|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मितादेवी धामीको हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ।

शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको हो।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। घटना घटेको डेढ महिना बित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै संघर्ष समितिले चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाइएको जनाएको छ।

तत्काल अनुसाधन प्रतिवदेश सार्वजनिक गर्नुपर्ने, करिब दुई महिना अवधिसम्म पनि कसैलाई पनि गिरफ्तार नगरी कानुनी कारबाही नगरेको हुँदा अपराधि पत्ता लगाई कारबाही गर्नुपर्ने माग देउवा समक्षसँग संघर्ष समितिले राखेको छ।

सबै नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारको हो तर, अस्मिताको ज्यानको सुरक्षा सरकारले गर्न नसकेको हुँदा धामीका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

यसका साथै मदिरा सेवन गरी अपराध गर्ने गरेको हुँदा डडेल्धुरालाई मदिरा निषेधित जिल्ला घोषणा गर्नुपर्ने मागसमेत प्रधानमन्त्री देउवासँग राखेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिएका छन्।

समितिले चार बुँदे माग १५ दिनभित्रमा पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापन पत्रमार्फत् सरकारलाई दिएको छ। संघर्षका कार्यक्रमहरू पनि सरकारलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। माग पूरा नगरिए भदौ १ देखि ३ गतेसम्म इलाका प्रशासन कार्यालय जोडबुढामा धर्ना दिने, ४ गते जोगबुडा बजारमा नारा–जुलुस गर्ने, ५ गते सरकारी कार्यालयमा तालाबन्दी र ६ गतेदेखि अनिश्चित सयमसम्म डडेल्धुरा जिल्ला बन्द गर्ने संघर्ष समितिले सरकारलाई चेतावनी दिएको छ।

डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला भएकाले पनि अस्मिता न्याय पाउने अपेक्षा संघर्ष समितिले गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

उनले प्रहरीले अहिले अनुसन्धान गरिरहेकाले यसबारेमा थप बोल्न नमिल्ने पनि बताएका छन्। घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस् प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.