|

अर्घाखाँची : कोरोनाको तेस्रो लहरको सम्‍भावना बढेसँगै यहाँका स्थानीय त्रसित छन्। छिमेकी राष्ट्र भारतमा कोरोनाको तेस्रो लहर आउन थालेपछि नेपालमा पनि तुरुन्तै बढ्न सक्ने भन्दै स्थानिय त्रसित भएका हुन्।

लुम्बिनी प्रदेशसँग जोडिएका भारतीय सीमा नाकाबाट नेपालमा भित्रिनेको लहर बढ्दै जाँदा नेपालमा पनि कोरोनाका बिरामी बढ्न थालेका छन्। पछिल्लो समययता क्रमश: अस्पतालहरुमा कोरोनाका बिरामीहरु बढ्न थालेका छन्।

स्थानयको चिन्ता

लुम्बिनी प्रदेशमा पहिलो कोभिडशिल्ड खोप लगाएर दोस्रो खोपको  पर्खाइमा बसेका नागरिकको संख्या १ लाख ९० हजार छ। पहिलो कोभिडशिल्ड खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नुपर्ने हुन्छ तर, पहिलो खोप लगाएको २० हप्ता बढी भइसक्दा पनि नागरिकले अझै कोभिडशिल्ड दोस्रो खोप लगाउन पाएका छैनन्।

दोस्रो खोपको मात्रा पूरा गर्न नपाएका, र १८ वर्षमाथिका पहिलो खोप पनि लगाउन नपाएका नागरिक र १८ वर्षमुनिका बालबालिकाहरू कोरोनाको तेस्रो लहरबाट उच्च जोखिममा परेको देखिन्छ।

उमेरले झण्डै चार बीस हुन थालेको बताउने शीतगंगा-३ का टामलाल भट्टराईले गत फागुनको अन्तिम सातामा भारतबाट आएको खोप लगाएको पाँच महिना हुँदा पनि अर्को खोप लगाउन नपाएको दुखेसो पोखे। उनले भने, ‘खोप लगाउन नपाउँदा डर लागिरहेको छ। कोरोनाको लक्षण देखिएका बिरामीहरु कोरोना जाँच गर्न नमान्दा यस्ता बिरामी गाउँमा बढेका छन्।’

अर्का ८१ वर्षीय कासीराम पाण्डेको पीडा पनि उस्तै छ। उनले भने, ‘अहिलेसम्म त बाँचियो तर कोरोनाको तेस्रो लहरबाट कसरी बाँच्ने हो भन्ने मनमा चिन्ता बढेको छ।’ 'कोरोनाको बिरामी दिनहुँ बढेकै बढ्यै छन्। तर, सरकारले प्रभावकारी भूमिका खेल्न सकेन' उनले भने, ‘जनताको सरकार हो भने पहिलो काम सबै नेपालीलाई कोरोनाको खोप लगाएर बचाउनुपर्छ।’

लुम्बिनी स्वास्थ्य निर्देशनालयको तयारी

कोरोना माहामारीको तेस्रो लहरको सम्‍भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा आवश्यक तयारी सुरु गरिएको छ। प्रदेशका अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापनका काम भइरहेका छन्।

प्रादेशिक अस्पताल बुटवलले २० बेडको आइसियु सेवा सुरु गरेको छ भने थप ३५ बेडको आइसियु बनाउन काम सुरु भएको छ। अस्पतालले २४ वटा भेन्टिलेटर व्यवस्था गरी बालबालिकालाई समेत मिल्ने गरी पाइप लाइन जडान गरेको छ।

एउटा प्लान्टबाट दैनिक दुई सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने गरी दुई वटा अक्सिजन प्लान्टसमेत स्थापना गरिरहेको छ। सम्‍भावित तेस्रो लहर व्यवस्थापनलाई भन्दै लुम्बिनी प्रदेशका ४ वटा कोरोना विशेष अस्पतालहरूमा आइसियु, एसडियु र भेन्टिलेटरको क्षमता बढाइएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले जानकारी दिए।

त्यस्तै, लुम्बिनीका विशेष ४ वटा कोरोना अस्पतालबाहेकका प्रदेश माताहातका अन्य १३ वटा जनरल अस्पतालहरूमा पनि कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै आइसियु, एसडियु, भेन्टिलेटर र स्वास्थ्यकर्मी थप गरिएको पनि उनले बताए।

‘चारवटा विशेष कोरोना अस्पताल र १३ वटा अन्य जनरल अस्पतालमा गरी झण्डै १५ सय स्वास्थ्यकर्मी परिचालन छन् तर आवश्यक परेको खण्डमा अरु जनशक्ति थप गर्न सकिनेछ’ उनले भने।

लुम्बिनी प्रदेशको भारतीय सीमा क्षेत्रमा जोडिएका जिल्लाका नाकाहरु खुल्ला रहने भएकाले भारतमा कोरोनाको तेस्रो लहर बढेसगै नेपालमा पनि बढ्न सुरु हुने बताए। नाकामा रोकथाम छैन दैनिक हजारौं मानिस आवतजावत गरिरहेका छन्। नाकाक्षेत्रमा सरकारको निगरानी कम छ।

लुम्बिनी प्रदेश सरकारले त्यहाँको जनसक्तिलाई मेडिकल कियरबारे प्रशिक्षण थालेको छ। कोरोना भ्याक्सिन सबैले लगाउन पाएको छैन। जबसम्म सबैले भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म सुरक्षित महसुस गर्न सकिन्‍न।

१३ वटा प्रदेश माताहातका अस्पतालहरुमा कम्तीमा ५ वटा आइसियु बेड र  २५ बेडका एसडियु बन्ने प्रक्रियामा छन्। हरेक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भइरहेका छन्। लुम्बिनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा ४८३ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.