|

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ। 

गत असार एक गते आएको भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर गएरातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। 

असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति पुर्‍याएको थियो। तीन तलाको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगाएको खनालले बताए। उनका अनुसार बाढीले रेडियोको भवनसहित ७ वटा पक्की र ६ वटा कच्ची गरी १३ वटा घर बगाएको छ। 

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएको कारण बाढी आएको हुनसक्ने अनुमान गरि पनि कुन ठाउँमा पहिरो गएको भन्ने यकिन हुन सकेको छैन। बाढीबाट मानवीय क्षतिको खवर नआएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाकारी दिए। पहिले नै बाढीले जोखिमयुक्त बनाएका घरहरुमा मानिस नबस्ने भएकाले मानवीय क्षति नभएको पोखरेलको भनाइ छ। 

यस्तै बाढीले हेलम्बु र मेलम्ची जोड्ने चनौटेमाथिको रातो पुल बगाएको छ। चनौटेस्थित रातोपुल बाढीले बगाएपछि मेलम्ची बजार र हेलम्बु गाउँपालिको सडक सञ्जाल टुटेको छ। मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गएराति देखि उर्लिएको बाढीले बगाएको हो। 

चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजारदेखि माथि मेलम्ची नदीमा कुनै पुल बाँकी नरहेको बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली उद्धारमा खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.