|
फाइल फोटो

काठमाडौं : तुइन तर्दै गर्दा तार काटिदिएपछि नेपाली युवाको मृत्यु भएको प्रकरणमा नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) ले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को भर्त्सना गरेको छ।

वाइसीएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीले विज्ञप्ति जारी गर्दै एसएसबीको निन्दा गरेका हुन्‌। 

एमएमबीले तुइनको तार काटिदिएपछि दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको थियो। 

जारी विज्ञप्तिमा लेखिएको छ, ‘सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्छौँ। छिमेकी मुलुकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ।’

विस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलुक एवम्‌ नागरिकहरूप्रति समानतापूर्ण व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्बद्ध सबैसँग वाइसीएलले जोडदार माग गरेको छ। 

शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम्‌ मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवम्‌ राहतका निम्ति नेपाल सरकारसँग माग गरिएको छ।

सरकारका तर्फबाट भारतीय दूतावासलाई घटनाको स्पष्टीकरण लिन समेत माग गरेका छन्। देशको स्वाधीनताको पक्षमा एकीकृत संघर्षका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवम्‌ प्रजातान्त्रिक युवाहरूमा हार्दिक आह्वान समेत गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.