'जनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर भ्रम फैलाए'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई 'देशद्रोही'को संज्ञा दिएका छन्। 

एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने, 'जनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे। माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन। फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे। पार्टी हामी सबैले बनाएका हौँ।' 

पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको उनले आरोप लगाए। 'नेकपा एमालेको सरकार ढाले, लगभग दुई तिहाइको पार्टी फुटाए, एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छ' ओलीको भनाइ थियो। 

पार्टी एकताको र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई उनले निर्देशन समेत दिए। पार्टी एकता असफल नभएर प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका आरोप ओलीले लगाए। अदालतको निर्णयपछि प्रचण्डलाई नाम दर्ता गर्न आयोग जान आग्रह गर्दा नमानेको उनले सुनाए। 

ओलीले भने, 'अदालतले पार्टी फुटाएको साँचो हाेइन। अर्काको नाम भएकाले अर्को नाममा दर्ता गर्न आउनु भएको हो। मैले प्रचण्डलाई फोन गरें। तर, उहाँले मान्नुभएन। माधवकुमार नेपाललगायत एकता विरोधी तत्वहरुले त्यसको विरोध गरे।'

देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भएकाले सुशासन र जनताको पक्षमा काम गर्न नसक्ने जिकिर गरे। आगामी निर्वाचनमा बहुमत ल्याएर देखाउने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.