|

अहिले ३२ औँ संस्करणको गृष्मकालीन ओलम्पिक जापानको टोकियोमा चलिरहेको छ। नेपालबाट सहभागी सबै पाँचै खेलाडीले पहिलो चरण नै पार गर्न सकेनन्।

एथलेटिक्स, जुडो, सुटिङ र पौडीको पुरुषतर्फको खेलमा नेपालले खासै लोभलाग्दो प्रदर्शन गर्न सकेन। पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए।

एथ्लेटिक्सकी सरस्वती चौधरीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन्। जुडोकी सोनिया भट्ट रसियन खेलाडीसँग भारी अन्तरले पराजित भएकी थिइन्। 

टोकियोमा अहिले तामझामका साथ नेपाली खेलाडीहरू खेल्न गइरहँदा ५७ वर्ष अघि यही स्थानबाट नेपालले ओलम्पिक प्रतियोगितातर्फ बामे सरेको थियो।

सन् १९६४ मा जापानको टोकियोमा सम्पन्न १८ औँ गृष्मकालीन ओलम्पिकमा नेपालबाट २ खेलमा ६ खेलाडीले सहभागिता जनाएका थिए। पहिलोपटक देशको झण्डा लिएर ओलम्पिकमा बक्सिङका ४ र एथ्लेटिक्सका २ खेलाडीले सहभागिता जनाएका थिए।

हङकङमा गोर्खा सैनिकका रूपमा काम गरिरहँदा चारै जनाले टोकियोमा सम्पन्न १८ औँ ओलम्पिकमा भाग लिन गएका थिए। एथ्लेटिक्सका दुबै खेलाडी यो संसारमा छैनन्। बक्सिङका ४ मध्ये २ खेलाडी जीवित नै छन्।

एक खेलाडी भीमबहादुर गुरुङ भारतको भोपालमा भएको भनिएपनि सम्पर्क छैन। बक्सिङका ओमप्रसाद पुनको निधन भइसकेको छ। दुई बक्सर रामप्रसाद गुरुङ र नमसिंह थापा अहिले रिटायर्ड जिवन बिताइरहेका छन्। हाल थापा हङकङमा छन् भने गुरुङ चितवन भरतपुरको बरौजीस्थित आफ्नै घरमा श्रीमती लक्ष्मी गुरुङसँग बसिरहेका छन्।

थापा र गुरुङ नेपालको पहिलो ओलम्पिक सहभागिताका जिउँदो इतिहास हुन्। पुर्ख्यौली घर स्याङ्जाको दरोङ भएपनि रामप्रसादको जन्म पाकिस्तानमा भएको थियो। बेलायती सेनामा कार्यरत बुबा कप्तान धनबहादुर गुरुङ पाकिस्तानमा रहँदा उनको जन्म भएको थियो। १४ वर्षको उमेरमै बेलायती सेनामा उनी भर्ती भएका थिए। उनै रामप्रसादलाई आजभन्दा ५७ वर्ष अघि टोकियोमै भएको त्यो ओलम्पिकका घटनाहरू ताजै छ।

शरीर कमजोर बन्दै गएपनि यादहरूले बलियो बनाइरहेको बताउने उनै ७७ वर्षीय रामप्रसादसँग १८ औँ संस्करणको टोकियो ओलम्पिकका अनुभव र भोगाइका विषयमा थाहाकर्मी नवीन लुइँटेलले कुराकानी गरेका छन्। 

नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिक खेल्ने अवसर कसरी पाउनुभयो? 

के कसरी खेल्न पाइयो भन्ने भित्रि कुरा चाँही मलाई उति सारो थाहा छैन। हामीहरू सेलेक्सन भयौँ भन्ने जानकारी मात्र पाएका हौँ। जहाँसम्म पछि मैले बुझे ब्रिटिश फौजले नै नेपाली खेलकुद निकायसँग समन्वय गरी हामीलाई ओलम्पिक खेल्ने व्यवस्थापन गरिदिएको हो।

हङकङमा ग्यालीपोली भन्ने ठाउँमा ६ गोर्खा राइफल्सको मेन बेसक्याम्प हो। त्यहाँ हामी साथीहरू ट्रेनिङ गर्थ्यौँ। अनि बेला बेलामा बाहिर गएर पनि हामी खेल्थ्यौँ। अभ्यास भइरहन्थ्यो। ओलम्पिकमा भाग लिन जानुअघि त्यहाँको ’ल्यान्ड फोर्सेस सिक्स गोर्खा राइफल्सले’ वर्षको उत्कृष्ट बक्सिङ खेलाडीको उपाधि मलाई दिएको थियो।

नेपालकै प्रतिनिधित्व गरेर खेल्न गइरहेको भन्ने थाहा भयो कि भएन त त्यतिबेला? 

शुरूमा त थाहा भएन किनभने म छुट्टि मनाउन आफ्नो घर चितवन गएको थिए। सन् १९६३ को अन्तिमतिर छुट्टि लिएर घर बसेको एक महिना पनि नपुग्दै मलाई पल्टनले बोलायो। जागीर खाएको ४ वर्षसम्म घर नआएको हुनाले मलाई त्यतिबेला बोलाउने बित्तिकै जान मन लागेन।

पहिलो पटक ओलम्पिक खेलेपछि अर्कोपटक पनि खेल्ने चाहना नभएको होइन। अर्को पटक मौका पाएमा राम्रो नतिजा ल्याउने म मा अभिलाषा थियो। तर, सन् १९६६ बाट नै मैले बक्सिङ खेल्न छाडेँ।

पल्टनले यो खेल्नकै लागि भनेर किटान गरेर बोलाएको पनि थिएन। त्यसैले मैले आफ्नो बिदा अवधिभर कुनै चासो नदिएर घरै बसे। घरमा खेतीपातीको सिजन भएकाले नयाँ ल्याइएको ट्रयाक्टर चलाएर बसिरहेको थिए। बिदा सकिएर काठमाडौं हाजिर हुनासाथ पल्टनले बक्सिङ खेल्न बोलाएको छ भन्ने थाहा भयो।

फोटो स्रोत : नेपाल ओलम्पिक संग्रहालय 

त्यही दिनको विशेष फ्लाइट बुक गरेर हङकङ गए। त्यहाँको ग्यालीपोली ब्यारेक पुग्नासाथ बक्सिङको अभ्यास शुरू गरिहाले। लौ यसरी ओलम्पिकमा भाग लिनपर्ने भनेर केही दिनपछि मात्र थाहा भयो। 

ओलम्पिक खेल्न टोकियो पुग्दा अरू साथीहरूसँग सम्पर्क कसरी भएको थियो?

अरू साथीहरूमध्ये बक्सिङका ३ खेलाडी पनि एउटै पल्टनका थियौँ। एथ्लेटिक्सका भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा पनि थिए। हामीहरू सबै ६ जना उहीँ टोकियोमा भेटियौँ। हामी बक्सिङका खेलाडी टोकियोअघि ओकिनावा भन्ने स्थानमा एक हप्ता प्रशिक्षणमा बसेका थियौँ।

नेपालको झण्डामुनि मार्चपास गर्दा निकै गौरव लागेको थियो, त्यसबारे भनिसाध्य छैन। हङकङबाट हर्क्युलिस भन्ने सैनिक सामाग्री बोक्ने विमानमा जापानको ओकिनावा हुँदै ओलम्पिक भिलेजमा हामीहरू पुगेका थियौँ। नेपालकै पोशाक लगाएर गएका थियौँ। 

यसपछि हामी टोकियो ओलम्पिक भिलेजमा पुगेका थियौँ। नेपाली ओलम्पियनका लागि भनेर त्यहाँ एउटा घर छुट्याइएको थियो। त्यो घरमा हामी ४ बक्सर, नेपालबाट आएका २ जना म्याराथन धावक सिलवाल र थापा तथा बक्सिङ र एथ्लेटिक्सका प्रशिक्षकहरूसँगै बस्यौ।

त्यो बेला नेपाली पोशाक कस्तो थियो?

त्यतिबेला ओलम्पिकमा जाने भनेपछि हङकङमा २४ घण्टामा राजमुकुटको चिन्हसहितको नेपाली कोट हाम्रा लागि तयार पारिएको थियो।

रातो मखमलको कोट यति राम्रो छ कि जसलाई मैले ललितपुर सातदोबाटोको घरमा सजाएर राखेको छु। पोशाकमा त्यतिबेला सर्टपाइन्ट, टाई र कालो टोपी पनि थियो। 

ओलम्पिक खेल्न गएको बक्सिङ टोलीमा को को थियो?

हामी ४ जना बक्सरसहित थप तीनजना प्रशिक्षक थिए। मेजर जेएस किङ हाम्रो टिम म्यानेजर थिए।

उनी हाम्रै ब्रिटिस सेनाको सेकेण्ड सिक्सकै हो। अष्ट्रेलियनको फ्लाइवेट च्याम्पियन हाम्रा प्रशिक्षक थिए। यस्तै फिजिकल फिटनेस र दौडाउने प्रशिक्षक बज्रेस म्यासुरे थिए।

अर्को चाहिँ अष्ट्रेलियन प्रोफेसर बक्सर थियो, जसले मुक्का हान्ने टेक्निक हामीलाई सिकाउँथ्यो, गल्ती/कमजोरी औंल्याउँथ्यो। 

त्यो बेलाको तयारी कस्तो थियो?

हामीलाई पहिलोपल्ट नेपालको प्रतिनिधित्व गरेर ओलम्पिकमा खेल्न जान पाउने हुँदा एकदमै गौरव लाग्यो।

त्यसअघि नेपालीले कुनै ठूलो प्रतियोगिता नै खेलेका थिएनन्‌। जीत–हार तयारी भन्दा पनि पहिलोपल्ट खेल्न पाउनु नै हाम्रा लागि हर्षको कुरा भयो। जहाँसम्म तयारीको कुरा छ-हामीले पल्टनमा खेलेको र अभ्यास गरेका थियौँ। त्यही आधारमा राम्रो खेल्ने अभिलाषा लिएर पुगेका थियौँ।

फोटो स्रोत : नेपाल ओलम्पिक संग्रहालय 

ओलम्पिक भिलेज पुग्नुअघि हामीले एक हप्ता ओकिनावा भन्ने स्थानमा प्रशिक्षण गरेका थियौँ। हामीले अमेरिकनहरूसँग अम्यास गरेका थियौँ। अहिले त ओलम्पिक खेल्न जानुभन्दा लामो समय अगाडी देखि नै तयारी हुन्छ, अझ क्लोज क्याम्पमा नै राखिन्छ। हामीले त त्यो बेला अपर्झट खेल्न गएका थियौ। अहिलेजस्तो तयारी गर्नका लागि पूर्वाधार पनि थिएन। 

बक्सिङ खेलप्रतिको लगाव कसरी भयो? 

पल्टनमा पनि हामी ठाउँ ठाउँमा खेल्दै हिड्थ्यौँ। एक्जिभिसन सोहरू हामी हङकङमा गर्थ्यौँ। १४ वर्षको उमेरमा, त्यतिखेर मलाया भन्थे, अहिलेको संजय पठानी भन्ने ठाउँमा भर्ती भएको हो। त्यहाँ बक्सिङ, एथलेटिक्स, फूटबल, हकी लगायत सबै जसो खेलकुद खेल्नुपर्थ्यो।

क्रिकेट खेल भने त्यति चालू थिएन। सन् १९६२ ताका बक्सिङ खेल्न शुरू गरेपछि म लगायत मेरा अन्य पल्टने साथीहरूले बक्सिङका पनि सोहरू गर्दै आयौँ। त्यहीबेला सा'बहरूले खेल्ने प्रतियोगितामा लैजाने गर्नुभएको थियो। 

बक्सिङको अभ्यासका लागि टोकियोमा कस्ता पूर्वाधार पाउनुभयो?

टोकियोमा बक्सिङका लागि सुविधा सम्पन्न अभ्यासस्थल थियो। हामीले हङकङमा ठूलो र सानो स्याण्ड ब्यागमा बक्सिङको प्रशिक्षण गरिरहेका थियौँ।

त्यत्रो संसारभरिका मान्छे आएका स्थानमा आफ्नो मातृभूमिको झण्डा लिएर हिँड्दा धेरै आनन्द आयो। फेरि धेरैको ध्यान नेपालको झण्डामा थियो। संसारका अरू कुनै देशको झण्डा पनि नेपालको जस्तो थिएन।

तर टोकियोको ओलम्पिक स्थलमा रहेको अभ्यास स्थलमा विभिन्न उपकरणहरू थिए। त्यहाँ किसिम किसिमका झुण्डाएका चिज हुदाँ रैछ, त्यसमा हामीले पहिलो पटक अभ्यास गर्‍यौँ।

त्यहीँ हामीले ओलम्पिक खेल्न आएका अरू बक्सरसँग पनि अभ्यास गरेका थियौँ। हिजोआज त हाम्रो देशमा पनि त्यो खालको पूर्वाधारको विकास भइसकेको छ। 

खेल अघिको मार्चपासमा कसरी सहभागी हुनुभएको थियो? 

सहभागी ६ जना खेलाडीमध्ये बक्सिङका खेलाडी नमसिंहले उद्घाटन समारोहको मार्चपासमा नेपाली राष्ट्रिय झण्डा बोकेका थिए। मार्चपासमा नेपाली झण्डा फरफराउँदै हामी पनि सहभागी भएका थियौँ। 

त्यसबेला कस्तो महसुस गर्नुभयो? 

मार्चपासमा नेपाली झण्डासँगै हामी हिँड्न पाउँदा यति गौरव लाग्यो कि त्यसको वर्णन नै गर्न सकिन्न।

त्यत्रो संसारभरिका मान्छे आएका स्थानमा आफ्नो मातृभूमिको झण्डा लिएर हिँड्दा धेरै आनन्द आयो। फेरि धेरैको ध्यान नेपालको झण्डामा थियो। संसारका अरू कुनै देशको झण्डा पनि नेपालको जस्तो थिएन।

मार्चपासमा हामीहरू निस्कँदा ताली बजाएको क्षण अहिले पनि ताजै छ। 

ओलम्पिकमा तपाईंको प्रतिस्पर्धा को सँग थियो?

मैले लाइटवेटमा हंगेरीयन बक्सरसँग खेलेको थिए।

जित्छु नै भन्ने हुन्छ। मेरो पनि त्यही योजना थियो। मलाई डरको अनुभव भन्ने केही थिएन। म गर्छु भन्ने लागेको थियो।

पहिलो राउन्डमा रोक्ने र छल्ने अनि दोस्रो राउन्डमा आक्रमण गर्दै अंक लिएर जित्ने योजना थियो। तर, मलाई केही नभइ रेफ्रीले खेल रोकिदियो र दुर्भाग्य मैले फष्ट राउण्डमै हार्नुपर्‍यो।

​खेलमा मैले जोडदार मुक्का खाएको थिइनँ।

फोटो स्रोत : नेपाल ओलम्पिक संग्रहालय 

हारेपछि मैले सोचेँ कि ओलम्पिकमा खेल्नुअघि इन्टरनेसनल बक्सरसँग पनि अभ्यास गर्नुपर्ने रहेछ। गेम हारेपनि त्यतिबेला खेल्न पाउनु नै मेरा लागि ठूलो कुरा भयो। 

ओलम्पिक खेल्ने शहर कस्तो थियो?

ओलम्पिक खेल्न आएका सबैका लागि आ-आफ्नो घर छुट्याइएको थियो।

खाना चाहिँ एशिया महादेशका लागि एउटा डाइनिङ थियो। युरोप र अमेरिकाका लागि पनि छुट्टै थियो। अपन एउटा इन्टरनेसनल डाइनिङ थियो, त्यहाँ जुनै देशमा पनि गएर खान पाउँथे।

​ओलम्पिक भिलेजमा जापानी संस्कृति झल्कने नाचगान कार्यक्रम पनि राखिएको थियो। 

भुपेन्द्र सिलवाल र गंगाबहादुर थापाको गेम हेर्नुभयो? 

अँ हेरे, टिभीबाट। उहाँहरूले म्याराथनमा भाग लिनुभएको थियो।

करिब १३ माइल दौडँदा उहाँहरू ढल्नुभयो। दौड पूरा गर्न सक्नुभएन। उहाँहरूसँग दौडँदा लगाउने राम्रो जुत्ता पनि थिएन। जुत्ता पनि च्यात्तिएर उहाँहरू खाली खुट्टै दौडिनुभएको थियो।

त्यसक्रममा जापानी महिलाहरूले उनीहरूको खुट्टामा पानी पनि हालिदिएका थिए। 

खेल र खेलाडीलाई हेर्ने दृष्टिकोण र पूर्वाधारमा त्यो टोकियो ओलम्पिकदेखि यो टोकियो ओलम्पिकसम्म के परिवर्तन भएको छ?

अहिले त धेरै परिवर्त आइसकेको छ। पहिला खेललाई नेपाली समाजमा त्यति प्राथमिकता दिइँदैनथ्यो।

अहिले धेरै दिन थालिएको छ। खेलाडीलाई पनि अहिले धेरै सम्मानित दर्जामा राखिन्छ। खेलाडीलाई दिने सेवासुविधामा पनि धेरै परिवर्तन भइसकेको छ। उनीहरूले आफैँ अभ्यास गर्नुपर्ने अवस्थाबाट अहिले विदेशी प्रशिक्षक राखेर प्रशिक्षण हुन थालेको छ।

प्रशिक्षणकै लागि विदेश जाने र क्लोज क्याम्पमा बस्ने अवसर अहिलेका खेलाडीले पाएका छन्। डाइट खुराक पनि अहिलेका खेलाडीले धेरै पाएका छन्।

खेल्ने पूर्वाधारको पनि राम्रो विकास हुँदै गएको छ। 

अहिलेसम्म ओलम्पिकमा पदक ल्याउन सकेको छैन, कहिले आउला त पदक?

हामीले आशा राम्रो गर्नुपर्छ, कुनै न कुनै दिन त पक्कै नेपालले पदक जित्ला नि!

हामीले खेलाडीको स्तर उकास्ने प्रयास थाल्नुपर्छ। धेरैभन्दा धेरै अभ्यास गराएर अन्तरराष्ट्रिय खेलाडीसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ।

छि ब्रुनाई सरकारले सञ्चार योजना विज्ञका रूपमा बोलाएपछि त्यता गएँ। सात वर्ष ब्रुनाईको फौजमा काम गरेँ।

राज्यले पनि त्यसलाई अझ प्राथमिकतामा राख्नुपर्छ। वाइल्डकार्ड मात्र नभएर छनौट भएर पुग्ने वातावरण बनाउन सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्छ। 

जारी टोकियो ओलम्पिकमा म्याराथन धावक गोपीचन्द्र पार्कीले लामो तयारीका बाबजुद पनि ओलम्पिकमा सहभागी हुन पाएनन्, के भन्नुहुन्छ यो विषयमा? 

त्यस्तो नहुनुपर्ने, भैहाल्यो। अहिले धेरै कुरा नगरौँ यो विषयमा।

फेरि ओलम्पिक खेल्ने चाहना भएन?

पहिलो पटक ओलम्पिक खेलेपछि अर्कोपटक पनि खेल्ने चाहना नभएको होइन। अर्को पटक मौका पाएमा राम्रो नतिजा ल्याउने म मा अभिलाषा थियो। तर, सन् १९६६ बाट नै मैले बक्सिङ खेल्न छाडेँ।

सेनाबाट अवकाशपछि के गर्नुभयो? 

सन् १९९० मा बेलायती सेनाको क्याप्टेनबाट अवकाश पाएपछि नेपाल आएर ६ महिना बसेँ।

पछि ब्रुनाई सरकारले सञ्चार योजना विज्ञका रूपमा बोलाएपछि त्यता गएँ। सात वर्ष ब्रुनाईको फौजमा काम गरेँ।

अहिले कसरी दिन बितिरा'छ? 

हाल म मेरी श्रीमती लक्ष्मीको साथमा चितवनको घरमै छु। मेरो खेतीबारी छ। ८ विघा जमिनमा धान, गहुँ, तोरी, मकै उत्पादन हुन्छ।

घरमै रहेको गोठमा गाईहरू छन्। बालीनाली र गाईको स्याहारका लागि काम गर्ने मान्छे राखेको छु। कहिले ललितपुरको घरमा पनि गएर बस्छु।

छोराछोरी सबै विदेशमा छन्। घुँडा दुख्ने समस्याले अचेल दौडेर गर्ने व्यायाम गर्न सक्दिनँ। योगा गर्न थालेको छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.