|

बारा : मानवीय गतिविधि बढ्दै जादा बारामा दुर्लभ पाटे बाघको बसोबास क्षेत्र मानवीय चेपुवामा परेको छ।

पूर्व–पश्चिम राजमार्ग निमार्ण, बढ्दो औधोगिकीकरण, भौतिक पूर्वाधार निमार्णका कारण बाघको बासस्थान क्षेत्रहरु मानवीय चेपुवामा परेर साँघुरिँदै गएको हो।

पर्सा राष्ट्रिय निकुञ्जको अम्लेखगञ्ज–पथलैया र पथलैया–तामागढी सडक खण्डमा चर्को हर्न बजाएर गुड्ने ओभरलोडका सवारी साधनको कारण बाघ राजमार्गको नजिकको वन क्षेत्र भन्दा पनि चुरे क्षेत्रतर्फ मात्रै बस्न रुचाउने गरेको विज्ञहरुले जनाएका छन्।

निकुञ्जसँग जोडिएको तराई–काठमाडौं जोड्ने द्रुतमार्ग, हुलाकी राजमार्ग, विस्तार हुँदै गरेको चार लेनको पूर्व–पश्चिम राजमार्ग, रेलमार्ग, प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल र वन क्षेत्रभित्र राखिएका हाइटेन्सन (११ हजार भोल्ट विद्युत प्रसारण लाइन) लगायत विस्तारित सडक पूर्वाधारका कारण मानवीय गतिविधि बढ्दै गएकोले बाघको बासस्थान क्षेत्रहरू साँघुरिँदै गएको जैविक विविधता संरक्षण केन्द्रका संरक्षण अधिकृत डा.आशिष गुरुङले जनाएका छन्।

उनले राजमार्गका कारण बाराको वन क्षेत्र बाघको लागि उपयुक्त हुदैन कि ?, बाघले सो क्षेत्र बासस्थानका लागि रुचाउदैन कि ? भन्ने चिन्ता बढेको बताए। ‘बासस्थान क्षेत्र सिमित हुदै जाँदा बाघको सख्या दोब्बर गर्नुभन्दा ठूलो चुनौती बासस्थानको छ, बासस्थानको अभावमा बाघ बस्ती छिरेर मानवसँग द्वन्द्वमा आउछ’ उनले भने।

फागुन दोस्रो साता पर्सा राष्ट्रिय निकुञ्जले बाघको अनुसन्धानका लागि आठ वर्षको बयस्क भाले बाघमा रेडियोकलर जडान गरेर अनुसन्धान गरिरहेको छ। फागुन २ गते रेडियोकलर जडान गरिएको बाघलाई ९१ हप्तासम्म अध्ययन गरिने निकुञ्जले जनाएको छ।

सामान्यतया एउटै बाघको बसोबास क्षेत्र (होम रेन्ज) भालेको ५० देखि ६० किलोमिटर र पोथी २० देखि ३० किलोमिटर हुन्छ। बाघ बस्ने वातावरण सुदृढ बनाउन सके बाघको संख्या अझ बढ्न सक्ने संरक्षण अधिकृत गुरुङले जनाए।

सन् २०१८ मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ ‘हलखोरिया दह’ क्षेत्रमा एउटा मात्रै बाघ रहेकोमा हाल सो क्षेत्रमा ३ वटा बच्चा (डमरु) सहित चार वटा बयस्क बाघ रहेको निकुञ्जले जनाएको छ।

‘बाघ जोगाउन बासस्थान क्षेत्र, आहारा र सहअस्तित्वमा रहेका अरु जनावर पनि चाहिन्छ। त्यो नभइकन बाघलाई मात्र जोगाउन सकिदैन’ डा गुरुङले भने। सन् १०१८ को गणनामा पर्सा निकुञ्जमा मात्रै पाटे बाघको सख्या १८ रहेकोमा यो चार वर्षको अन्तरालमा बढेर बाघको संख्या २३ देखि २५ को हाराहारीमा पुगेको छ।

पछिल्लो समय निकुञ्जको हलखोरिया दह क्षेत्र बाघका लागि बासस्थान र आहारा दुवै हिसावले उपयुक्त रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए। सो क्षेत्रमा एक बयस्क पोथी बाघले ३ वटा डमरु जन्माएकी छिन्।

‘बाघ संरक्षणमा हामी लक्ष्यको नजिक छौ, बाघका सबै प्रजातिलाई कसरी संरक्षण गर्ने भन्ने हामीलाई ठूलो चुनौती छ’ साहले भने। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको अनुसूची १ अनुसार २६ वटा संरक्षित जनावरभित्र बाघ पनि पर्दछ।

सरकारले २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुसार २ सय ५० बनाउने लक्ष्य राखेको छ। चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा गरी हाल देशभर २ सय ३५ बाघ छन्।

४७ हजार १ सय ८१ हेक्टर बाराको कुल वन क्षेत्रमध्ये १५ हजार ९ सय ९१ हेक्टर पर्सा राष्ट्रिय निकुञ्ज पर्दछ। यो पूर्वपश्चिम राजमार्गको फास्ट ट्रयाकसँग जोडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.