|

म्याग्दी : कोरोना महामारी सुरु भएयता विगत ३ वर्षदेखि म्याग्दीमा प्राङ्गारिक तरकारी खेतीको लहर चलेको छ।

कोरोना संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरु फुर्सदिला बनेका र घरगाउँमा नै सीमित रहनुपर्ने बाध्यता भएकाले यहाँका कृषकहरुको ध्यान प्राङ्गारिक तरकारी खेतीतर्फ खिचिएको हो।

२८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका २ खबराका ५८ वर्षिय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन्।

जिल्लाको नया पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा  प्राङगारिक तरकारी खेती गर्दै आएका कार्कीले यस अघि कहिल्यै पनि आर्गानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन्।

‘म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतवारीको माटोमा बिताएको छु’ कार्कीले भने ‘तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो,त्यसरी यस अघि कहिल्यै पनि भएको थिएन।’

कृषक कार्कीको खेतबारीमा आर्गानिक तरकारी र फलफूल झुलिरहेका छन्। शारिरिक व्यायामका लागि बिहान लभ्लीहिलमा जाने बजारका गृहिणी, युवायुवती वा बटुवाहरुले कार्कीको बारीमा पसेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन्।

तरकारी बेचेर ११ लाख बढी आम्दानी

त्यसैगरी खबराका अर्का कृषक शोभित शर्मा,डाँडाखेतका नारायण पौडेल,बाबियाचौरका धर्मराज सुवेदी लगाएतका जिल्लाका दुई दर्जन बढी कृषकहरुले पछिल्लो समय प्राङ्गारिक तरकारीको विक्रि बढेपछि खेती विस्तार गर्ने सोंच बनाएको बताएका छन्।

विगतमा तरकारी बिक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रवहादुर कार्कीले २०७६ को चैतदेखि २०७८को वैशाखसम्म तरकारी बिक्री गरेर रु ११ लाखभन्दा बढी आम्दानी भएको बताए।

त्यसैगरी डाँडाखेतका नारायण पौडेलले पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताए।

म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सय भन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन्। तरकारी खेतीमा लागेका किसानहरुले पछिल्ला वर्षमा मनग्‍य आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ। बानियाँ भन्छन्, ‘कोरोना कहर शुरु भएयता मानिसहरुले आर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्,जसले गर्दा गाउँका उत्पादनहरुको माग शहर बजारमा बढी हुन थालेपछि किसानहरुलाई फाइदा भएको हो।’

बगरफाँटका कृषक जीतवहादुर कार्की पनि कोरोनापछि अर्गानिक तरकारी खोज्ने बढेको बताउँछन्। विषादीयुत्तः तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अर्गानिक खेतीगर्नु कृषि विज्ञहरुको भनाइ रहेको छ।

म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फर्म संचालन गरेका छन्। जिल्लाको बेनी नगरपालिका ४ सिंगा र आवेवगरमा करिब १० करोडको लगानीमा संचालित हरियाली कृषि फर्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोडको लगानीमा प्रांगारिक कृषि फर्म संचालित छन्। यी कृषिफर्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.