|

म्याग्दी  : जिल्लाको  बेनी-भकुण्डे मोटरबाटो ट्याक खुलेको १२ वर्ष बितिसक्दा पनि यातायातका साधनहरू संचालन हुन सकेका छैनन्।

०६६ सालमा ट्याक खुलेको,  साढे ७ किमि दूरीको बेनी—भकुण्डे सडकको  मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भए पनि न त्यो सडकमा  यातायातका साधनहरु संचालन हुन नसकेपछि  सडक मर्मतका नाममा खर्च भएको लाखौं  रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयको गुनासो रहेको छ।

यस सडकको ट्याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, साना जिप र मोटर साइकलबाहेक ठूला सवारी साधनहरू सञ्‍चालन हुन सकेका छैनन्। साना सवारी साधनहरु पनि वर्षका ४ महिना मात्र मुस्किलले सञ्‍चालन हुने गरेका स्थानीयले बताएका छन्। सडकमा मोटरसाइकलन सम्म गुड्ने बनाउनका लागि स्थानीय प्रतिभा युवा क्लबमा आवद्ध पदाधिकारी र स्थानीयवासीले श्रमदान गरेर ढुंगा, गेगर पन्छाउने गरे पनि पानी पर्दाबित्तिकै सडकको अवस्था कामै नलाग्ने हुने गरेको प्रतिभा युवा क्लब ज्यामरुककोटका सल्लाहाकार याम कार्कीले बताए।

सडक खण्डको कन्थराजथान क्षेत्र र रोहोटे क्षेत्रमा पटक-पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्य रूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधनहरु संचालन हुन नसकेका स्थानीयवासिन्दाहरुको भनाइ रहेको छ।

 ‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो, बाटोको स्थायित्व भएन’ स्थानीय दिलबहादुर कार्कीले बताए।

कार्कीका अनुसार बेनीदेखि भकुण्डेसम्मजानका लागि सल्लेनधारासम्म ४ वटा बाटा बनाइएको भए पनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन्। बेनी—ठूलोगैरा—रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदासमेत बाटो बिग्रने गरेको छ।

‘कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरै थोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवार चल्न लाएका बन्न नसकेको’बेनपा २ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेल बताए।

बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले कमजोर भू–बनोट,  धेरै घुम्ती भएको र बनक्षेत्र रहेकोले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताए।

सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको वडाअध्यक्ष थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.