|

मोरङ : जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका सर्वसाधरणका लागि आयआर्जनको माध्यम बनेको छ। यस क्षेत्रका सर्वसाधरणले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो बेचेर खर्चको जोहो गर्दै आएका छन्।

उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ। चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यस क्षेत्रका सर्वसाधरणका लागि आयस्रोतको माध्यम बनेको छ।

निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ जंगलमा निगुरो टिप्न प्रवेश गर्छन्। उर्लाबारीको उत्तरी क्षेत्र साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन्।

एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्ने मिक्लाजुङ–३ की भिममाया विकले बताइन्। बिहान ८ देखि ३ बजेसम्म लगातार टिप्दा एक डोको हुने उनले बताइन्। अन्य महिनाको तुलनामा वर्षाको तीन महिना निगुरो बढी पायने गरेको भिममायाले बताइन्।

उर्लाबारीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समूह बनाएर डुम्रेको जंगलमा निगुरो संकलन गर्न पुग्छिन्। बिहान–बेलुकाको घरधन्दाबाट बँचेको समय उनी निगुरो टिप्न खर्चिन्छन्। निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको देविकाले बतइन्।

मिक्लाजुङ–३ टाँडीबाट निगुरो संकलन गर्न आइपुगेका मनबहादुर रसाइली दैनिक ज्याला मजदुरी गर्ने मजदुर हुन्। पछिल्लो समय कोरोनाका कारण सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उनी समेत निगुरो टिपेरै दैनिक गुजारा चलाइरहेका छन्। निगुरो टिपेरै सबै खर्च नचल्ने भए पनि भरथेगसम्म हुने गरेको उनको भनाइ छ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्व–पश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो। राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गरी लान्छन्। पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० देखि ३० रुपैयाँ प्रतिमुठा बिक्री हुँदै आएको छ। निगुरो प्राकृतिक रुपमै उम्रिने र हुर्किने भएकाले बिषादि र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.