राजदेवी नगरपालिका रौतहट, महाभारत गाउँपालिका काभ्रे, पञ्चेश्वर गाउँपालिका बैतडीले जग्गा विवाद भएको जनाएका छन् भने डोल्पाबुद्ध गाउँपालिका डोल्पाले जग्गा प्राप्त नभएको जानकारी गराएका थिए।

१५६ वटा अस्पतालको विवरण नै आएन

मन्त्रालय स्रोतका अनुसार हालसम्म १ सय ५६ वटा स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया कस्तो छ भन्नेबारे केही विवरण पठाएका छैनन्। मन्त्रालय स्रोतले भन्यो, ‘एक सय ५६ वटा स्थानीय तहमा त अस्पताल निमार्ण कार्य कस्तो भएको छ भन्ने केही विवरण आएको छैन, तयारी अलि कम भएरै शिलान्यास गरिएको हुँदा पनि धेरै ठाउँमा प्रक्रिया नै नबढेको हुन सक्छ।‘

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ वटा अस्पताल बनाउने भन्दै एकैदिन गत १५ मंसिरमा ३०९ स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरेका थिए।

सरकारले ३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउन ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरिएको थियो।

सरकारले शिलान्याससँगै काम सुरु गर्न ५ बेडको अस्पतालका लागि ७५ लाख, १० बेडको अस्पतालका लागि ८५ लाख र १५ बेडको अस्पतालको लागि एक करोड रुपैयाँ निकासा दिएको थियो।

त्यससँगै टेन्डर आह्वान गरी काम सुरु गर्ने पालिकाहरूलाई अपुग पैसा पनि सरकारले थप गरिदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.