|

काठमाडौं : कोरोना संक्रमणको दर बढ्न थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउनको अवधारणा तयार पारेको छ।

केन्द्रले तयार पारेको स्मार्ट लकडाउनको अवधारणा शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सीसीएमसीको निर्देशक समितिको बैठकमा पेश गरिएको हाे।

सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको अवधारणा केन्द्रले निर्देशक समितिमा पेश गरेको जानकारी दिए। उनले कोभिड १९ संक्रमणको दर, मृत्यु दर, अस्पतालमा पूर्वाधारको अवस्थालगायतका सूचकका आधारमा जोखिमलाई चार वटा क्षेत्रमा वर्गीकरण गर्न प्रस्ताव गरिएको बताए।

‘जोखिमका आधारमा सबैभन्दा धेरै जोखिम क्षेत्रलाई रेड, त्यसपछि एम्बर, एल्लो र ग्रिन जोनमा वर्गीकरण गरेर सोही अनुसारको लकडाउन गर्न सकिने गरी अवधारणा तयार पारिएको छ’ खतिवडाले थाहाखबरसँग भने,‘अहिले अनुमानका आधारमा लकडाउन गरिँदै आएकोमा अवधारणा स्वीकृत भएपछि तथ्यगत विश्लेषणका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्न सकिनेछ।’

खतिवडाले अवधारणा स्वीकृत भएपछि कोरोनाको जोखिम जिल्लागत रुपमा आफैले वर्गीकरण गर्न सकिने बताए। ‘त्यसो हुँदा तथ्यगत आधारमा सबैले विकेन्द्रित रुपमा निर्णय गर्न सक्नेछन्’ उनले भने,‘अहिलेको जस्तो केन्द्रले जे गर्‍यो अन्य जिल्लाले पनि त्यही गर्ने परम्परा हट्ने छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पेश गरिएको अवधारणा अध्ययन पछि आगामी बैठकले स्वीकृत गर्ने खतिवडाले बताए। संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ।

सीसीएमसी अध्यक्ष समेत रहेका देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न पनि निर्देशन दिएका छन्। कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएको भन्दै देउवाले क्यूआर कोड लागू गर्न निर्देशन दिएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.