२० वर्ष यताकै गम्भीर मानवीय संकट

|

दक्षिणी र पश्चिमी अफगानिस्तानका तीन प्रमुख शहरहरूमा तालिबान लडाकु र अफगान सशस्त्र सेनाबीच केही दिनेदेखि युद्ध जारी छ। यी शहरहरू हाल अफगानिस्तान सरकारद्वारा शासित छन्। तालिबान ती शहरलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन्।

तालिबान लडाकुहरू पहिले नै हेरात, लश्कर गाह र कान्दाहार को केही भागहरूमा प्रवेश गरिसकेका छन्। कान्दाहारका एक सांसदले बीबीसीलाई भनेका छन्‌, ‘यो शहर तालिबानको कब्जामा पर्ने खतरामा छ। कान्दाहारका हजारौं मानिसहरूले पहिले नै आफ्नो घर छोडिसकेका छन्।’

उनले मानवीय विपद्‌बारे चिन्ता पनि व्यक्त गरेका छन्। गुल अहमद कामिनले भने, ‘स्थिति घण्टा घण्टामा बिग्रँदै गइरहेको छ। बम र गोलीका आवाजले नागरिक आक्रान्त छन्। शहरमा मानविय संकटको स्थिति ज्यादै २० वर्ष यताकै गम्भीर स्तरमा पुगेको छ।’

एक प्रतिवेदनअनुसार सन् २०२१ जनवरी यतामात्रै अफगानिस्तानमा २ लाख ७० हजार मानिस विस्थापित भइसकेका छन्‌। उनीहरूमध्ये अधिकांश शरणार्थी जीवन बिताउन बाध्य छन्‌।

अमेरिकी र विदेशी सेना फिर्ताको घोषणासँगै तालिबानले अफगानिस्तानमा आफ्नो अधिकार क्षेत्र विस्तार गर्न आक्रामकता देखाएका छन्।

विदेशी सेना फिर्ता घोषणापछि तालिबानले अफगानिस्तानको एक ठूलो हिस्सा, विशेषगरी ग्रामीण क्षेत्रहरू नियन्त्रण लिइसकेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट बाहिरिने घोषणा गरेपछि यस्तो स्थिति निम्तिएको हो।

तर, लगातार बढ्दो तालिबानी गतिविधिका कारण यी शहरहरू मानवीय संकटको उच्च जोखिममा रहने बताइएको छ।

हरेक दिन तालिबानहरूको हिंस्रक गतिविधि नियन्त्रण गर्न सरकारी सुरक्षाफौज कहिलेसम्म उभिनसक्छ भन्ने पाटो महत्वपूर्ण छ। तालिबानले अफगानिस्तानको आधा हिस्सा कब्जा गरिसकेको छ, जसमा इरान र पाकिस्तानसँग जोडिएका सीमा पनि हुन्‌। 

वासिङटनस्थित संगठन फाउन्डेसन अफ डिफेन्स अफ डेमोक्रेसीका अनुसार अमेरिकी सेना फिर्ता हुने घोषणा भएपछि तालिबान नियन्त्रित क्षेत्रहरूको संख्या तीन गुणा बढेको छ। अमेरिकी सरकारको आंकलनमा अफगान सरकारी सुरक्षा फौजले अर्को वर्षसम्म तालिबानसँग घुँडा टेक्नेछ।

शनिबार तालिबान लडाकू लश्करगहस्थित गभर्नरको कार्यालयनजिकै पुगेका थिए। उनीहरू केही सय मिटरमात्र टाढा थिए। अफगान सेनाका कमाण्डरले तालिबान चरमपन्थीहरूलाई धेरै क्षति पुर्‍याएको दाबी गरेका छन्।

तालिबानको पूरा ध्यान अब अफगानिस्तानको शहरहरू कब्जा गर्ने रहेको बताइएको छ। यद्यपी; सम्पूर्ण अफगानिस्तानको स्थिति नाजुक भइसकेको छ। हेलमण्ड प्रान्तको राजधानी लश्कर गाह सबैभन्दा प्रभावित क्षेत्रहरूमध्ये एक हो। यो त्यहीँ ठाउँ हो-जहाँ धेरै अमेरिकी र ब्रिटिश सैनिकहरूले आफ्नो जीवन गुमाएका थिए।

तालिबान लडाकुहरूलाई रोक्न अफगानिस्तान विशेष कमान्डो फोर्स खटाइएको छ।

कट्टरपन्थीहरूले केही घरहरूमा आश्रय लिएका छन्, जसका कारण उनीहरूलाई हटाउन कठिन भएको छ। जसले गर्दा द्वन्द्व लम्बिने र अझ हिंसात्मक बन्ने आंकलन गरिएको छ। नागरिकले ज्यान गुमाउने क्रम जारी छ।

अफगानिस्तानका लागि युरोपेली संघका विशेष दूत तोमास निकलासनले युद्धले त्यहाँको अवस्था अझ भयावह बनाउने बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.