|

झापा  : बिर्तामोडको होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणका विषयमा झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेको जनाइएको छ।

गठित समितिले बिर्तामोड नगरपालिकास्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड( १९ विरुद्धको चाइनिज भेरोसिल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा फेला परेको सम्बन्धमा सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

साथै छानबिन नटुङ्गिदा सम्म फोकल पर्सन खडकालाई खोप सम्बन्धित कुनै पनि गतिविधि संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गर्ने, हालसम्मको कोभिड( १९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिने र पेटोल पम्पहरूमा काम गर्ने ३०० जना कामदारलाई चारआली डिपोमा गई खोप (जोनसोन) लगाउने व्यवस्था स्वास्थ्य कार्यालय झापाले मिलाउने बैठकले निर्णय समेत गरेको उनले बताए।

बैठकमा नयाँ श्रीनाथ गण चाराआलीका प्रमुख सेनानी अमर जङ्ग थापा, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डे, अनुसन्धान कार्यालय झापाका उप अनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईँ, मेची अस्पतालका मेसु डा टङ्कप्रसाद बाह्र कोटी, समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख योगराज घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कोरोनाबिरुद्धको भेरोसिल खोपसहित खड्कालाई विद्यार्थी नेता र स्थानीय युवाहरूले रंगेहात समातेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले होटेलबाट कार्टुनमा १०३ भाइल अर्थात् २०६ डोज खोपसमेत बरामद गरेको थियो। खोपसहित नियन्त्रणमा लिएका खडकालाई प्रहरी राती नै छाडिदिएपछि त्यसको विरोधमा विद्यार्थी सङ्गठनले शनिवार बिहान बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.