|

काठमाडौं : किरात वाम्बुले राईहरूले बाँसुरी दिवस मनाएका छन्। शुक्रबार वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा पाँचौँ पटक भर्चुअल माध्यमबाट उनीहरूले दिवस मनाएका हुन्। 

राईहरूले २०७४ सालदेखि लोप हुँदै गएको बाँसुरी बजाउने प्रचलनलाई जोगाउने उद्देश्यले प्रत्येक ‘साउन १५ लाई बाँसुरी दिवस’को रुपमा मनाउँदै आएका छन्। 

भर्चुअल कार्यक्रममा जीवन राई, कमल राई, मनकुमार राई,सरुमाया राई, नवराज राईलगायत ४१ जना कलाकारले बाँसुरी र बिनायो बजाएका थिए। उनीहरूले सुनकोसी र दूधकोसी संगम आसपासका विभिन्न लोकभाकाकाे बाँसुरी बजाएका थिए।

सो कार्यक्रम इन्डिजिनियस टेलिभिजनबाट लाइभ प्रशारण गरिएको थियो। भर्चुअल कार्यक्रममा वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईले संस्थाको स्थापनाकालदेखि नै किरात वाम्बुले राईहरूको कला,भाषा,संस्कृतिहरूलाई जगेर्ना गर्दै आएको बताए। 

उनले भने,‘बाम्बुले राईहरूको कला, संस्कृतिलाई यो संस्थाले जीवन्त राख्दै आएका छ, कहिलै बाँसुरी, बिनायोजस्ता लोकबाजाहरू लोप हुन नदिऔँ।’ उनका  अनुसार नेपालको पूर्वी क्षेत्र आसपासमा रहेका किराती वाम्बुले राईहरूमा जब साउन १५ लाग्छ, बाँसुरी बजाउने प्रचलन छ।

कार्यक्रममा सहभागी राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले कोभिडलाई सामना गर्दै पनि वाम्रास संस्थाले कार्यक्रम निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरे।

‘पहिला म साउन १५ कहिले आउँछ र बाँसुरी बजाउ भन्दै हुर्केको मान्छे हुँ,’उनले भने,‘लोकभाकाहरू पछिल्लो समय लोप हुँदै आएको छ,तर संस्थाले बचाउन लागि परेको छ,आज बाँसुरी बजाएको सुन्नु पाउँदा आनन्द दिएको छ, दुधकोसी वन पाखा जाँदाको ती पल सम्झिरहेको छु।’ 

उनले लोक संस्कृतिहरू जीवनका दु:खसँग जोडिएको पनि बताए। ‘यो बाँसुरी बचाउनसके धेरै लोकभाका बच्ने देखिएको छ,यसलाई थप प्रभावकारी रुपले सधै बचाउन लागिपर्नुपर्छ,’रचनाकार माइलाले भने।

साउन १५ मा किन मनाउँछन् बाँसुरी दिवस ?

वाम्रास संस्थाका अध्यक्ष राईका अनुसार असार र साउन १४ सम्म किराती वाम्बुले राईका देवताहरू गुफा बस्ने लोक मान्यता छ। यो अवधिमा बाजा बजाउनु हुँदैन, नङ र कपाल काट्न हुँदैन भन्ने पनि मान्यता छ।

साउन १५ देखि देवताहरू उपवास सकेर गुफाबाट बाहिर निस्किन्छन्। उनीहरूको स्वागतका लागि सबै उमेर समूहका मानिसहरू बाँसुरी बजाउने गर्छन्। यस दिन भकारीमा राखिएको नयाँ अन्न आफ्नो पितृहरूलाई चढाइन्छ।

किराती समुदायको मौलिक बाजा ढोल, झ्याम्टा, चमर र सिकिरीलगायत भए पनि मनोरञ्जनको साधनका रूपमा बाँसुरी, मुरली बढी प्रयोग हुने गरेका छन्। अध्यक्ष राईले भने, ‘देवताहरू गुफा बसेको अवधिमा नङ र कपाल काट्न हुँदैन भन्ने मान्यता छ, महिलाले कपाल कोरेमा भुइँमा झार्न हुँदैन भन्ने पनि मान्यता पनि छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.